Skip This
भिभिआइपी र भिआइपीले अब स्वदेशमै उपचार गर्नुपर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o श्रावण २२ सोमबार o६:५२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भिभिआइपी र भिआइपीले अब स्वदेशमै उपचार गर्नुपर्ने

सरकारले तोक्यो देशका चर्चित १७ विशेषज्ञ चिकित्सकसहितको उपचार टोली, स्वदेशमा सम्भव नभएको निष्कर्षसहित टोलीले सिफारिस गरेपछि मात्रै विदेशमा उपचार

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार o६:५२:oo

देशका अति विशिष्ट (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)ले अब स्वदेशमै उपचार गर्नुपर्ने भएको छ । उपचारका नाममा विदेशका अस्पताल धाउँदा बर्सेनि राज्यको करोडौँ रकम बाहिरिने अवस्था अन्त्य गर्न सरकारले स्वदेशमै  उपचार गर्नुपर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णयबाट भिभिआइपी र भिआइपीको उपचारका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा आ–आफ्नो विधाका चर्चित विशेषज्ञ चिकित्सक रहेको १७ सदस्यीय उपचार समिति गठन गरेको छ । जसमा प्रा.डा. भगवान कोइराला, प्रा.डा. रामकण्ठ माकाजू, प्रा.डा. मानबहादुर केसी, प्रा.डा. किरणप्रसाद श्रेष्ठ, प्रा.डा. रविमान श्रेष्ठ, प्रा.डा. शैली प्रधान, प्रा.डा. रत्नमणि गजुरेल, प्रा.डा. सुवास आचार्य,  प्रा.डा. शशि शर्मा, प्रा.डा. रमेश चोखानी, सह प्रा.डा. ध्रुव गैरे, डा. सन्दुक रुइत, डा. भोला रिजाल, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा. अनन्त अधिकारी छन् । 

समितिले पहिलो चरणमा भिभिआइपी र भिआइपी उपचारकक्ष रहेको वीर अस्पतालमा उपचार सेवा सुरु गर्नेछ । क्रमशः अन्य अस्पतालमा पनि भिभिआइपी र भिआइपी उपचारकक्ष बनाउने सरकारको योजना छ । विज्ञ चिकित्सकको टोलीले पहिले नेपालमै उपचार गर्ने र सम्भव नभए मात्र विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयलाई विदेशमा उपचारका लागि सिफारिस गर्नेछ । तर, ती व्यक्तिले आफ्नो इच्छामा देशलाई आर्थिक भार पार्ने गरी भने उपचारका लागि विदेश जान पाउने छैनन् । 

‘अब कोही भिभिआइपी र भिआइपी पनि बिरामी हुनेबित्तिकै उपचारका लागि विदेश जान पाउनुहुन्न,’ समितिका संयोजक तथा न्याम्सका उपकुलपति बस्नेतले भने, ‘आज मन्त्रीज्यूले १७ विज्ञ चिकित्सकलाई राखेर यस्तो निर्णय गर्नुभएको छ, हामीले नै उपचारको व्यवस्था मिलाउँछौँ । बिरामीको रोगअनुसार विशेषज्ञ डाक्टरले चेकजाँच गर्नेछन् । नेपालमा उपचार नहुने अवस्था देखिए मात्रै बाहिर रेफर गर्न सक्छन्, अन्यथा विदेशमा उपचारका लागि जान अनुमति दिइनेछैन ।’ 
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ४ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै भिभिआइपी र भिआइपीको उपचार नेपालमै गर्ने व्यवस्था मिलाउने निर्णय गरेका थिए । उनले आइतबार विज्ञ चिकित्सकको टोली गठन गरेर निर्णय कार्यान्वयनमा लगेका हुन् । 

मन्त्री बस्नेतले उच्चपदस्थहरूको स्वदेशमै उपचार गर्नुपर्ने नियमले स्वास्थ्य क्षेत्र थप सुधार हुने बताए । ‘जनताले अझै पनि सिटामोल नपाउने अवस्था छ, तर त्यही जनताले चुनेको नेता उपचारका लागि विदेशतिर जाने प्रचलन हामीकहाँ हाबी छ, यसलाई रोक्छु, बरु यहाँ उपचारका लागि चाहिने सबै संरचना व्यवस्थित र सुविधाजनक पार्छु,’ उनले भने, ‘यसले नेपालमा डाक्टरलाई पनि हौसला दिन्छ, उनीहरूले आफ्नो क्षमता प्रदर्शन गर्न पाउँछन् ।’ 

