१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० श्रावण ९ मंगलबार ०७:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मर्मत गर्न नसक्दा भेरी अस्पतालका १२ भेन्टिलेटर गोदाममा थन्किए, नबिग्रिएका १३ मध्ये पनि ६ वटा मात्रै सञ्चालनमा

Read Time : < 1 मिनेट
२०८० श्रावण ९ मंगलबार ०७:४७:००

नेपालगन्जस्थित भेरी अस्पतालको आइसियू कक्षमा रहेका २५ मध्ये १२ भेन्टिलेटर बिग्रिएर थन्किएका छन् । कोभिड– १९ को महामारीमा दाताबाट प्राप्त पाँचवटै र सरकारले खरिद गरेका २० मध्ये सात गरी १२ वटा भेन्टिलेटर थन्किएको भेरी अस्पताल, एनेस्थेसियोलोजी एवं क्रिटिकल केयर विभागका कन्सल्टेन्ट डा. पारस पाण्डेले बताए ।

‘भेन्टिलेटर थन्किएर बस्दा उपचारमा समस्या त भइरहेको छ । तर, मर्मतका लागि बजेटको पर्खाइमा छौँ, बजेट हुनेबित्तिकै सरकारी कोषबाट किनेका भेन्टिलेटर मर्मत गर्छौँ,’ उनले भने । तर, दाताबाट प्राप्त भेन्टिलेटरको वारेन्टी र ग्यारेन्टी कार्ड नभएकाले मर्मत गर्न नसकिएको भेरी अस्पतालले जनाएको छ । ‘बिग्रिएका भेन्टिलेटर बनाउन धेरै ठूलो रकम लाग्छ । वारेन्टी र ग्यारेन्टी भएको भए मर्मत गर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘बिग्रिएका भेन्टिलेटर मर्मत गर्न नसकेर गोदाममा थन्क्याउनुपरेको छ ।’

भेरीमा नबिग्रिएका १३ वटा भेन्टिलेटरमध्ये पनि ६ थान मात्र सञ्चालनमा छन् । आइसियूको मापदण्डअनुसार एक बिरामीबराबर एक स्टाफ नर्स हुनुपर्ने हो । तर, ६ बिरामीलाई दुई स्टाफ नर्सले हेर्नुपर्ने बाध्यता रहेको पाण्डेले सुनाए । ‘आइसियूमा भेन्टिलेटर राख्ने ठाउँ छ । आवश्यक भेन्टिलेटर पनि हामीसँग छ, तर जनशक्ति छैन,’ उनले भने, ‘चाहेर पनि भेन्टिलेटर सञ्चालन गर्न सकिएको छैन ।’

अस्पताल प्रमुख डा. बद्री चापागाईंले अस्पतालको आइसियूमा जनशक्ति र बेड अभाव भएकाले बिरामीलाई सेवा दिन नसकिएको बताए । ‘आइसियूका १५ मध्ये ९० प्रतिशत बेड भरिभराउ हुन्छन् । नयाँ बिरामीले बेड पाउन कि पुराना निको हुनुपर्‍यो, कि रिफर भएर अन्यत्र जानुपर्ने हुन्छ,’ उनले भने ।