१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विश्व बैंकका निर्देशक जर्भोस र वनमन्त्री महतोबीच भेटवार्ता

नेपालको प्राथमिकताका विकास कार्यमा सघाउने प्रतिबद्धता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५३:oo

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीचसँग भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको विकास, वन तथा वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा द्विपक्षीय सहयोग र सहकार्यका विषयमा छलफल भएको मन्त्री महतोको सचिवालयले जानकारी दिएको छ। विश्व बैंकले हाल नेपालको वन तथा वातावरण क्षेत्रमा समृद्धिका लागि वन परियोजना, उत्सर्जन न्यूनीकरण कार्यक्रम र हरित सडकसम्बन्धी परियोजना (एसिसिइएसएस) सञ्चालन गरिरहेको छ।

वन क्षेत्रको एक मात्र रूपान्तरणकारी आयोजनाका रूपमा रहेको समृद्धिका लागि वन परियोजना मधेस र लुम्बिनी प्रदेशका २५–२५ पालिकामा सञ्चालनमा छ। त्यसैगरी, तराई भूपरिधि क्षेत्रका १३ जिल्लामा कार्यान्वयन भइरहेको उत्सर्जन न्यूनीकरण कर्यक्रम नेपालको वनको कार्बन व्यापारसँग सम्बन्धित छ।

भेटमा विश्व बैंकको सहयोगमा सञ्चालित परियोजनाबारे चर्चा गर्दै कार्यान्वयनमा थप तीव्रता दिने विषयमा कुराकानी भएको थियो। त्यसैगरी दिगो वन व्यवस्थापन, वातावरणीय मापदण्डको सुधार तथा कार्यान्वयन र रणनीतिक वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकनका विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

नेपालले विश्व बैंकलगायतका विकास साझेदारसँग समन्वय र सहकार्यमा ग्रिन, रेसिलिन्ट, इन्क्लुसिभ डेभलपमेन्ट (जिआरआइडी)को बाटो तय गरेको छ। नेपालको जिआरआइडीको रणनीतिक योजना तयार भइरहेको र नेपालको आवश्यकता र प्राथमिकताप्राप्त विषयहरूमा रणनीतिक योजनामा रहने साथै वन तथा वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई विश्व बैंकले सहयोग र सहकार्य गर्न इच्छुक भएको विश्व बैंकका निर्देशक जर्भोसले जानकारी दिए।

जलवायु परिवर्तनको समस्या, नकारात्मक असर तथा प्रभावहरू खासगरी पानीको उपलब्धता र सुरक्षासम्बन्धी विषयका अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, नेपाललाई अनुकूल प्रविधि र वन क्षेत्रलाई आर्थिक सुधार र राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने विषयमा मन्त्री महतोले विश्व बैंकका नेपालस्थित उच्च पदाधिकारीहरूको टिमसँग छलफल गरेका थिए।

सो क्रममा विश्व बैंकका पदाधिकारीले भने नेपालको इको–टुरिजम विकास र प्रवर्द्धन तथा नेपालको प्राथमिकताका विकास कार्यमा विश्व बैंक समूहको साथ र सहयोग जारी रहने विश्वास दिलाएका थिए।

ad
ad