अमेरिकी चिपनिर्माताले सेमीकन्डक्टर व्यापारको विश्वव्यापी आयको एकतिहाइ हिस्सा ओगट्छन् । तिनले विश्वको सबैभन्दा परिष्कृत माइक्रोप्रोसेसरहरू डिजाइन गर्छन्, जुन स्मार्टफोन, डाटा सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल्सका अपरिहार्य घटक हुन् । तर, न अमेरिकी फर्म, न त तिनका एसियाली म्यानुफ्याक्चररले नै यस्ता उन्नत चिप्स अमेरिकामा उत्पादन गर्छन् । आधुनिक अर्थव्यवस्था (एआई र युद्धमा पनि) मा चिप्स सर्वाेपरि हुने भएकाले यो अवस्थाले वासिंटनका नीति–निर्मातालाई चिन्तित तुल्यायो । जवाफमा उनीहरूले चिप्स एक्ट ल्याएका छन् । उन्नत चिप म्यानुफ्याक्चरिङलाई पुनः अमेरिका फर्काउन ५० अर्ब डलरको अनुदान प्याकेजसहित, कर छुट र अन्य लालच समाविष्ट यो कानुन राष्ट्रपति जो बाइडनले सन् २०२२ को ९ अगस्टमा प्रमाणीकरण गरेका थिए ।
सतही रूपमा कानुनले प्रभाव पारेकै देखिन्छ । यस्तो कानुन ल्याउने कुरा चलेपछि सन् २०२० यता चिप निर्माताले घोषणा गरेको अमेरिकामा लगानीको आँकडाले दुई खर्ब अमेरिकी डलर नाघिसकेको छ । यदि सबै कुरा योजनामुताबिक चल्यो भने सन् २०२५ सम्ममा अमेरिकी चिप कारखानाले विश्वको १८ प्रतिशत उन्नत चिप्स उत्पादन गर्न थाल्नेछन् ।
विशाल ताइवानी चिप उत्पादक टिएसएमसीले अमेरिकाको एरिजोनामा दुइटा फ्याब (चिप बनाउने कारखाना) निर्माणका लागि ४० अर्ब अमेरिकी डलर खर्च गरिरहेको छ । दक्षिण कोरियाको सामसुङले पनि टेक्सासमा १७ अर्ब डलर लगानी गर्ने भएको छ । अमेरिकाको अग्रणी चिपमेकिङ कम्पनी इन्टेलले एरिजोना र ओहायोमा चारवटा फ्याबमा ४० अर्ब डलर खर्च गर्ने भएको छ । चिप्स एक्ट आएको एक वर्ष पुग्दै गर्दा र अमेरिकी सरकारले कानुनमा वाचा गरेअनुसारको पैसा खर्चिने तयारी गरिरहँदा कुनै पनि मुद्दामा पछिल्लो समय बिरलै एकमत देखिने डेमोक्र्याट र रिपब्लिकन दुवैले यो एक्टलाई विजयको रूपमा लिएका छन् ।
तर, अहिले नै विजय भइसकेको ठान्नु अपरिपक्व हुन सक्छ । अमेरिकामा निर्माण भइरहेका उन्नत फ्याबहरू बनाउन ढिला, चलाउन महँगा र (आकार र क्षमतामा) एसियाका भन्दा साना छन् । चिपनिर्माताहरूको अमेरिकी लगानी क्षणिकै भए पनि चिप्सको माग कम भएको समयमा आएको छ, जसले मामलालाई थप जटिल बनाएको देखिन्छ । यसले उद्योगको दीर्घकालीन नाफामा असर पार्न सक्छ ।
विज्ञ समूह (थिंक ट्यांक) सेन्टर फर सेक्युरिटी एन्ड इमर्जिङ टेक्नोलोजीका अनुसार चीन र ताइवानमा कम्पनीहरूले करिब ६५० दिनमा एउटा नयाँ प्लान्ट स्थापना गर्छन् । अमेरिकामा, म्यानुफ्याक्चररहरूले संघीय, राज्य र स्थानीय सरकारी नियमको झन्झटिला नियमन पूरा गर्नुपर्ने हुँदा औसत निर्माण अवधि नै नौसय दिन पुग्छ । सामान्यत नयाँ फ्याबको निर्माणमा पुँजीगत खर्चको लगभग आधा हिस्सा खपत हुन्छ, तर एसियामा भन्दा अमेरिकामा निर्माण (कन्स्ट्रक्सन) लागत ४० प्रतिशत बढी हुन सक्छ ।
