१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

बिहारमा नेपाली कलाकृति प्रदर्शनी हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३१:oo

नेपाली कलाकारले बनाएका कलाकृतिहरू भारतको बिहारमा प्रदर्शन गरिने भएको छ । बिहार संग्रहालयले आयोजना गर्न लागेको ‘बिहार म्युजियम बायनाले २०२३’मा नेपाली कलाकृतिहरू प्रदर्शनमा राख्ने भएको हो ।बिहारमा हुन लागेको अन्तर्राष्ट्रिय बृहत् कला प्रदर्शनीमा नेपाललाई पनि निम्तो आएको नेपाल कलापरिषद्का अध्यक्ष सागरशमशेर राणाले बताए । बिहार म्युजियम बायनालेमा विभिन्न देशका कलाकार सहभागी हुनेछन् ।

कला प्रदर्शनी २२ साउनदेखि २० असोजसम्म सञ्चालन हुने बताइएको छ । दुई महिनासम्म चल्ने बिहार प्रदर्शनीमा दुई सय पाँचवटा उत्कृष्ट नेपाली कलाकृति प्रदर्शन गरिनेछ । जसमा लोक चित्रकार, मदन चित्रकार, किरण मानन्धर, रागिनी उपाध्याय, रश्मि मानन्धर, एरिना ताम्राकार, जीवनराज उपाध्याय, मुक्तिसिंह थापा, सुरेन्द्रमान शाक्य, गोविन्द डंगोल, वत्सगोपाल वैद्य, सुषमा शाक्य, नरेश सैँजूलगायत ६६ कालाकारका कलाकृति रहनेछन् ।

पौवा पेन्टिङ, मौलिक कला, काष्ठ तथा धातुका मूर्तिहरूलगायतका कलाकृति प्रदर्शनीमा राखिने बताइएको छ । यति धेरै नेपाली कलाकृतिहरू विदेशमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो । प्रदर्शनीस्थलमा नेपालको सांस्कृतिक सम्पदा तथा धरोहरहरू प्रदर्शन गर्न चार हजार वर्गफिटको एकल ग्यालरी उपलब्ध गराइएको छ । अध्यक्ष राणाले भने, ‘हामीले नेपाली कलाकृति प्रदर्शनी गर्न ठूलो ठाउँ पाएका छौँ, यो हाम्रा लागि गौरवको क्षण पनि हो ।’

नेपालको कला, संस्कृति र सम्पदाको प्रवद्र्धन हुने गरी प्रदर्शनीस्थलमै १६×१६ फिटको अष्टमंगल मण्डल पनि बनाउने योजना छ । विगतमा पनि परिषद्बाट नेपालको प्रतिनिधित्व गरी विश्वप्रसिद्ध बेल्ट म्युजियम, भियनामा मार्च–अक्टोबर २०१९ मा २५ कलाकारका सयवटा कलाकृति प्रदर्शन गरिएका थिए । यस प्रकारको प्रदर्शनीले सांस्कृतिक सम्पदामा रुचि देखाउने पर्यटक नेपाल भ्रमणका लागि आकर्षित हुने अपेक्षा गरिएको छ । 

नेपाल कलापरिषद्का कोषाध्यक्ष पृथ्वीबहादुर पाँडेले अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी जनाउँदा देशको सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन हुने बताए । साथै, नेपाली कलाकारलाई पनि अन्तर्राष्ट्रिय जगत्मा पहिचान दिलाउन सहयोग पुग्ने उनको विश्वास छ । उनले भने, ‘विदेशमा हुने यस्ता प्रदर्शनीहरूमा सहभागिता जनाउँदा नेपाली कलाकृतिसँगै नेपाल प्रवद्र्धनमा ठूलो सघाउ पुग्छ ।’ 

सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा ६० वर्षअघि स्थापना गरिएको नेपाल कलापरिषद्ले नेपालको आधुनिक कलाकृतिहरूको विशिष्ट पहिचान स्थापना गर्न काम गर्दै आइरहेको छ । परिषद्ले विगत केही वर्षदेखि नेपालका आधुनिक कला, जनजातिहरूको कला, परम्परागत कला, समसामयिक कलालगायत प्रवद्र्धनात्मक काम गर्दै आइरहेको बताइएको छ । राष्ट्रिय, प्रान्तीय एवं अन्तर्राष्ट्रियस्तरमा नेपाली कलाहरूको प्रचारप्रसार तथा विस्तार कार्यमा परिषद्को सक्रिय योगदान रहिआएको छ ।

प्रदर्शनी आयोजक बिहार संग्रहालय भारतको सबैभन्दा नयाँ आधुनिक संग्रहालय हो । १३ एकर जग्गामा फैलिएको सुविधासम्पन्न बिहार संग्रहालय अनुसन्धानकर्ता, अन्वेषणकर्ता, पर्यटकको आकर्षण केन्द्र रहँदै आएको छ । इस्वी संवत् १७६४ देखिका ऐतिहासिक कलाकृतिहरू, सम्पदाहरू, धरोहरहरूको यस संग्रहालयमा प्रदर्शन गरिएको छ । 
 

ad
ad