१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० श्रावण २४ बुधबार ०६:१७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मोरोक्कोको क्वार्टरफाइनल पुग्ने सपना अधुरो

पहिलो अफ्रिकन राष्ट्रका रूपमा क्वार्टरफाइनल पुग्ने लक्ष्य बनाएको मोरोक्को फ्रान्ससँग एकपक्षीय प्रिक्वार्टरफाइनलमा ४–० ले पराजित

Read Time : > 1 मिनेट
२०८० श्रावण २४ बुधबार ०६:१७:००

दक्षिण अफ्रिकी टोली मोरोक्कोको फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेल्ने सपना अधुरो बनेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको विश्वकपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलोपटक प्रिक्वार्टरफाइनल स्थान बनाएको मोरोक्को मंगलबार फ्रान्सँग ४–० को एकपक्षीय रूपमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । मोरोक्को पहिलो अफ्रिकन महिला टोलीका रूपमा क्वार्टरफाइनल खेल्ने इतिहास बनाउने तयारीमा थियो । मोरोक्कोलाई नकआउट चरणबाट घर फर्काउनमा फ्रान्सकी इजेनिए ले सोमेरले दुई गोल गरेकी थिइन् । फ्रान्सले अब आगामी शनिबार सेमिफाइनल प्रवेशका लागि आयोजक अस्ट्रेलियाको सामना गर्नेछ । 

मोरोक्कोले पहिलो अरब राष्ट्रका रूपमा अन्तिम १६ मा स्थान बनाएको हो । समूह ‘एच’मा यस टोलीले सनसनी नतिजा निकालेको थियो । समूहको पहिलो खेलमा दुईपटकको विजेता जर्मनीबाट मोरोक्को ६–० ले पराजित भएको थियो । यस नतिजासँगै अफ्रिकन राष्ट्र सहजै पहिलो चरणबाटै बाहिरिने आकलन गरिएको थियो । तर, त्यसपछिका दुई खेलमा मोरोक्कोले सनसनी प्रदर्शन गर्‍यो । चालू विश्वकपमा मोरोक्कोको बलियो पक्ष नै दरिलो रक्षात्मक रणनीति थियो । 

तर, फ्रान्ससँगको प्रतिस्पर्धामा उनीहरूले यसलाई निरन्तरता दिन सकेनन् । फितलो रक्षापंक्ति र खेलाडीबीचको आपसी तालमेल मिलाउन नसक्दा फ्रान्सविरुद्धको खेलको पहिलो हाफमै ३–० ले पछि पर्‍यो । खेलको २५ मिनेटभित्र फ्रान्सले तीन गोल गरेको हो । प्रतिस्पर्धामा मोरोक्कोले एकपटक मात्र गोल गर्ने अवसर निकालेको थियो । 

फ्रान्सलाई मौका
फिफाको ६७औँ स्थानमा रहेको मोरोक्कोविरुद्ध फ्रान्सले आक्रामक रणनीति अपनाएको थियो । प्रशिक्षक हेर्भे रेनार्डको प्रशिक्षणमा रहेको फ्रान्सले ७५ प्रतिशत बल पोसेसन बनाएको थियो । एकपक्षीय प्रिक्वार्टरफाइनलमा फ्रान्सले १५ पटक सट प्रहार गरेको थियो । रक्षात्मक रणनीति बनाएको मोरोक्कोले केवल एकपटक मात्र फ्रान्सको पोस्टमा चार्ज गरेको थियो । फ्रान्सले पाँचपटक डिबक्सबाट गोलका लागि प्रयास गर्‍यो । महिला विश्वकपमा फ्रान्सको उत्कृष्ट नतिजा नै सन् २०११ मा चौथो स्थान प्राप्त गरेको हो । फ्रान्स लगातार चार संस्करणको क्वार्टरफाइनलमा पुगेको छ । विश्वकपमा शीर्ष १० वरीयताप्राप्त राष्ट्रहरू बाहिरिँदा फ्रान्सलाई अगाडि बढ्ने मौका छ । साबिक दुईपटकको विजेता अमेरिका, पूर्वविजेता जर्मनी, ब्राजिल तथा क्यानडा समूह चरणबाटै बाहिरिसकेका छन् । 

नौ मिनेटको अन्तरमा तीन गोल
फ्रान्सले पहिलो हाफमा केवल नौ मिनेटको अन्तरमा तीन गोल गरेपछि मोरोक्कोबाट खेल फुत्किएको हो । खेलको १५औँ मिनेटमा काडिया डिएनीले फ्रान्सलाई १–० को अग्रता दिलाइन् । उनले सकिनाको पासमा गोल गरेकी थिइन् । पहिलो गोल बेहोरेको अफ्रिकन टोली सम्हालिन नपाउँदै २०औँ मिनेटमा केन्जा डालीले फ्रान्सलाई २–० को अग्रता दिलाइन् । उनले डिएनीको पासमा गोल गरेकी हुन् । त्यसपछि खेलको २३औँ मिनेटमा सोमेरले डिएनीकै पासमा फ्रान्सलाई पहिलो हाफअगाडि नै ३–० को अग्रता दिलाइन् । खेलको ७०औँ मिनेटमा सोमेरले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्स ४–० ले अघि रह्यो । मोरोक्कोले मध्यान्तरपछि काउन्टर एट्याकमा फ्रान्समाथि दबाब राख्ने प्रयास गरेको थियो ।

कोलम्बिया अन्तिम आठमा
कोलम्बिया फिफा महिला विश्वकप २०२३ को अन्तिम आठमा प्रवेश गरेको छ । मेलबर्नमा मंगलबार भएको खेलमा जमैकामाथि १–० को कठिन जित निकाली कोलम्बिया क्वार्टरफाइनलमा पुगेको हो । कप्तान क्याटालिनाले खेलको ५१औँ मिनेटमा एक मात्र निर्णायक गोल गरेकी थिइन् । उनले रुजमनको पासमा गोल गरेकी हुन् । जमैकाले प्रतियोगितामा पहिलोपटक गोल बेहोरेको हो । यसै गोलका कारण जमैका प्रतियोगिताबाट बाहिरियो । समूह ‘एफ’मा जमैकाले चार अंक बटुल्दा एक गोल पनि खाएको थिएन । यसक्रममा जमैकाले फ्रान्स र ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो । पानामालाई १–० ले हराएर जमैकाले अन्तिम १६ मा स्थान बनाएको थियो ।