चिप–निर्माताहरूले अमेरिकामा सन् ०२० पछि मात्र दुई खर्ब अमेरिकी डलरभन्दा धेरैको लगानी घोषणा गरेका छन् । यदि सबै कुरा योजनामुताबिक चल्यो भने सन् ०२५ सम्ममा अमेरिकी चिप कारखानाले विश्वको १८ प्रतिशत उन्नत चिप्स उत्पादन गर्न थाल्नेछन् ।
यद्यपि लागतको केही हिस्सा चिप्स एक्टको सहुलियतबाट व्यहोर्न सकिन्छ । तर, अझै पनि वार्षिक सञ्चालन खर्च ज्युँकात्युँ रहन्छ, जुन अमेरिकी कामदारको उच्च ज्यालालगायतका कारण एसियाको तुलनामा अमेरिकामा ३० प्रतिशत बढी हुन आउँछ । समस्या कामदारको पनि छ । गत जुलाईमा टिएसएमसीले एरिजोनाको आफ्नो पहिलो फ्याब उद्घाटनको समय एक वर्ष धकेलेर सन् २०२५ लाई लक्षित गरेको थियो । कारण उसले सेमीकन्डक्टर उद्योगको अनुभव भएका पर्याप्त कामदार फेला पार्न सकेन ।
निर्माणाधीन वा निर्माणको योजनामा रहेका अमेरिकी परियोजनाको सानो आकारले पनि यसको अर्थशास्त्रलाई थप कमजोर बनाएको छ । एउटा फ्याबले जति धेरै चिप्स बनाउँछ, उति नै प्रतिएकाइ लागत कम पर्न आउँछ । टिएसएमसीको एरिजोनाको फ्याबले महिनामा ५० हजार वाफर्स (सेमीकन्डक्टर कुद्ने जर्मिनियम वा सिलिकनबाट बनेको पातलो चक्का) उत्पादन गर्नेछ, जुन दुई ‘मेगा–फ्याब’बराबर हो । तर, ताइवानमा भने टिएसएमसीले चार ‘गिगा–फ्याबहरू’ सञ्चालन गर्छ । ती प्रत्येकले महिनामा कम्तीमा एक लाख वाफर्स उत्पादन गर्छन् (अनगिन्ती मेगा–फ्याबका साथ) । टिएसएमसीका संस्थापक मोरिस चाङले लागतका कारण अमेरिकामा निर्मित चिप्स महँगो हुने चेतावनी दिएका छन् ।
टिएसएमसीका वर्तमान प्रमुख कार्यकारी सिसी वेईले कम्पनीले यी उच्च लागत थेग्न सक्ने संकेत गरेका छन् । उनले यसो गर्न सक्छन्, किनभने अमेरिकामा होइन टिएसएमसीले आफ्नो चिप्सको ठूलो हिस्सा ताइवानमा अझ सस्तोमा बनाउने क्रम जारी राख्नेछ । सामसङको हकमा पनि यही हो, उसले आफ्नो पुँजीगत बजेटको करिब ९० प्रतिशत कोरियामा नै खर्चिनेछ । इन्टेलले पनि अमेरिकीभन्दा विदेशी फ्याबहरूमा बढी लगानी गरिरहेको छ । फलस्वरूप, योजनामा गरेका सबै लगानी साकार हुँदा अमेरिकाले एकतिहाइ घरेलु माग धान्ने उन्नत चिप्स उत्पादन गर्नेछ । एप्पलले आफ्ना आइफोनका लागि उन्नत प्रोसेसरहरू ताइवानबाट मगाउने क्रमलाई जारी नै राख्ने छ । यी सबै सम्भावनाका मध्यनजर नवजात अमेरिकी एआई उद्योगले औद्योगिक रूप लिन सक्ने आशासम्म गर्न सकिन्छ ।
