१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वातावरण समूहबाटै सहसचिवसम्म पुग्ने बाटो खुल्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४५:oo

वातावरण विज्ञान, वातावरण व्यवस्थापन र वातावरण इन्जिनियरिङ अध्ययन गरेकाले वातावरण समूहअन्तर्गत नै रहेर निजामती सेवामा सहसचिवसम्म बन्ने बाटो खुलेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार वन सेवाअन्तर्गत वातावरण समूह सिर्जना गरेर वातावरण निरीक्षक अलावा सहायक वातावरण निरीक्षक (नायब सुब्बासरह), वरिष्ठ वातावरण निरीक्षक (उपसचिवसरह) र उपमहानिर्देशक/महाशाखा प्रमुख/केन्द्र प्रमुख (सहसचिवसरह)सम्मको पद सिर्जना गरेको हो । 

‘पहिले वातावरण निरीक्षकको छुट्टै पहिचान थिएन, विविधअन्तर्गत हुनुहुन्थ्यो, अब वन सेवाअन्तर्गत वातावरण समूह नै सिर्जना गरेपछि उहाँहरूलाई वातावरण समूहबाटै उपल्लो पदमा पुग्ने बाटो खुलेको छ,’ वनसचिव डा. रेवतीरमण पौडेलले भने ।

सरकारले वन सेवामा यसअघि कायम जनरल फरेस्ट्री, स्वायल एन्ड वाटर कन्जभेसन, नेसनल पार्कस् एन्ड वाइल्ड लाइफ, बोटनी, फरेस्ट रिसर्च, हात्तीसार समूहमा वातावरण थप गरेको हो । सरकारले नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियम ०८० अन्तर्गत हाल नेपाल विविध सेवा, राजपत्रांकित तृतीय श्रेणीको वातावरण निरीक्षक पदमा नियुक्ति पाई बहाल कर्मचारी वातावरण समूहको सम्बन्धित पदमा समुहीकृत भएको भनेको छ । 

नौ वर्षअघि वातावरण निरीक्षक बनेकाहरूलाई बढुवा हुन सहज
वातावरण संरक्षण ऐन, ०५३ मा वातावरण निरीक्षकको व्यवस्था रहे पनि सरकारले नौ वर्षअघि ०७१ मा मात्र वातावरण निरीक्षकको पदपूर्ति सुरु गरेको थियो । त्यो पनि ०६१ मा सर्वाेच्च अदालतले ऐन कार्यान्वयन गर्न आदेश दिएको १० वर्षपछि । तर, ०७१ मा ६ जना वातावरण निरीक्षक बनेका थिए । समूह नछुट्टिँदा त्यसभन्दा माथिल्लो पदमा बढुवा वा वातावरण क्षेत्रमै माथिल्लो पदमा पदपूर्तिको व्यवस्था थिएन । जसकारण नौ वर्षअघि वातावरण निरीक्षक बनेकाहरूको बढुवा हुन सकेको थिएन भने माथिल्लो पदमा प्रतिस्पर्धा गर्नका लागि पनि सेवा समूह परिवर्तन गर्नुपर्ने बाध्यता थियो । विविध सेवामै पद थियो, वरिष्ठ वातावरण अधिकृत पद रहे पनि नियुक्ति वा बढुवा गरिएको थिएन । 

हाल संघमा वातावरण निरीक्षकको दरबन्दी २८ रहे पनि २३–२४ जना मात्र कार्यरत छन् । जसमध्ये १६ जना वातावरण विभागमा छन् । त्यसबाहेक सातै प्रदेशमा एक–एक दरबन्दी रहे पनि लुम्बिनीबाहेकमा पदपूर्ति छैन । त्यस्तै, महानगर र उपमहानगरमा एक–एक वातावरण निरीक्षकको पद रहे पनि धेरैजसो रिक्त छ । 

ad
ad