१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्र भुटानको पारोसँग खेल्दै

एएफसी कपको प्रारम्भिक चरण छनोटमा ‘ए’ डिभिजन लिगको उपविजेता मच्छिन्द्र भुटानको लिग च्याम्पियन पारोविरुद्ध प्रतिस्पर्धा गर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:५६:oo

सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबले मंगलबार भुटान प्रिमियर लिग च्याम्पियन पारो एफसीविरुद्ध दशरथ रंगशालामा एएफसी कपको प्रारम्भिक छनोटमा प्रतिस्पर्धा गर्दै छ । गत सिजनको ‘ए’ डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज हो । एएफसीको ‘ए’ लाइसेन्स चर्च ब्वाइजले छनोट चरण खेल्न अवसर नपाएको हो । उपविजेता मच्छिन्द्रसँग लाइसेन्स रहेका कारण भाग्यमानी क्लबका रूपमा दोस्रोपटक प्रारम्भिक छनोट खेल्न अवसर पायो । गत वर्ष पनि मच्छिन्द्रले प्रतियोगिता खेलेको थियो । दोस्रोपटक मौका पाएको मच्छिन्द्रले दोस्रो चरण खेल्ने योजना बनाएको छ । 

पहिलो चरण पार गर्ने क्लबले भारतको बलियो मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलअगाडि आयोजना भएको पत्रकार सम्मेलनमा दुवै क्लबका कप्तान र प्रशिक्षकले जितको दाबी गरेका छन् । उनीहरूले एक–आपसमा कमजोर रूपमा नलिने जनाएका छन् । मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले आवश्यकताअनुसार खेलाडी अनुबन्ध गरेकाले क्लबको तयारी राम्रो भएको बताएका छन् । 

‘हामीले आवश्यकताअनुसार छनोट खेलकै लागि आठ खेलाडी अनुबन्ध गर्‍यौँ, दुई साताको प्रशिक्षणमा राम्रो भएको छ,’ खेलाडीको क्षमता र प्रशिक्षणबारे उनले भने, ‘हाम्रो लक्ष्य नै जित निकाल्ने हो ।’ उनकै प्रशिक्षणमा मच्छिन्द्र लिगमा दोस्रो भएको थियो । मच्छिन्द्रका कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठले पछिल्लो कमजोरी नियाल्दै प्रशिक्षण भएको बताए । ‘केही खेलाडी अनुबन्ध गरेपछि हाम्रो तयारी राम्रो भएको छ, दोस्रो चरणमा पुग्ने लक्ष्य छ,’ उनले भने । 

मोहन बगान, मच्छिन्द्र र पारोबीचको विजेताले प्लेअफमा स्थान बनाउनेछ । प्लेअफ विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग २२ अगस्टमा खेल्नेछ । त्यसको विजेता साउथ जोनबाट एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ ।

नयाँ खेलाडीबाट आशा 
मच्छिन्द्रले ‘ए’ डिभिजन लिग खेलेकासँगै थप आठ खेलाडीलाई समावेश गरेको छ । लिग च्याम्पियन बनाएको चर्च ब्वाइजबाट खेलेका आशिष चौधरी र एरिक विष्टलाई मच्छिन्द्रले अनुबन्ध गरेको छ । यसैगरी, खुमलटार एफसीबाट खेलेका कप्तान रेजिन सुब्बा, रोहित सुब्बा र विदेशी खेलाडी मेसुके ओलोमोउ अनुबन्ध गरेको छ । संकटाका आयुष घलान, थ्री स्टारका लाकेन लिम्बू र एपिएफका सनिस श्रेष्ठले पनि प्रारम्भिक छनोट चरणमा मच्छिन्द्रबाट खेल्नेछन् । आशिष, आयुष, एरिक, लाकेन र सनिस राष्ट्रिय टोलीका सदस्य हुन् । प्रशिक्षक केसीले अनुबन्धित खेलाडीबाट छनोट चरणमा आशा गरेको बताए । 

‘हामीले उनीहरूबाट धेरै आशा गरेका छौँ,’ उनले भने, ‘प्रशिक्षणमा सबैले राम्रो गरेका छन् ।’ लिग खेलेका खेलाडीमा कप्तान विशालसँगै अभिषेक गुरुङ, आफिज ओलावाले ओलादिपो, आन्द्रेस निया, विजय भुजेल, विमल घर्तीमगर, देभेन्द्र तामाङ, दिवाकर चौधरी, करिम नुरैन, सौरभ लिम्बू, छिरिङ गुरुङ, उत्सव राई, प्रदीप भण्डारी र सुरज विक टोलीमा छन् । यता, लिग खेलेका पुजन उपरकोटी, प्रशान्त अवस्थी, रन्जित धिमाल, सुजल श्रेष्ठ, निसेन सुब्बा, आशिष श्रेष्ठ, सागर थापा र नवीन सिलवाल तथा विदेशी खेलाडी युता सुजुकी र चेन्चो ग्लेत्सेनले टोलीमा स्थान बनाउन सकेनन् । 

पारोले कडा चुनौती दिने 
पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले लिगका तीन खेल खेलेको र राम्रो तयारी भएको बताएका छन् । ‘हामीले लिगका तीन खेल खेलेर आएका छौँ, हामी पूर्ण तयारीका साथ आएका छौँ,’ शर्माले भने । मच्छिन्द्र राम्रो टोली रहेको र सम्मान गर्दै खेल्ने उनको भनाइ छ । ‘हामीलाई थाहा छ, मच्छिन्द्र राम्रो टोली हो । विपक्षीको सम्मान गर्दै दोस्रो चरणको लक्ष्य राखेका छौँ,’ उनले भने । पारोका कप्तान किनले वाङचुकले नेपालको वातावरणमा खेलाडीलाई याद भएको र राम्रो प्रदर्शन गर्ने बताएका छन् । ‘यहाँको वातावरण र मैदानको बारेमा खेलाडीलाई राम्रो ज्ञान छ, यसको फाइदा लिन सक्छौँ,’ किनलेले भने, ‘अहिले मच्छिन्द्रसँगको खेलमा केन्द्रित छौँ, त्यसपछि मात्रै अर्काे चरणको बारेमा सोच्छौँ ।’