यो कानुनको परिणाम अनपेक्षित पनि हुन सक्छ । सरकारी सहयोग स्वीकार गर्ने चिप कम्पनीलाई चीनमा उत्पादन क्षमता विस्तार गर्न प्रतिबन्ध लगाइएको छ । टिएसएमसी र सामसुङजस्ता प्रशस्त चिनियाँ ग्राहक भएका कम्पनी अमेरिकी फ्याबहरूमा अधिक लगानी गर्ने दुरुत्साहित हुन सक्छन् । यस्ता नियमले चिनियाँ चिपमेकरहरूलाई मध्यमस्तरका सेमीकन्डक्टर उत्पादनमा लगानी गर्न उत्प्रेरित गरिरहेको छ । थुप्रै पुराना पुस्ताका चिप्समा उन्नत चिप्सले गर्न सक्ने केही काम गर्ने क्षमता रहेको मानिन्छ ।
सेमीकन्डक्टर उद्योगबारे अनुसन्धान गर्ने समूह सेमीका अनुसार सन् २०१९ मा चीनले वासिङ मेसिनदेखि कार र विमानसमेतमा प्रयोग हुने (ट्रेलिङ–एज) चिप्सको २० प्रतिशत हिस्सा उत्पादन गरेको थियो । उसले सन् २०२५ सम्ममा यस्ता एकतिहाइभन्दा बढी चिप उत्पादन गर्नेछ ।
गत जुलाईमा ट्रेलिङ–एज चिप्सको डच निर्माता एनएक्सपी सेमीकन्डक्टरले चिनियाँ फर्महरूबाट अत्यधिक आपूर्तिले चिपको मूल्यमा गिरावटको दबाब दिइरहेको चेतावनी दिएको थियो । दीर्घकालमा यसले उच्च लागतका पश्चिमी उत्पादकलाई खतरामा पार्न र केहीलाई व्यवसायबाटै बाहिर धकेल्न पनि सक्छ । गत जुलाईमा अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले ‘ट्रेलिङ–एज चिप्समाथि चीनको ध्यान अमेरिकाका लागि एउटा सोचनीय समस्या भएको’ बताएकी थिइन् ।
सेमीकन्डक्टर उद्योगको उछाल र मन्दीको चक्रमा यस चिप्स एक्टको प्रभावको भविष्यवाणी गर्न सबैभन्दा गाह्रो भएको छ । सामान्यतः चिप निर्माताले माग बढेको समयमा आफ्नो क्षमता बढाउँछन् । अहिले यसको ठिक उल्टो भइरहेको छ । महामारीको समयको चिप अभाव पूरा भइसकेको छ, अब उपभोक्ताको सबैभन्दा ठूलो भोक डिजिटल देखिन्छ, त्यो पनि तृप्त भएको छनक मिलेको छ ।
टिएसएमसीको दोस्रो त्रैमासिक बिक्री १० प्रतिशतले घटेको छ । उसले यो सन् २०२३ को सम्पूर्ण अवधिमा यस्तै गिरावटको अपेक्षा गरेको छ । इन्टेलको आम्दानी एक वर्षअघिको तुलनामा जुनसम्मको दोस्रो त्रैमासमा १५ प्रतिशतले घटेको छ । सामसुङले आफ्नो आम्दानी र नाफा घट्नुमा चिप्सको अधिक आपूर्तिलाई नै जिम्मेवार ठहर्याएको छ । यिनै कारणका बीच इन्टेलको सेयर मूल्य सन् २०२१ को सुरुको तुलनामा अहिले आधाले घटेको छ ।
चिपकम्पनीका कार्यकारी भने यो उद्योगको सम्भावना आकर्षक रहेको बताउँछन् । माग कुनै बिन्दुमा पुनरुत्थान हुने उनीहरूको अपेक्षा सही हुन सक्छ । तथापि अधिक आपूर्तिको समायोजनले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको छ । आपूर्ति र मागको समायोजन मिल्दासम्म यो व्यवसायको आकर्षण कम हुन सक्छ । सन् २०२१ को सुरुयता इन्टेल, सामसङ र टिएसएमसीले आफ्नो संयुक्त बजार मूल्यको एकतिहाइ अर्थात् झन्डै पाँच खर्ब डलर गुमाइसकेका छन् । चिप्स एक्टले अमेरिकी आर्थिक सुरक्षामा पारेको प्रभावको उचित मूल्यांकनका लागि अझै केही वर्षगाँठ कुर्नुपर्ने हुन सक्छ । लगानीकर्ताले आफ्नो मनस्थिति बनाइसकेका छन् ।
– द इकोनोमिस्टबाट