भिभिआइपी र भिआइपीको उपचार हुने अस्पतालमा पनि सम्बन्धित निकायसँग छलफल गरिसकेको र सहज उपचार सेवाको प्रबन्ध मिलाइने मन्त्री बस्नेतले बताए । ‘यहाँ क्षमतावान् डाक्टर छन्, पहिले–पहिले विदेशका डाक्टर पनि सिक्न यहाँ आउँथे, तर अहिले हामीले नेपालको स्वास्थ्य प्रणाली कमजोर बनायौँ, अब यसलाई सुधार गर्ने हो, उपचारमा कसैलाई विभेद हुँदैन,’ उनले भने, ‘भिभिआइपी पनि उपचार गर्न जाने भएपछि सरकारी अस्पताल थप व्यवस्थित हुन्छ ।’ 
विशेषज्ञ चिकित्सक समितिले भिभिआइपी र भिआइपीको उपचारसम्बन्धी कार्यविधिसमेत तयार पार्नेछ । यो टोलीले उच्चपदस्थहरूलाई रोगको अवस्थाअनुसार वीर अस्पतालबाट अन्य सरकारी स्वास्थ्य संस्थामा रेफर पनि गर्न सक्नेछ । स्वदेशमा गरेको उपचार खर्च राज्यले नै व्यहोर्नेछ ।

वीरका निर्देशक डा. सन्तोष पौडेलले भिभिआइपीको उपचारका लागि अस्पताल तयारी अवस्थामा रहेको जानकारी दिए । विगतदेखि नै भिभिआइपी र भिआइपी उपचारकक्ष भए पनि उपचार गर्न नआएकोमा अब भने आउने विश्वास व्यक्त गरे । ‘वीरमा विगतदेखि नै भिभिआइपी र भिआइपी उपचारकक्ष छन् । हामी उपचारमा कुनै कुराको कमी हुन दिँदैनौँ,’ उनले भने, ‘तर, उहाँहरू आउनुपर्‍यो ।’  पछिल्लोपटक राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेसका नेता शंकर भण्डारी उपचारका लागि भारत गएका थिए । उक्त उपचार खर्चको व्यवस्था राज्यले नै व्यहोरेको छ । 

सिटामोल नपाउने जनताले चुनेको नेता 
उपचारका लागि विदेशतिर जान्छन्, यसलाई रोक्छु
 मोहन बस्नेत, स्वास्थ्यमन्त्री

जनताले अझै पनि सिटामोल नपाउने अवस्था छ, तर त्यही जनताले चुनेको नेता उपचारका लागि विदेशतिर जाने प्रचलन हामीकहाँ हाबी छ । यसलाई रोक्छु, बरु यहाँ उपचारका लागि चाहिने सबै संरचना व्यवस्थित र सुविधाजनक पार्छु । यसले नेपालमा डाक्टरलाई पनि हौसला दिन्छ, उनीहरूले आफ्नो क्षमता प्रदर्शन गर्न पाउँछन् । यहाँ क्षमतावान् डाक्टर छन्, पहिले–पहिले विदेशका डाक्टरहरू पनि सिक्न यहाँ आउँथे, तर अहिले हामीले नेपालको स्वास्थ्य प्रणाली कमजोर बनायौँ, अब यसलाई सुधार गर्ने हो, उपचारमा कसैलाई विभेद हुँदैन । भिभिआइपी पनि उपचार गर्न जाने भएपछि सरकारी अस्पताल थप व्यवस्थित हुन्छ । उच्चपदस्थहरूको स्वदेशमै उपचार गर्नुपर्ने नियमले स्वास्थ्य क्षेत्रमा थप सुधार हुन्छ । 

स्वदेशमै सम्भव हुँदासम्म विदेशमा उपचारका लागि अनुमति दिइनेछैन
प्रा.डा. भूपेन्द्रकुमार बस्नेत, न्याम्सका उपकुलपति तथा विज्ञ चिकित्सक टोलीका संयोजक

