१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अवैध ‘स्ल्याब’, जहाँ १३ वर्षीय विधान बेपत्ता भए

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o१:oo

काठमाडौं महानगरपालिका– ३ रानीबारी हुँदै बग्ने सामाखुसी खोलाको दुवै किनारतर्फ घनाबस्ती छ । खोलाको केही भागमा वारपार ढाकिने गरी ‘स्ल्याब’ बिछ्याइएका छन् । केही भने खुलै छन् । आइतबार साँझ ५:३० बजे १३ वर्षीय विधान आले मगर ‘साजन’ खुला राखिएको सोही स्थानबाट खोलामा खसे । र, बाढीको भेलसँगै बेपत्ता भए । उनी पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्थे ।

सडक किनारमै पसल चलाउँदै आएकी शान्ति कँडेलको सामुन्ने विधान खोलामा खसेका थिए । उद्धारका लागि कँडेलले हारगुहार गरिन् । तर, मुलसधारे वर्षाबीच घटनास्थलमा स्थानीय भेला त भए, तर उद्धार सफल भएन । किनकि ‘स्ल्याब’बाट निर्मित अँध्यारो सुरुङ हुँदै बग्ने खोलाभित्र पसेर उद्धार गर्न सजिलो थिएन । फलतः जे नहुनुपर्ने थियो, सोही भयो । विधान अझै फेला पर्न सकेका छैनन् ।

रानीबारीस्थित डेरामा शोकमग्न विधानका ५५ वर्षीय हजुरबुबा लीला आले मगर सुरुङजस्तो ‘स्ल्याब’ नभइदिएको भए खोलामा बग्दै गरेका नातिलाई उद्धार गर्न सकिने बताउँछन् । ‘नाति खोलामा खसेछ । देख्नेले उद्धारका लागि हारगुहार गरे । स्थानीय घटनास्थल पनि आइपुगे । तर, खोला बग्ने अँध्यारो सुरुङभित्र छिर्न सकिएन । ‘स्ल्याब’ नराखिएको भए बग्दै गरेको नातिलाई केही तल पुगेर समात्न सकिन्थ्यो । ऊ बेपत्ता हुने थिएन । र, बचाउन सकिन्थ्यो,’ उनले भने ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ र २६ भएर सामाखुसी खोला बग्छ । खोलाको बहाव क्षेत्रबाटै स्थानीयले घर निर्माण गरेका छन् । आउजाउ गर्न निजी लगानीमा वारपार ढाक्ने गरी ‘स्ल्याब’ बिछ्याएका छन् । जसको न नक्सा पास छ, न सम्बन्धित स्थानीय तहबाट अनुमति नै लिइएको छ । सोही धरापमा विधान परे । रानीबारीका स्थानीय तथा विधानका शिक्षक सुनिलचन्द्र आचार्य ‘स्ल्याब’ नभइदिएको भए खोलामा बग्दै गरेका साजनलाई उद्धार गर्न सकिने बताउँछन् । ‘खोला ‘स्ल्याब’बाट निर्मित सुरुङभित्र छिर्ने रहेछ । खोलामा खसेका विधान त्यहीँभित्र छिरे । ‘स्ल्याब’ नभएको भए बगेर केही तल पुगे पनि उनलाई समात्न सकिनेरहेछ,’ उनले भने ।

खबर प्राप्त भएको करिब २० मिनेटपछि प्रहरी घटनास्थल पुग्यो । लगातारको वर्षाले उर्लिएको खोला उकुसमुकुस गरी बग्दै थियो । केही समयपछि घटनास्थलमा सशस्त्र प्रहरीको टोली पनि आइपुग्यो । तर, सुरुङभित्र छिर्ने आँट न प्रहरीले गर्‍यो, न सशस्त्र प्रहरीको टोलीले नै । ‘स्ल्याब’माथिबाट खोला पछ्याउँदै स्थानीयसँगै सुरक्षाकर्मी विष्णुमती किनारसम्म पुगे । तर, ‘स्ल्याब’भित्र छिरेका विधान फेला पर्न सकेनन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले बिछ्याइएका ‘स्ल्याब’का कारण पनि साजनलाई उद्धार गर्न गाह्रो भएको बताए । ‘खोलाको केही भागमा ‘स्ल्याब’ राखिएको रहेछ । जसकारण विधान सोही ‘स्ल्याब’भित्र छिरे । प्रहरी तत्काल घटनास्थल पुग्यो । उद्धारमा खटियो । तर, ‘स्ल्याब’कै कारण उनलाई उद्धार गर्न सकिएन । ‘स्ल्याब’ मात्रै नभइदिएको भए उनको उद्धार गर्न सजिलो हुने थियो,’ उनले भने ।

आफूखुसी अवैध रूपमा बनाइएका ‘स्ल्याब’ हटाउन महानगरले पहल गरेको छ । केही स्थानका हटाइसकेको छ । तर, अझै धेरै ठाउँमा बाँकी छ । जुन पैदलयात्रीका लागि धराप बनिरहेको छ । काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष प्रेम थापाले अवैध तवरले निर्माण गरिएका ‘स्ल्याब’ हटाउन सुरु गरिएको, तर केही ठाउँमा अझै बाँकी रहेको स्वीकार गरे । ‘स्थानीयले आ–आफ्नै पहलमा खोलामाथि ‘स्ल्याब’ राखेका छन् । दुर्घटना हुन सक्ने देखिएपछि केही ठाउँमा ‘स्ल्याब’ हटाइसकिएको छ । तर, केही ठाउँमा अझै बाँकी छन् । बाँकी रहेको सोही ठाउँमा विधान बेपत्ता भएको सूचना छ । यस विषयमा महानगरपालिकाले थप बुझिरहेको छ,’ उनले भने । 

विधानका ५५ वर्षीय हजुरबुबा लीला आले मगरको गुनासो
नाति खोलामा खसेछ । देख्नेले उद्धारका लागि हारगुहार गरे । स्थानीय घटनास्थल पनि आइपुगे । तर, खोला बग्ने अँध्यारो सुरुङभित्र छिर्न सकिएन । ‘स्ल्याब’ नराखिएको भए बग्दै गरेको नातिलाई केही तल पुगेर समात्न सकिन्थ्यो । ऊ बेपत्ता हुने थिएन । र, बचाउन सकिन्थ्यो ।

ad
ad