
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग अर्थात् सिस्नेखोला–नागढुंगा सुरुङमार्गको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’ (छेडिएको) छ । दुई हजार पाँच सय ५७ मिटर लामो आपत्कालीन उद्धार सुरुङ सोमबार छेडिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चापागाईं, नेपालका लागि जापानिज राजदूत किकुता युताकालगायतको उपस्थितिमा रेस्क्यु टनेलको ब्रेक थ्रु गरिएको हो । सोमबार नेपाली र जापानिज संस्कृतिअनुसार सुरुङमार्गमा पूजासमेत गरिएको छ । मन्त्री ज्वाला, राज्यमन्त्री चापागार्ईंलगायतले नरिवल फुटाएर पूजा गरेका थिए भने जापानिज राजदूत युताकाले जापानिज रक्सी छर्केर पूजा गरेका थिए । जापानिज पक्षका अन्य अधिकारीहरूले भने फूल, नुनलगायतका वस्तु छरेर पूजा गरेका थिए ।
ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले नेपाल अब सुरुङमार्गको युगमा प्रवेश गरेको बताए । ‘हाम्रै पालामा नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ, यो गौरवको विषय हो । अब छिट्टै मेन टनेल पनि ब्रेक थ्रु गर्नेछाैँ,’ उनले भने, ‘साथै, आयोजनाको समग्र निर्माण कार्य छिटोभन्दा छिटो सक्न सरकार सहयोग गर्न तयार छ । आयोजना निर्माण कार्यमा हाम्रो अनुगमन जारी रहने पनि छ । समग्रमा छिटोभन्दा छिटो यो सुरुङमार्गमा सवारीसाधन गुडाउने गरी हामी अघि बढ्नेछौँ ।’
कार्यक्रममा जापानिज राजदूत किकुता युताकाले सुरुङमार्ग गुणस्तरीय बनेको बताए । साथै, उक्त क्षण आफ्नो जीवनमा निकै अविस्मरणीय रहेको उनले बताए । ‘जापानमा हिजो (आइतबार) परमाणु बम दिवस थियो । दुई दिनपछि (बुधबार) जापानमा नागासिकी परमाणु बम दिवस छ,’ उनले भने, ‘त्यसको बीचमा आज (सोमबार) नेपालमा सुरुङमार्ग विस्फोट गरिएको छ । यो निकै अविस्मरणीय छ ।’
ठेक्का प्राप्त जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले डिसेम्बर २०२० (पुस, २०७७) देखि टनेल खन्न सुरु गरेको थियो । त्यसको साढे दुई वर्षपछि रेस्क्यु टनेल ब्रेक थु्र भएको हो । यस आयोजनाअन्तर्गत दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु र दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग निर्माण भइरहेका छन् । मुख्य टनेलको ब्रेक थ्रु भने ढिलोमा पनि डिसेम्बरभित्र गर्ने लक्ष्य लिइएको छ । अब मुख्य टनेल पाँच सय दुई मिटर मात्रै खन्न बाँकी छ । अहिले मासिक औसत एक सय २० मिटर सुरुङ खनिएको छ, त्योअनुसार नोभेम्भर–डिसेम्बरमा मुख्य टनेल पनि ब्रेक थ्रु हुने आयोजनाका परामर्शदाता रमेश कोइरालाले बताए ।
मुख्य टनेलको व्यास ९.५ मिटर रहेको छ, जहाँ दुई लेन सडक हुनेछन् । मुख्य टनेलको उचाइ भने ८.३ मिटरको हुनेछ । तर, सहायक टनेलको व्यास भने ४.५ मिटर र सिंगल लेन सडक हुनेछ । मुख्य टनेलमा हुने कुनै पनि प्रकारको दुर्घटनामा उद्धार गर्ने प्रयोजनका लागि रेस्क्यु टनेल बनाइएको हो ।
जसमा एम्बुलेन्स, दमकल, उद्धारटोलीका सवारीसाधन मात्रै गुड्न पाउनेछन् । मुख्य टनेलमा दुर्घटना भएको अवस्थामा मात्रै रेक्स्यु टनेल खोलिनेछ, अन्य समयमा भने बन्द नै हुनेछ । मुख्य टनेल र रेस्क्यु टेनेलबीच आवतजावत गर्न बीचमा सातवटा क्रस प्यासेज बनाइनेछ, जुन निर्माणाधीन अवस्थामा छन् । रेक्स्यु प्रयोजनका लागि मुख्य टनेलको केही भागमा १३.५ मिटर चौडाइको सडकसमेत बनाइनेछ ।
कहिले सकिन्छ सम्पूर्ण काम ?