अब कोही भिभिआइपी र भिआइपी पनि बिरामी हुनेबित्तिकै उपचारका लागि विदेश जान पाउनुहुन्न । आज मन्त्रीज्यूले १७ विज्ञ चिकित्सकलाई राखेर यस्तो निर्णय गर्नुभएको छ, हामीले नै उपचारको व्यवस्था मिलाउँछौँ । रोगअनुसार विशेषज्ञ डाक्टरले चेकजाँच गर्नेछन् । नेपालमा उपचार नहुने अवस्था देखिए मात्रै बाहिर रेफर गर्न सक्छन्, अन्यथा विदेशमा उपचारका लागि जान अनुमति दिइनेछैन । 

 वीरमा छ भिभिआइपी र भिआइपीका लागि सुविधासम्पन्न उपचारकक्ष
मिटिङ हल, भान्सादेखि सुरक्षाकर्मीको कोठासम्मको सुविधा

विगतदेखि एक–एक भिभिआइपी र भिआइपी उपचारकक्ष रहेको वीर अस्पतालमा भिभिआइपीको अर्को एउटा र भिआइपीको दुईवटा कक्ष थपिएको छ । पुरानो भवनको दोस्रो तला र नयाँ भवनको चौथो तलामा उपचारकक्षको व्यवस्था गरिएको हो । भिभिआइपीका लागि तोकिएको उपचारकक्षभित्र मिटिङ हल, परिवारका सदस्य बस्नका लागि बेग्लै कोठा, बैठककोठा, भान्सालगायत व्यवस्था छ । त्यस्तै, भिआइपी उपचारकक्षमा कुरुवाका लागि छुट्टै कोठाको व्यवस्था छ ।

भिभिआइपीका लागि बनाइएको बैठककोठामा भिआइपीले पनि बैठक बस्न पाउने अस्पताल निर्देशक डा. सन्तोष पौडेलले बताए । उनका अनुसार भिभिआइपी र भिआइपी उपचारकक्षमा अन्य बिरामीको उपचारकक्षमा भन्दा फरक सुविधाहरू छन् । त्यस्तै, नर्सका लागि नर्सिङ र सुरक्षाकर्मीका लागि पनि छुट्टै कोठा बनाइएको छ । भिभिआइपी तथा भिआइपी उपचारकक्षमा भेन्टिलेटर, सामान्य बेड, मुटुको चाल नाप्ने मनिटरलगायत सबैखाले उपचार मेडिकल सामग्री राखिएका छन् । 

भिआइपीको उपचार गर्ने चिकित्सकको टोली, कसको कुन रोगमा विशेषज्ञता ?
प्रा.डा. भूपेन्द्रकुमार बस्नेत (न्याम्सका उपकुलपति) : ग्यास्ट्रोलोजिस्ट । प्रा.डा. भगवान कोइराला : मुटु/सर्जन । 
प्रा.डा. रामकण्ठ माकाजू :  सर्जन । प्रा.डा. मानबहादुर केसी: मुटु/फिजिसियन । प्रा.डा. किरणप्रसाद श्रेष्ठ : जनरल सर्जन । प्रा.डा. रविमान श्रेष्ठ : आइसियू विशेषज्ञ/एनेस्थेसिया । प्रा.डा. शैली प्रधान : दाँत । 
प्रा.डा. रत्नमणि गजुरेल : मुटु । प्रा.डा. सुवास आचार्य : आइसियू विशेषज्ञ । प्रा.डा. शशी शर्मा : ग्यास्ट्रोलोजिस्ट । प्रा.डा. रमेश चोखानी : छाती । सह प्रा.डा. ध्रुव गैरे : कन्सल्टेन्ट फिजिसियन/मधुमेह । डा. सन्दुक रुइत : आँखा । डा. भोला रिजाल : स्त्री तथा प्रसूति । डा. पुकारचन्द्र श्रेष्ठ : अंग प्रत्यारोपण । डा. महेश अधिकारी : जनरल सर्जन/युरोलोजिस्ट । डा. अनन्त अधिकारी : नसा तथा मनोरोग