१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘फर्पिङ’ जलविद्युत्लाई ऊर्जा संग्रहालय बनाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५o:oo

नेपालकै पहिलो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्र (आयोजना)लाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने भएको छ । विसं १९६८ मा बनेको पाँच सय किलोवाटको उक्त आयोजना एसियाको दोस्रो जलविद्युत् पनि हो । त्यसलाई ऊर्जा संग्रहालयका रूपमा विकास गर्ने नेपाल विद्युत् प्राधिकरणले निर्णय गरेको हो ।

०३८ देखि बन्द रहेको उक्त आयोजनालाई संग्रहालय बनाउन प्राधिकरणले एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । आयोजनालाई पर्यटनसँग जोडेर पुराना संरचनाहरूको जीर्णोद्वार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिने प्राधिकरणको भनाइ छ । 

 दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, बालउद्यानलगायतका संरचना निर्माण गरिनेछन् । परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत्गृह क्षेत्रको करिब एक सय ४६ रोपनी जग्गा प्रयोग गरिनेछ ।  

प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत् केन्द्रपरिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलका रूपमा विकासका कार्य अगाडि बढाइने उल्लेख गरे । 

 यसरी बनेको थियो पहिलो हाइड्रो फर्पिङ 
काठमाडौंदेखि करिब १२ किलोमिटर दक्षिण–पश्चिममा रहेको उक्त आयोजना १९६८ मा बनेको हो । यसको निर्माण विसं १९६४ मा सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९६४ मा बेलायत भ्रमण गरेर फर्किएपछि यो आयोजना निर्माण गर्ने काम अघि बढाएका थिए । उक्त आयोजनाको डिजाइन तथा योजना नेपाली सेनाका इन्जिनियर कर्णेल किशोरसिंह राणाले गरेका थिए । साथै, बेलायतको जनरल इलेक्ट्रिक नामक कम्पनीबाट लिन्जा नाम गरेका एक इन्जिनियरलाई पनि सरकारले ल्याएको थियो । तत्कालीन समयमा उक्त आयोजना बनाउन सात लाख १३ हजार रुपैयाँ खर्च भएको थियो । नेपालले इंग्ल्यान्ड सरकारको आर्थिक सहयोगमा उक्त आयोजना बनाएको थियो । 

यसरी बनेको नेपालको पहिलो जलविद्युत् आयोजनालाई तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले उद्घाटन गरेका थिए । राजा शाहले विसं १९६८ जेठ ९ गते साँझ ६:३० बजे टुँडिखेलबाट बत्ती बालेर उक्त आयोजनाको उद्घाटन गरेको इतिहास छ । चन्द्रशमशेरले बनाएको हुनाले उक्त आयोजनाबाट उत्पादित विद्युत्लाई श्री चन्द्रज्योति प्रकाश भनिन्थ्यो ।  उक्त आयोजनाको विद्युत् ११ केभीको वितरण प्रणालीमार्फत काठमाडौंमा ल्याइएको थियो । टुँडिखेलमा सबस्टेसन बनाएर उक्त विद्युत् काठमाडौं उपत्यकामा वितरण गरिएको थियो ।

ad
ad