आयोजनाको सम्पूर्ण निर्माण कार्य भने अबको डेढ वर्षपछि अर्थात् जनवरी ०२५ (पुस ०८१) भित्र सम्पन्न हुने अनुमान छ । सम्झौताअनुसार अप्रिल ०२३ सम्म रहेको ठेक्काको म्याद दुईपटक थप गरेर २५ अप्रिल ०२४ सम्म पुर्याइएको छ । तर, आयोजनाको पछिल्लो प्रगतिअनुसार त्यो म्याद पनि निर्माण सम्पन्न नहुने देखिएको हो ।
नियमित रूपमा काम गर्दा पनि जनवरी ०२५ यता सुरुङमार्ग तयार गर्न नसकिने आयोजना निर्माणमा खटिएका अधिकारीहरू बताउँछन् । ठेक्का सम्झौतासार कम्पनीले आयोजना सञ्चालन गर्ने अवस्थामा पुर्याएर नेपाललाई हस्तान्तरण गर्नुपर्छ । त्यसका लागि आवश्यक प्रक्रिया पुर्याउँदा अझै डेढ वर्ष समय लाग्ने उनीहरू बताउँछन् ।
यस आयोजनामा सुरुङ ब्रेक थ्र्रु भएर मात्रै हुँदैन । त्यहाँभित्रको सडक ढलान गर्नुपर्नेछ । त्यसका अलावा सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, रेस्क्यु सेन्टर बनाउने, लाइट जडान गर्ने, तापक्रम मिलाउनेलगायतका काम गर्न बाँकी नै छ । त्यसका लागि थप ६ महिनाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।
सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि सुरुङलाई सञ्चालन योग्य (स्टेबल) बनाउन थप न्यूनतम ६ महिना समय लाग्छ । यसका अलावा आयोजनाअन्तर्गतको फ्लाई ओभर बनाउने काम पनि बाँकी छ, त्यो सुरुङमार्ग अगाडि नै बनाउन सकिन्छ । तर, मुआब्जाका कारण स्थानीयले अवरोध गर्दा त्यसमा अन्योलता छ । त्योअनुसार जनवरी ०२५ (पुस ०८१) मा मात्रै सुरुङमार्ग तयार हुनेछ, जुन ठेक्का सम्झौताको पहिलो म्यादभन्दा एक वर्ष १० महिना बढी हो ।
सुरुङमार्ग बनाउन सडक विभाग र जापनिज कम्पनी हाजमा एन्डो कर्पाेरेसनबीच सेप्टेम्बर ०१९ मा ठेक्का सम्झौता भएको थियो । २०१९ अक्टोबर २१ मा यस आयोजनाको शिलान्यास गरिएको थियो । त्यसपछि नोभेम्बर ०२० देखि आयोजनाको निर्माण कार्य सुरु भएको थियो ।
आयोजनामा स्वदेशी तथा जापनिज गरेर झन्डै ६ सय कामदार छन् । टनेल बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गर्नेछ । नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुनेछ । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ ।
११ संरचना तयार
नागढुंगा टनेलअन्तर्गत बन्ने ११ वटा संरचना निर्माण सम्पन्न भएका छन् । यस आयोजनामा १२ वटा संरचना बन्नेछन्, त्यसमा हालसम्म ११ वटा तयार भएका हुन् । तीन अन्डरपास र चार बक्स कल्भर्ट (माथि गाडी गुड्ने, तल पानी बग्ने संरचना)को निर्माण सकिएको छ । यसैगरी एउटा ओभरपास, तीनवटा पुलको निर्माण सम्पन्न भइसकेको छ ।
आयोजनाअन्तर्गत बन्ने १२ संरचनामध्ये फ्लाई ओभर भने निर्माणको चरणमा रहेको छ । हाल फ्लाई ओभरलाई चाहिने ९५ प्रतिशत जग्गाको मुआब्जा वितरण भइसकेको छ । फ्लाई ओभरअन्तर्गत बन्ने तीनवटा फाउन्डेसन र दुईवटा सहायक संरचना तयार भइसकेका छन् । हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ५६.८९ प्रतिशत र वित्तीय प्रगति ५९.३९ प्रतिशत पुगेको छ ।
सुरुङमार्गको युगमा प्रवेश गर्यौँ
प्रकाश ज्वाला, मन्त्री, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय
नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ, यो गौरवको विषय हो । अब छिट्टै मेन टनेल पनि ब्रेक थ्रु गर्नेछौँ । आयोजनाको समग्र निर्माण कार्य छिटोभन्दा छिटो सक्न सरकार सहयोग गर्न तयार छ । आयोजना निर्माण कार्यमा हाम्रो अनुगमन जारी रहने पनि छ । समग्रमा छिटोभन्दा छिटो यो सुरुङमार्गमा सवारीसाधन गुडाउने गरी हामी अघि बढ्नेछौँ ।