१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o७:५o:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतसँगको ऊर्जा व्यापार नौ अर्ब घाटामा

१९.४४ अर्बको बिजुली आयात हुँदा १०.४५ अर्बको निर्यात

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:५o:oo

गत आर्थिक वर्ष ०७९/८० मा नेपाल विद्युत् प्राधिकरणले भारतसँगको विद्युत् व्यापारमा नौ अर्ब रुपैयाँबराबरको घाटा व्यहोरेको छ । भारतसँगको विद्युत् व्यापारमा घाटा व्यहोरिरहेको प्राधिकरणले गत आवदेखि भने नाफामा जाने अनुमान गरिएको थियो । तर, गत आवमा प्राधिकरणले भारतबाट १९ अर्ब ४४ करोडबराबरको विद्युत् आयात गर्दा १० अर्ब ४५ करोडको मात्रै निर्यात गरेको छ ।  

प्राधिकरणले स्वदेशी माग धान्न सन् १९७१ देखि नै भारतबाट विद्युत् आयात गर्दै आएको थियो । बर्खामा उत्पादन बढी भएका वेलामा इनर्जी बैंकिङ (पैँचो)का रूपमा भारतको बिहार राज्यलाई बिक्री गर्दै आएको थियो । पछि हिउँदमा निर्यात भएबराबरको विद्युत् आयात गरिन्थ्यो र बढी भएमा शुल्क भुक्तानी गरिन्थ्यो । प्राधिकरणले कात्तिक ०७८ देखि भने भारतको इनर्जी एक्सचेन्ज मार्केटमा व्यापारिक रूपमा नै विद्युत् बिक्री गर्दै आएको छ । हिउँदमा पनि त्यही मार्केटबाट बिजुली किन्ने गरिन्छ ।

तथ्यांकअनुसार गत आवमा रकमका आधारमा विद्युत् आयात बढेको छ । अघिल्लो आव ०७८/७९ मा प्राधिकरणले १५ अर्ब ४६ करोड ६० लाख रुपैयाँको विद्युत् आयात गरेको थियो । त्यसअनुसार गत आवमा झन्डै चार अर्बभन्दा बढीको विद्युत् आयात भएको देखिन्छ । प्राधिकरणका अनुसार आव ०७८/७९ मा तीन अर्ब ८८ करोड ४० लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो ।

विद्युत्लाई नेपालको वैदेशिक व्यापार घटाउने बलियो आधार मानिएको छ । तर, विद्युत्को मात्रै व्यापारमा पनि नेपालले ठूलो घाटा व्यहोरेको प्राधिकरणको तथ्यांकले देखाएको छ । गत आवमा सुक्खायाम बढ्दा विद्युत् आयात बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

नेपालमा विद्युत्को जडित क्षमता  हालसम्म २८ सय २२ मेगावाट पुगेको छ । तर, स्वदेशी माग भने दुई हजार मेगावाट हाराहारी मात्रै छ । नेपालमा अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर)मा आधारित छन् । त्यो अवस्थामा बर्खामा खोलामा पानी बढी हुँदा उत्पादन पनि पूर्ण हुन्छ । यही समयमा भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँदमा खोलामा पानी कम हुँदा उत्पादन स्वदेशी मागभन्दा पनि कम हुन्छ । त्यसवेला स्वदेशी माग धान्न भारतबाटै विद्युत् आयात गर्नुपर्छ । तर, गत आवमा सुक्खायाम अस्वाभाविक रूपमा लम्बिँदा हिउँदमा विद्युत् उत्पादन पनि ह्वात्तै घट्यो । 

गत आवको हिउँदामा मनसुन कम त भयो नै । त्यसमाथि हिउँ पनि कम पर्‍यो । पानी र हिउँ दुवै नपर्दा खोलामा पानी बहाब एकदमै कम भयो । विद्युत्को जडित क्षमता बढे पनि अघिल्ला आवहरूमा भन्दा पनि विद्युत् उत्पादन कम भयो । त्यो अवस्थामा महँगोमा भारतीय विद्युत् बढी नै आयात गर्न बाध्यता भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

सामान्यतया नेपालले पुसबाट वैशाखसम्म विद्युत् आयात गर्नुपर्छ । गर्मीका कारण वैशाख र जेठमा हिउँ पग्लेर खोलामा पानी बढ्दा विद्युत् उत्पादन पनि बढ्छ । त्यसवेला स्वदेशी माग धान्ने गरी नै विद्युत् उत्पादन हुन्छ । मनसुन सुरु भएपछि जेठको अन्तिम साता वा असारदेखि भने निर्यात गर्ने बिजुली नै उत्पादन हुन्छ । तर, यसपालि असारसम्मकै विद्युत् आयात गर्नुपरेको थियो । अहिले भने प्राधिकरणले भारतमा दैनिक तीन सय मेगावाटसम्म विद्युत् निर्यात गर्दै आएको छ । 

