१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
जेनेभास्थित वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भुप्रसाद आचार्य
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o६:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

डब्लुएचओ दक्षिण–पूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:३५:oo

आचार्यको पक्षमा कूटनीतिक प्रयास, बंगलादेश प्रतिस्पर्धी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया निर्देशकका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालले जेनेभास्थित वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भुप्रसाद आचार्यलाई निर्देशकका लागि उम्मेदवारी दिएको छ । आचार्य विश्व स्वास्थ्य संगठनका देशगत रणनीति तथा सहायतासम्बन्धी विभागमा निर्देशकका रूपमा कार्यरत छन् । 

यसका मतदाता मुलुक नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड, पूर्वी टिमोर, म्यानमार र उत्तर कोरिया हुन् । परराष्ट्र मन्त्रालयले ७ साउनमा संयुक्त राष्ट्रसंघ मुख्यालयलाई आचार्यको उम्मेदवारीबारे जानकारी दिएको छ । आचार्यको प्रतिस्पर्धीमा बंगलादेशबाट साइमा बाजेद होसैनको उम्मेदवारी परेको छ । साइमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । 

दक्षिण–पूर्वी एसिया निर्देशक निर्वाचित पद हो । २०२३ को अन्तिममा यो पदका लागि निर्वाचन हुन लागेको छ । क्षेत्रीय निर्देशकको कार्यकाल पाँच वर्षको हुनेछ । दक्षिण–पूर्वी एसियाको स्वास्थ्य प्राथमिकता निर्धारण, बजेट तथा रणनीतिक मामिलामा निर्देशकको निर्णायक भूमिका हुन्छ । 

नेपाल सरकारले सम्बन्धित मतदाता मुलुकलाई आचार्यको पक्षमा सहयोग गर्न र मत दिन कूटनीतिक च्यानलबाट चिठी पठाएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मतदाता मुलुकका सबै समकक्षीलाई चिठी लेखेर नेपालका उम्मेदवारलाई सहयोग र समर्थन गर्न आग्रह गरिसकेका छन् । परराष्ट्र मन्त्रालयले पनि सम्बन्धित मतदाता मुलुकलाई चिठी लेखेर नेपालका उम्मेदवारका पक्षमा मत दिन आग्रह गरेको छ । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगले आचार्यको पक्षमा माहोल बनाउन समन्वय गरिरहेको परराष्ट्रले जनाएको छ ।

परराष्ट्रले भारत र भुटानसँग समन्वय गर्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको छ । इन्डोनेसियासँग समन्वयका लागि बंगलादेशको ढाकामा रहेको नेपाली राजदूतावास, नेपालका लागि उत्तर कोरियाको राजदूतावासलाई समन्वय भएको परराष्ट्रले जनाएको छ । म्यानमारले नेपाललाई सहयोग गर्ने वचन दिइसकेको छ । श्रीलंकास्थित नेपाली राजदूतावास, बैंककस्थित नेपाली राजदूतावास तथा जेनेभास्थित राष्ट्रसंघीय मिसनले पूर्वी टिमोरसँग समन्वय गरिरहेको छ । 

आचार्यले भनेका छन्, ‘मैले जितेँ भने देशको सेवाका लागि र यो क्षेत्रको जनताको स्वास्थ्य सुधारका लागि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नेछु ।’ विश्वको एकचौथाइ जनसंख्याको बसोवास रहेको दक्षिण–पूर्वी एसियाका जनताको स्वास्थ्य सुधार आफ्नो मुख्य प्राथमिकतामा रहने उनको भनाइ थियो ।

‘एकजना अनुभवी अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिज्ञका रूपमा मेरो प्रयास यो क्षेत्रका सबै नागरिकलाई स्वास्थ्यसम्म पहुँच स्थापित गर्नुपर्छ भन्नेमा छ र हुनेछ,’ आचार्यले भने, ‘सांगठनिक नेता र जनस्वास्थ्य विज्ञका रूपमा मैले तीन दशकको अनुभव हासिल गरेको छु । मैले ग्रामीण नेपालका विभिन्न समुदाय र जिल्लामा आर्जन गरेको तथा राष्ट्रिय, क्षेत्रीय वैश्विक रूपमा हासिल गरेको अनुभव यो क्षेत्रका लागि समर्पित गर्नेछु ।’ 

ad
ad