
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले बचतकर्ताको रकम फिर्ता गराउने गरी कानुन निर्माणमा प्रदेश सरकार लागेको बताएका छन् । भैरहवामा बुधबार सहकारीबाट पीडितहरूले जम्मा भएको रकम फिर्ता पाउन नसकेको, सम्बन्धित निकायमा जाँदा पनि आफूहरूको कुरा सुनुवाइ नभएको, पैसा फिर्ता नहुँदा आर्थिक संकटमा परेको गुनासो सुनेका मन्त्री पाण्डेले बचतकर्ताको रकम फिर्ता गराउने गरी लुम्बिनी प्रदेश सरकारले कानुन निर्माण गर्न लागेको बताएका हुन् ।
सहकारी रुपन्देहीका बचतकर्ताबाट संकलन गरेको करोडौँ रुपैयाँ फिर्ता नगरी फरार भएपछि बचतकर्ता बिचल्लीमा परेका छन् । सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरी सहकारी बन्द गरेर फरार सञ्चालकलाई कानुनी दायरामा ल्याइने मन्त्री पाण्डेले बताए । आमनागरिकको पैसा डुबाउने कार्यमा लाग्ने त्यस्ता सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकारले ऐन, कानुन बनाएर प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।
‘स्थानीय व्यक्तिबाट सञ्चालन गरिएका सहकारीमा धेरै समस्या छैन,’ उनले भने, ‘बाहिरबाट आएर सटर भाडामा लिएर बसेका सहकारीले धेरै ब्याज दिने लोभमा बचतकर्ता फसेका छन् । यसकारण सचेतना आवश्यक छ ।’समस्या समाधानका लागि एक्लाएक्लै अघि बढ्नुभन्दा सामूहिक रूपमा अघि बढ्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिए ।
यस्तै, सिद्धार्थ युवा सञ्जालका अध्यक्ष एवं गृहमन्त्री पाण्डेका राजनीतिक सल्लाहकार बैजनाथ गुप्ताले पीडित बचतकर्ताहरूको बचत लगत र ठगी गर्ने सहकारीका विषयमा विवरण संकलन गरी सहकारीका सञ्चालकको सम्पत्ति रोक्का गराएरै भए पनि बचतकर्तालाई न्याय दिलाएरै छोड्ने बताए ।