 प्राधिकरणको नाफा पनि घट्यो 
समीक्षा वर्षमा प्राधिकरणको नाफासमेत घटेको छ । गत आवमा प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आव ०७८/७९ को तुलनामा कम हो । प्राधिकरणले अघिल्लो आवमा १३ अर्ब ३७ अर्ब रुपैयाँ खुद नाफा (करपछिको) कमाएको थियो । तर, गत आवमा करअघिको नाफा नै त्योभन्दा कम अर्थात् १२ अर्ब ३३ करोडमा सीमित भएको छ । आव ०७७/७८ मा प्राधिकरणको खुद नाफा भने ६ अर्ब १० करोड रुपैयाँ रहेको थियो । त्यसको तुलनामा आव ०७८/७९ मा प्राधिकरणको नाफा दोब्बर बढेको थियो । गत आवमा विद्युत् आयातमा खर्च बढ्दा नाफा प्रभावित भएको कार्यकारी निर्देशक घिसिङले बताए । साथै, प्राधिकरणले गत आवमा विभिन्न क्षेत्रमा लगानी पनि बढाएको छ, त्यसको असरले पनि नाफा प्रभावित भएको हुन सक्ने प्राधिकरणको भनाइ छ । 

 ११८ अर्ब आम्दानी, खर्च १०४ अर्ब
प्राधिकरणले गत आवमा विद्युत् बिक्रीलगायतका माध्यमबाट कुल एक खर्ब १८ अर्ब आम्दानी गरेको छ । त्यसमा विद्युत् निर्यात गरेर १० अर्ब ४५ करोड आम्दानी भएको छ । स्वदेशमा विद्युत् बिक्री तथा अन्य माध्यमबाट एक खर्ब सात अर्ब ५५ करोड रुपैयाँ आम्दानी भएको घिसिङले बताए । 

आव ०७८/७९ मा प्राधिकरणले एक खर्ब एक अर्ब रुपैयाँ आम्दानी गरेको थियो । त्यसको तुलनामा प्राधिकरणको आम्दानी बढेको छ । गत आवमा प्राधिकरणको खर्च भने ह्वात्तै बढेको छ । अघिल्लो आवमा ८५ अर्ब १२ करोड रहेको प्राधिकरणको खर्च गत आवमा एक खर्ब चार अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यसरी खर्च बढ्दा पनि नाफा प्रभावित भएको प्राधिकरणको भनाइ छ । 

 घट्यो विद्युत् चुहावट 
समीक्षा वर्षमा प्राधिकरणले विद्युत् चुहावट भने नियन्त्रण गर्न सकेको देखिन्छ । तथ्यांकअनुसार गत आवमा प्राधिकरणले विद्युत् चुहावट १३.४६ प्रतिशतमा ल्याउन सफल भएको हो । आव ०७८/७९ मा विद्युत् चुहावट १५.३८ प्रतिशत थियो । अहिले भने त्यो घटेको हो । समीक्षा वर्षमा वितरणतर्फको विद्युत् चुहावट ९.७६ प्रतिशतमा झरेको छ । 

 बढ्यो प्रतिव्यक्ति विद्युत् खपत
समीक्षा वर्षमा प्रतिव्यक्ति विद्युत् खपत ३० प्रतिशत युनिटले बढेको देखिन्छ । ०७९ असार मसान्तसम्म प्रतिव्यक्ति विद्युत् खपत तीन सय ५० युनिट थियो । अहिले त्यो बढेर तीन सय ८० युनिट पुगेको प्राधिकरणको भनाइ छ । दुई वर्षअघि प्रतिव्यक्ति विद्युत् खपत दुई सय ३५ युनिट थियो । हालसम्म प्रतिव्यक्ति विद्युत् खपत ह्वात्तै बढेको घिसिङले बताए । 

 कुलमान भन्छन्– अब प्राधिकरणको आइपिओ ल्याउँछौँ 
कार्यकारी निर्देशक कुलमान घिसिङ पछिल्लो समय प्राधिकरणले व्यावसायिक रूपमा राम्रो उपलब्धि भएको बताउँछन् । ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती हो । त्यसबाहेक उत्पादित विद्युत्को बजार व्यवस्थापन दोस्रो चुनौतीका रूपमा रहेको छ,’ उनले भने, ‘त्यसबाहेक विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु तेस्रो चुनौती छ । चुनौतीको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई पर्याप्‍त, नियमित, भरपर्दाे र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयास गरी र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने गरी काम गर्नेछु ।’ उनले सर्वसाधारणका लागि प्राधिकरणको आइपिओ जारी गर्नेसमेत तयारी भइरहेको बताए । 

 

ad
ad