१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साबिक विजेता अमेरिका बाहिरियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:१५:oo

साबिक विजेता अमेरिका पहिलोपटक फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएको छ । अस्ट्रेलियाको मेलबर्न पार्कमा भएको नाटकीय प्रिक्वार्टरफाइनलमा विश्वकपको सर्वाधिक विजेता अमेरिका स्विडेनसँग सडनडेथमा ५–४ ले स्तब्ध हुँदै बाहिरिएको हो । प्रतिस्पर्धामा एक सय २० मिनेटसम्म स्विडेनमाथि दबाब राखेको अमेरिका टाइब्रेकर र सडनडेथमा स्विडिस गोलरक्षक जेसिरा मोसोभिकअगाडि निरीह हुन पुग्यो । स्विडेनलाई क्वार्टरफाइनल स्थान पक्का गराउन जेसिराले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । 

टाइब्रेकरमा अमेरिकाका तीन खेलाडी चुकेका थिए, जसमा अमेरिकन फुटबलकै आइकोनिक खेलाडी मेगन रापिनोईले समेत गोल गर्न सकिनन् । उनको यो अन्तिम विश्वकप सहभागिता हो । अब स्विडेनले सेमिफाइनल प्रवेशका लागि पूर्वच्याम्पियन जापानको सामना गर्नेछ । सडनडेथमा अमेरिकन गोलरक्षक आल्यसा नाहेरले स्विडिस खेलाडी लिना हर्टिगको प्रहार रोकेकी थिइन् । आल्यसाले लिनाको प्रहार रोके पनि बल गोललाइन क्रस भएकाले भिएआरले गोलको मान्यता दिएको थियो ।

त्यसपछि अमेरिकामाथिको नाटकीय जित निकाल्दै स्विडेनका खेलाडीले खुसी मनाए । अमेरिकाका टिम म्यानेजर एन्डोनोभिस्कीले भिएआरको निर्णय चित्तबुझ्दो नभएको बताएका छन् । ‘अहिलेको यो अवस्था कठिन रह्यो, हाम्रो नजरमा बलले गोललाइन पार गरेकोजस्तो लागेन,’ उनले भने, ‘तर, प्रावधिमा बल क्रस भएको भनियो ।’ उनले खेल सधैँ निर्दयी हुने जनाए । ‘वास्तवमा खेलको नतिजा सधैँ एक पक्षका लागि निर्दयी हुन्छ, आज विश्वकपमा हाम्रो हकमा यस्तै भयो, मेरो आँखाअगाडि अझै पनि बल लाइनभित्र रहेको देख्छु,’ उनले भने, ‘खेलको नतिजालाई सहज स्वीकार गर्नुबाहेक अरू विकल्प छैन ।’

स्विडेनसँग सडनडेथमा ५–४ ले स्तब्ध भएको साबिक दुईपटकको विजेता अमेरिका पहिलोपटक फिफा महिला विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको हो

रोमाञ्चक पेनाल्टी सुटआउट
निर्धारित तथा अतिरिक्त समयमा स्विडेन र अमेरिकाले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि नतिजा निकाल्न खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरको सुरुका पाँच प्रहारमा दुवै टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो । दुवै टोलीले छैटौँ‌ प्रहारमा गोल गरे । स्विडेनबाट सातौँ‌ प्रहार गोल भयो । अमेरिकाकी मिडफिल्डर केल्ली ओहारा गोल गर्न चुकिन् । अमेरिकाले टाइब्रेकरको चौथो र पाँचौँ‌ प्रहारमा गोल गर्न सकेन । स्विडेनबाट तेस्रो र चौथो प्रहारमा गोल भएन । यसअघि अमेरिकाले अन्तर्राष्ट्रिय फुटबलमा स्विडेनमाथि दबदबा राखेको छ । अमेरिकाले समग्रमा स्विडेनलाई २३ पटक हराएको छ । स्विडेनले अमेरिकालाई आठपटक मात्र हराएको छ । यी दुई टोलीबीच १२ खेल बराबरी भएका छन् ।

नेदरल्यान्ड्स अन्तिम आठमा
नेदरल्यान्ड्स फिफा महिला विश्वकप २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै नेदरल्यान्ड्सले अन्तिम आठमा स्थान पक्का गरेको हो । नेदरल्यान्ड्सलाई अन्तिम आठमा पु¥याउन जिल रोर्ड र लिनेथ विस्टेनले एक–एक गोल गरेका थिए । खेलको नवौँ मिनेटमा रोर्डले नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाइन् । पहिलो हाफमा नेदरल्यान्ड्सले एक गोलको अग्रता मात्र लियो । खेलको ६८ मिनेटमा लिनेथले नेदरल्यान्ड्सलाई २–० को स्थितिमा राखिन् । 

अमेरिकाको रणनीति असफल
यसअघि अमेरिकाले ४–३–३ को रणनीति अपनाएको थियो । तर, स्विडेनसँगको प्रिक्वार्टरफाइनलमा अमेरिकाले ४–२–३–१ को नीति अपनाएको थियो । यस रणनीतिअनुसार दुई मिडफिल्डर होल्डमा रहने थियो । अघिल्ला दुई खेलमा आक्रामक नीति अपनाएको अमेरिका नकआउट चरणमा रक्षात्मक देखियो । म्यानेजर एन्डोनोस्कीले स्विडेनको आक्रमण रोक्न नै डिफेन्समा चारजना खेलाडी राखे । पहिलो हाफमा अमेरिकाले स्विडेनमाथि नियन्त्रण राखेको थियो । रंगशालामा स्विडेनको तुलनामा अमेरिकाकै धेरै समर्थक थिए । 

समग्रमा स्विडेनकी गोलरक्षक जेसिराले अमेरिकाको ११ पटक गोल प्रयास बचाएकी थिइन् । हारसँगै सन् २०१५ र २०१९ पछि लगातार विश्वकप उपाधिमाथि ह्याट्रिक लगाउने अमेरिकाको योजना पूरा हुन सकेन । विश्वकप इतिहासमा अमेरिकाको यो नै सबैभन्दा खराब प्रदर्शन रह्यो । यसअघिका संस्करणमा अमेरिका कम्तीमा सेमिफाइनलमा पुगेको थियो । स्विडेनले समूह ‘जी’मा शतप्रतिशत नतिजा निकालेको थियो । 

ad
ad