Skip This
लम्पी स्किन : निको हुने दर बढ्दै तीन लाख पशुमा लगाइयो भ्याक्सिन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १० बुधबार
  • Saturday, 27 July, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८o श्रावण १० बुधबार o६:४७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

लम्पी स्किन : निको हुने दर बढ्दै तीन लाख पशुमा लगाइयो भ्याक्सिन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १० बुधबार o६:४७:oo

करिब पाँच महिनादेखि गाई–भैँसीमा तीव्र गतिमा फैलिएको लम्पी स्किन संक्रमण बिस्तारै घट्न थालेको छ । संक्रमण फैलिनबाट रोक्ने एलएसपी भ्याक्सिन लगाइएका गाई–भैँसीको संख्या तीन लाख एक हजार दुई सय ४६ पुगेको पशु सेवा विभागको तथ्यांक छ । संक्रमण हुन नदिन लगाइने खोपको पहुँच बढेका कारण संक्रमण दर घट्दै गएको विभागले जनाएको छ । खोप लगाउनेको संख्या बढ्दै जाँदा निको हुनेको संख्या बढेको पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।

हालसम्म १० लाख ५४ हजार पशु संक्रमित भएको विभागको तथ्यांक छ । त्यसमा सात लाख ६८ हजार ४१ पशु निको भइसकेका छन् । लम्पी स्किनकै कारण हालसम्म ४८ हजार एक सय ३३ गाई–भैँसी मरेको विभागले जनाएको छ ।लम्पी स्किन संक्रमण फैलिएको कोसी प्रदेशमा नै सबैभन्दा बढी भ्याक्सिन लगाइएको छ । हाल कोसी प्रदेशमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ५१ रहेको छ । हालसम्म कोसी प्रदेशमा मात्र दुई लाख १४ हजार ६ सय ४५ संक्रमित भएका छन् । त्यसमध्ये एक लाख ९३ हजार पशु निको भइसकेको विभागले जनाएको छ । 

सात प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिममा तीन हजार डोज मात्र खोप लगाइएको छ । उक्त प्रदेशमा तीन लाख नौ हजार नौ सय ६४ पशुमा संक्रमण हुँदा दुई लाख ४७ हजार नौ सय ७१ पशु निको भइसकेका छन् । यस प्रदेशमा सबैभन्दा बढी क्षति भएको विभागले जनाएको छ । हालसम्म सबैभन्दा बढी २५ हजार ६ सय एक पशु संक्रमणकै कारण मरेका हुन् । प्रभावित भएको सुदूरपश्चिम प्रदेशमा खोप बढाउने काम भइरहेको र केही भौगोलिक कारणले ढिलो भएको ढकालले बताए । 

उनले भने, ‘सबै स्थानीय तहहरूमा खोप लगाउने पशुको संख्या बढ्दै जाँदा निको हुनेको दर घटेको हो । विभागका अनुसार हालसम्म करिब ११ लाख डोज खोप स्टक छ । चारवटा निजी क्षेत्रका कम्पनीले लम्पी स्किनविरुद्धको खोप आयात गरेको विभागको भनाइ छ । विभागका अनुसार खोप स्थानीय तहले खरिद गर्छन् र किसानले कुनै शुल्क तिर्नुपर्दैन । सरकारले रोग नियन्त्रणका लागि हरेक स्थानीय तहलाई एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपाल किसान महासंघका अध्यक्ष नवराज बस्नेतले अहिले किसानको गोठमा भ्याक्सिन चाहिएको बताए । 

निजी क्षेत्रले जोर्डन, टर्कीबाट खोप आयात गरिरहेका छन् । खोप खरिदकर्ता कान्तिपुर भेट डिस्ट्रिब्युटरका सञ्चालक ऋषि बडालले खोप पर्याप्त रहेको बताए । भ्याक्सिन लगाएबापत स्थानीय पालिकाले एक सय ६० रुपैयाँ प्रतिडोज तिर्नुपर्ने हुन्छ । उनले भने, ‘खोप पर्याप्त छ, ल्याउन पनि कुनै समस्या छैन, सबै वस्तुलाई खोप लगाइसक्न करिब दुई वर्ष लाग्न सक्छ । देशभर एक करोड २६ लाख गाई–भैँसी रहेको नेपाल पशु चिकित्सा परिषद्ले गरेको एक अध्ययनले देखाएको छ । चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले संक्रमित पशु निको भएको तीन महिनापछि मात्र उक्त भ्याक्सिन लगाउनुपर्ने बताए । हालसम्म लम्पी स्किनबाट ३८ अर्ब ४१ करोडबराबरको क्षति भएको अनुमान छ । सक्रमण दर फैलिँदै गए करिब ९० लाख डोज खोप आवश्यक पर्ने परिषद्को प्रक्षेपण छ । 

