१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एउटै कसुरमा अदालतबाट फरक–फरक आदेश : शर्मालाई तारेखमा, अन्यलाई थुनामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:o५:oo

एउटै कसुरमा अदालतले व्यक्तिअनुसार फरक–फरक आदेश दिएको छ । एमबिबिएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ परेका चिकित्सकलाई प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा सांसदसमेत रहेका सुनील शर्मालाई तारेखमा राख्न र अन्यलाई थुनामा राख्न आदेश दिएको छ । 

भागी जाने र प्रमाण नष्ट गर्ने सम्भावना नभएको भन्दै अदालतले शर्मालाई तारेखमा राखेर अनुसन्धान गर्न भनेको हो । तर, उनीसँगै पक्राउ परेका अन्य चिकित्सक अमित चौधरी, मनित चौधरी, एरिना साह, रञ्जितकुमार यादव र श्रद्धा सिल्पकारलाई भने थुनामै राख्न अनुमति दिएको छ । सबैमाथि समान कसुर रहे पनि कसैलाई थुनामा राख्ने तथा कसैलाई तारेखमा राख्न अदालतले दिएको आदेशले प्रहरी अधिकारी अन्योलमा परेका छन् ।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले दिएको आदेशमा शर्मा प्रतिनिधिसभा सदस्य रहेको र अनुसन्धानका लागि हिरासतमै राख्नुपर्ने अवस्था नदेखिएको उल्लेख छ । लिखित आदेशमा भनिएको छ, ‘... यी सुनीलकुमार शर्मा संसद्को प्रतिनिधिसभामा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रतिनिधिसभाको निर्वाचित सदस्य रहेको भन्ने मिसिल संलग्न संसद् सचिवालयको जानकारीबाट देखिएको र निजले पेस गरेका आइएस्सीको शैक्षिक प्रमाणपत्र भारत बिहारको राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको नदेखिएको र अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डबाट मिति २०७९/४/५ मा पत्राचार भइसकेको सन्दर्भमा प्रतिवादी सुनीलकुमार शर्मा भागी जाने सम्भावना पनि नरहेको र निजले प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानता रहेको समेत नदेखिँदा म्याद थपका लागि उपस्थित गराइएका प्रतिवादी सुनीलकुमार शर्मालाई मुद्दा अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नुपर्ने अवस्थाको विद्यमान मिसिल संलग्न कागजबाट नदेखिँदा यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा १ बमोजिम तोरखमा राखी मुद्दा अनुसन्धान गर्नू ।’ 

अदालतको आदेशअनुसार शर्मा शुक्रबार साँझ नै छुटेका छन् । छुटेलगत्तै उनले आफूलाई फसाएको भन्दै सरकारको आलोचना गरेका छन् । शर्माले बिहारको फारबेसगन्जस्थित बिडिबिकेएस कलेजमा अध्ययन गरेको भनेर शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । तर, बिहारको राष्ट्रिय परीक्षा बोर्ड, पटनाले उनको प्रमाणपत्र नक्कली भनेर प्रमाणित गरिसकेको छ । 

सिआइबीले नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध पुरानो फाइल खोलेर फेरि अनुसन्धान थालेको हो । हालसम्म आठजना पक्राउ परिसकेका छन् । यो प्रकरणमा शुक्रबार मात्र प्रहरीले भक्तपुरकी डा. पुनम थापा, श्रद्धा सिल्पकार र मनित चौधरीलाई पक्राउ गरेको छ । थापासहित रौटहटमा पक्राउ परेका रामबाबु यादवलाई भने अदालतमा उपस्थित गराउन नभ्याइएको सिआइबीका एसपी नवराज अधिकारीले बताए ।

सरकारले प्रतिशोध साँधेको कांग्रेस सांसदहरूको आरोप
कांग्रेस सांसदहरूले नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेमा सांसद सुनील शर्माको पक्राउलाई लिएर आपत्ति जनाएका छन् । शुक्रबार बानेश्वरमा बसेको  संसदीय दलको बैठकमा सांसदहरूले राजनीतिक प्रतिशोध साँधेर शर्मालाई पक्राउ गरिएको भन्दै बचाउ गरेका हुन् । प्रमुख सचेतक रमेश लेखकले बैठकमा सांसदहरूले पक्राउलाई लिएर आपत्ति जनाएको जानकारी दिए । उनले यसबारे आइतबार बस्ने बैठकले आधिकारिक धारणा बनाउने जानकारी दिए । ‘बैठकमा उहाँको पक्राउ अनुचित छ भन्दै साथीहरूले आफ्ना धारणा राख्नुभएको छ । यी धारणालाई बैठकले र नेताहरूले गम्भीरतापूर्वक लिनुभएको छ । पक्राउ आपत्तिजनक, अप्रत्याशित र गम्भीर छ भनेर साथीहरूले  विषय उठाउनुभएको छ । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ र विषयवस्तुलाई हामी गहिराइमा बुझ्छौँ । थप छलफल हुन्छ । आइतबारको बैठकमा पनि यो विषय प्रस्तुत हुन्छ । बैठकपछि कांग्रेसको धारणा सार्वजनिक गर्नेछौँ,’ लेखकले भने ।

ad
ad