१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Sunday, 11 May, 2025
सुवास भट्ट काठमाडाैं
२o८o श्रावण १७ बुधबार o६:११:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिंहदरबारका १० उपसचिव र ७ शाखा अधिकृतको सरुवा

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार o६:११:oo

उपत्यकामा तीन वर्ष अवधि पुगेका कर्मचारीलाई बाहिर पठाउने योजना कार्यान्वयनमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र रहेका कर्मचारीलाई बाहिर पठाउन सुरु गरेको छ । मन्त्रालयले पहिलो चरणमा करिब पाँच वर्ष अवधि पुगेका सिंहदरबारभित्रका १० उपसचिव र सात शाखा अधिकृतलाई बाहिर सरुवा गरेको हो । 

सरुवा गरिएका १७ मध्ये अधिकांशलाई स्थानीय तहमा पठाइएको छ । शक्ति र पहुँचका आधारमा कोही कर्मचारी वर्षौँसम्म सिंहदरबारमै रहने र कोही लामो समय दुर्गममै रहनुपर्ने प्रवृत्ति अन्त्य गर्न मन्त्रालयले सरुवा व्यवस्थापन थालेको हो । स्थानीय तहमा व्याप्त ‘निमित्त’को समस्या हल गर्ने उद्देश्यले पनि सरुवा व्यवस्थापन गरिरहेको मन्त्रालयले जनाएको छ ।

सरुवा व्यवस्थापन अब कार्यान्वयनमा गयो : कमानसिंह थापामगर प्रमुख, कर्मचारी प्रशासन शाखा
सरुवा व्यवस्थापन कार्यदलको सिफारिसका आधारमा मन्त्रालयले सरुवा व्यवस्थापनको काम अघि बढाएको छ । कार्यदलले सिफारिस गरेअनुसार नै तीन वर्षभन्दा बढी समय काठमाडौं बसेकालाई बाहिर सरुवा कार्यान्वयन सुरु भएको छ । यसरी नै अब मन्त्रालयले क्रमशः सरुवा व्यवस्थापन गर्दै जान्छ । यसबाट स्थानीय तहमा व्याप्त निमित्तको समस्या पनि समाधान हुँदै जाने मन्त्रालयको अपेक्षा छ । 

मन्त्रालयले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलले निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीलाई कार्यावधिको ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्न सरकारलाई सिफारिस गरेको थियो । कार्यदलकै सिफारिसका आधारमा मन्त्रालयले सरुवा व्यवस्थापनको काम अघि बढाएको कार्यदलको सदस्यसमेत रहेका कर्मचारी प्रशासन शाखाका प्रमुख कमानसिंह थापामगरले बताए । ‘कार्यदलको सिफारिस कार्यान्वयन सुरु भएको छ,’ उनले भने, ‘यसबाट स्थानीय तहमा व्याप्त निमित्तको समस्या पनि समाधान हुँदै जाने मन्त्रालयको अपेक्षा छ ।’

कार्यदलको सिफारिस कार्यान्वयन गर्ने प्रयासस्वरूप मन्त्रालयले ७ साउनमा सूचना जारी गर्दै भौगोलिक क्षेत्रको अवधि पुगेका कर्मचारीलाई सरुवा गर्न निवेदन माग गरेको थियो । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आह्वान गरेको थियो । दुर्गम क्षेत्रमा अवधि पुगेकाको निवेदनका आधारमा उनीहरूलाई सुगम ल्याएर सुगमका कर्मचारीलाई दुर्गम पठाउने मन्त्रालयको तयारी छ । कर्मचारी सूचना प्रणाली (पिआइएस) अद्यावधिक गरी नौ दिनभित्र मन्त्रालयले तोकेको ढाँचाबमोजिम निवेदन दिन सूचनामा भनिएको छ । 

१० मध्ये आठ उपसचिवलाई स्थानीय तहमा पठाइयो
मन्त्रालयले सिंहदरबारमा कार्यरत आठ उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । हाल श्रम मन्त्रालयमा कार्यरत दीपक ढकाललाई रौतहटको बौधीमाई नगरपालिका, राष्ट्रिय योजना आयोगका शिवरञ्जन पौडेललाई सिराहाको मिर्चैया नगरपालिका र गृह मन्त्रालयका चोमेन्द्र न्यौपानेलाई बैतडीको मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयका सानुबाबु अधिकारीलाई सल्यानको शारदा नगरपालिका, उद्योग मन्त्रालयका श्रीधर गौतम डोटीको शिखर नगरपालिका, श्रम मन्त्रालयका कृष्णप्रसाद खनाललाई रौतहटको वृन्दावन नगरपालिका, श्रमकै खगेन्द्र सुवेदीलाई धनकुटाको पाख्रीवास नगरपालिका र भौतिक पूर्वाधारअन्तर्गत रहेका सोमराज बराललाई सर्लाहीको गोडैता नगरपालिकामा सरुवा गरिएको छ । 

बाँकी दुई उपसचिवमा ०७२ देखि सामान्य प्रशासनमा कार्यरत रेशमलाल कँडेललाई उद्योग मन्त्रालयअन्तर्गत तथा गृहअन्तर्गतका लक्ष्मण ढकाललाई श्रम मन्त्रालयअन्तर्गत खटाइएको छ । उनीहरूलाई पनि काठमाडौं बाहिरै पठाउने तयारी छ । 

त्यस्तै, काठमाडौंबाहिर भौगोलिक क्षेत्रको अवधि काटेका चार उपसचिवको पनि सरुवा गरिएको छ । जिल्ला समन्वय समिति भोजपुरमा कार्यरत भोलाप्रसाद चापागाईंलाई काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ल्याएर त्यहाँ कार्यरत शिवप्रसाद हुमागाईंलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा ल्याइएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत तिलोचन रिमाललाई झापाको अर्जुनधारा नगरपालिका ल्याएर त्यहाँबाट गीताकुमारी राईलाई सामान्य प्रशासनको अतिरिक्तमा ल्याइएको छ । 

सिंहदरबारका सात शाखा अधिकृतलाई पनि गाउँपालिकामा सरुवा 
सिंहदरबारबाट सात शाखा अधिकृतलाई पनि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । गृह मन्त्रालयअन्तर्गत रहेका सुशीलकुमार भण्डारीलाई ताप्लेजुङको सिदिङ्वा गाउँपालिका, गृहअन्तर्गतकै पवनकुमार शाहीलाई प्युठानको झिमरुक गाउँपालिका तथा एकनारायण भण्डारीलाई सोलुखुम्बुको सोताङ गाउँपालिका पठाइएको छ । उनीहरू तीनपटकसम्म दोहो¥याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन गएका अधिकृतहरू हुन् ।

त्यस्तै, उद्योग मन्त्रालयअन्तर्गतका टोपलाल अर्याललाई सर्लाहीको ब्रह्मपुरी गाउँपालिका, उद्योग मन्त्रालयकै शीतलसिंह उखेडालाई डोटीको सायल गाउँपालिका, उद्योग मन्त्रालयअन्तर्गतकै हरिजंग चन्दलाई जाजरकोटको जुनीचाँदे गाउँपालिका र गृह मन्त्रालयअन्तर्गतका अर्जुनकुमार मण्डललाई सिराहाको औरही गाउँपालिकामा सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका तुलसीराम पौडेलको प्युठानको गौमुखी गाउँपालिकामा सरुवा भएको छ ।