विभागले हचुवामा महामारी भनेपछि लम्पी स्किनको बिमा दाबी रोकियो
पशु सेवा विभागले हचुवाका भरमा लम्पी स्किनलाई महामारी रोग भनेर व्याख्या गरेपछि लम्पी स्किनको बिमा दाबी भुक्तानी रोकिएको छ । कुनै पनि रोगलाई महामारी भनेर घोषणा गर्न मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्छ, तर १३ असारमा लम्पी स्किनलाई विभाग आफैँले महामारी रोग भनेर व्याख्या गरेपछि अधिकांश बिमा कम्पनीहरूले त्यसबापतको भुक्तानी रोकेका हुन् । सैद्धान्तिक रूपमा महामारीलाई भने बिमाले रक्षावरण गर्दैन । यो विश्वव्यापी मान्यता नै हो । महामारीबाट हुने क्षतिको दायित्व सरकारमै हुन्छ । सरकारी निकाय पशु सेवा विभागले नै लम्पी स्किनलाई महामारी भनेपछि दाबी भुक्तानी अन्योलमा परेको नेपाल बिमा प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । 

विभागले महामारी भन्नुभन्दा अघि लम्पी स्किनको बिमा दाबी भुक्तानी भइरहेको थियो । तर, त्यसपछि अधिकांश कम्पनीले यसको दाबी भुक्तानी रोकेको नियामक निकाय नेपाल बिमा प्राधिकरणका एक उच्च अधिकारीले बताए । नेपालमा पहिलोपटक असार ०७७ मोरङको सुन्दरहरैचा नगरपालिकाका केही गाईमा लम्पी स्किन देखिएको थियो । अहिले सात सय ५३ वटै स्थानीय तहका पशुहरूमा यसको संक्रमण फैलिएको छ । प्रवृत्तिका रूपमा यसले महामारीको जस्तो रूप लिए पनि सरकारले औपचारिक रूपमै घोषणा गरेको छैन । ‘सरकारले लम्पी स्किनलाई महामारी नै भनेको छैन । तर, पशु सेवा विभागले महामारी भनेर विज्ञप्ति नै जारी गरेको छ,’ उनले भने, ‘त्यसपछि यसको दाबी भुक्तानी अन्योलमा छ । अधिकांश कम्पनीले यसको दाबी भुक्तानी रोकेका छन् । तर, यसबारे उजुरी भने आइसकेको छैन । कतिपयले यसको भुक्तानी दिएका पनि छन् ।’    

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले महामारी भनेर घोषणा भएपछि लम्पी स्किनलाई बिमाले कभर नगर्ने बताए । साथै, नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री पनि विभागले लम्पी स्किनलाई महामारी भनेपछि दाबी रोकिएको बताए । ‘विभाग पनि सरकारी निकाय नै हो । उसले नै लम्पी स्किनलाई महामारी भनेर व्याख्या गरिसकेको छ । त्यसपछि यसको दाबी भुक्तानी भएको छैन,’ उनले भने, ‘महामारीलाई बिमाले कभर गर्ने कुरा पनि हुँदैन ।’

यता विभागकी महानिर्देशक सम्झनाकुमारी काफ्ले पाण्डेले पनि लम्पी स्किन औपचारिक रूपमा महामारी रोग भनेर घोषणा नभएको बताइन् । तर, व्यावहारिक रूपमा यसले महमारीको रूप लिइसकेको उनको भनाइ छ । सोहीअनुसार यसलाई नीतिगत रूपमै महामारी रोग भनेर घोषणा गर्न सरकारसँग पहल भइरहेको उनको भनाइ छ । तर, यसकै नाममा बिमा कम्पनीले दाबी भुक्तानी रोक्न नहुने उनको भनाइ छ । 

‘लम्पी स्किनलाई औपचारिक रूपमा महमारी भनेर घोषणा गरिएको छैन । तर, हामीले विज्ञप्तिमा महामारी भनेर उल्लेख गरेका छौँ । त्यही बहानामा बिमा कम्पनीहरूले दाबी भुक्तानी भने रोक्न पाउँदैनन्,’ उनले भनिन्, ‘पशु मरेमा बिमा कम्पनीले दाबी भुक्तानी दिनुपर्छ । त्यो अवस्थामा उनीहरूले दाबी भुक्तानी दिन्न भन्न पाउँदैनन् ।’