Skip This
 प्रमुख प्रशासकीय अधिकृतको भिडियो प्रकरण : प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Saturday, 27 July, 2024
प्रमुख प्रशासकीय अधिकृत निरौलाबाट अनैतिक गतिविधि भएको क्वार्टरको प्रमाण नष्ट गर्न धमाधम रङरोगन गरिँदै । तस्बिर : नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार o८:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

 प्रमुख प्रशासकीय अधिकृतको भिडियो प्रकरण : प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन

सरकारी क्वार्टरमै अनैतिक गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि प्रमाण नष्ट गर्न प्रमुख प्रशासकीय अधिकृत निरौलाको आदेशमा रङरोगन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार o८:१४:oo

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले अश्लील हर्कतको प्रमाण नष्ट गर्न क्वार्टरमा रङरोगन गरेका छन् । उनले क्वार्टरका कोठाको भित्री भित्तामा पुरानो रङरोगन मेटाएर नयाँ रङ लगाएका हुन् । एक महिलासँग क्वार्टरमै अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएपछि छानबिन हुने डरले प्रमाणको रूपमा रहेको कोठाको रङ परिवर्तन गरेको आशंका गरिएको छ । उनको अश्लील गतिविधिबारे नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको थियो । विगतमा रहेको हरियो रङ बदलेर उनले पहेँलो रङ लगाएका छन् । 

नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा रङरोगनको कुनै निर्णय गरेको छैन । रङरोगनका लागि कुनै प्रक्रिया पनि अघि बढेको छैन । घटना बाहिरिएपछि उनले एक्कासि रङरोगन गरेका हुन् । ‘क्वार्टरमा रङरोगन गर्नेबारेको निर्णय कहीँ भएको छैन,’ नगर उपप्रमुख रेगिना भट्टराईले भनिन्, ‘उहाँ (निरौला) आफैँले रङ लगाउन निर्देशन दिनुभएको होला ।’

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ । महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले टिकटक लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि जनस्तरबाट उनीमाथि कारबाहीको माग भएको छ ।

निरौलाले भने क्वार्टरमा नभई उक्त गतिविधि काठमाडौंको एक होटेलमा गरेको दाबी गर्दै आएका छन् । उनले क्वार्टरभित्रका कोठाको रङ परिवर्तन संयोग मात्र भएको बताए । ‘रङ परिवर्तन संयोग मात्र हो । अरू केही हैन । यो नियमित काम हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘रुममा मुसा गएर हैरान थियो । त्यही भएर रङरोगन गरेका हौँ । यसलाई अन्यथा नलिनुहोला ।’

 कारबाहीका लागि पत्राचार
घटना सार्वजनिक भएपछि दमक नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छानबिन गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको छ । उपप्रमुख रेगिना भट्टराईले निरौला संघअन्तर्गतका कर्मचारी भएकाले संघीय मन्त्रालयलाई नै कारबाहीका लागि पत्र लेखिएको उनले बताइन् । यसबीच, प्रमुख प्रशासकीय अधिकृत निरौला आइतबार कार्यालय गएनन् । मौखिक जानकारी दिएर आइतबार कार्यालय नआएको नगरपालिका स्रोतले जनाएको छ । 

 नगरप्रमुख जोगाउन लागेको आरोप
दमक नगरपालिकाका १५ जना कार्यपालिका सदस्यले नगरप्रमुख रामकुमार थापा घटनालाई बेवास्ता गर्दै ढाकछोप गर्न लागिपरेको आरोप लगाएका छन् । आइतबार विज्ञप्ति निकाल्दै उनीहरूले प्रमुख प्रशासकीय अधिकृत निरौलालाई हाजिरीमा रोक लगाउँदै कार्यालय प्रवेशमा समेत रोक लगाउन माग गरेका छन् ।

निरौलाको अश्लील हर्कतबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि जानकार छ । यद्यपि, उनीमाथि के गर्ने भन्ने निर्णय अझै पनि मन्त्रालयले लिन सकेको छैन । ‘घटनाबारे जानकारी सञ्चारमाध्यमबाट जानकारी पाएका छौँ । यसबारेमा छानबिन हुन्छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने, ‘छानबिन समिति बनाएको छैन । समिति बनाउनेबारे हामी छलफलमै छौँ ।’