मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ४ बिहीबार
  • Thursday, 21 October, 2021
दीपक ज्ञवाली
२०७६ बैशाख ९ सोमबार ०८:३८:००
Read Time : > 7 मिनेट
दृष्टिकोण

विकृत वामपन्थको चपेटामा लोकतन्त्र

विकृत वाम विचारले देशलाई औपनिवेशिक मोडलमा लैजाँदै छ, बुढीगण्डकी, अरुण, माथिल्लो कर्णाली विदेशी कम्पनीसामु सुम्पनुलाई औपनिवेशिक मोडल नै भन्नुपर्छ

Read Time : > 7 मिनेट
दीपक ज्ञवाली
२०७६ बैशाख ९ सोमबार ०८:३८:००

ऐतिहासिक जरा कमजोर 
राणाशासनका वेला पढ्न भारत गएका एकथरी जमिनदारका सन्तानले कांग्रेस पार्टी जन्माए । जमिनदारकै अर्काथरी सन्तानले कम्युनिस्ट पार्टी । कांग्रेस जन्माउने सुवर्णशमशेर अभिजात वर्गकै थिए । बिपी कोइराला पनि जमिनदार वर्गकै थिए । अहिले देशकै पिताजी बनाउन खोजिए पनि कृष्णप्रसाद कोइराला पहिला चन्द्रशमशेरकै मान्छे थिए । पुष्पलाल पनि उच्च वर्गकै थिए । मनमोहन अधिकारीका बुबा रामचन्द्र अधिकारी मोरङका जमिनदार थिए । केशरजंग रायमाझी नवलपरासीका ठूला जमिनदार । नेपालमा वाम विचार भारतबाट उच्च वर्गमार्फत प्रवेश ग-यो । रुसमा जार शासन अन्त्य हुनुभन्दा झन्डै सय वर्षअघि (सन् १८२४)मा नै त्यहाँका उच्च वर्गले जारविरुद्ध विद्रोह गरेका थिए । तिनलाई इतिहासमा ‘डिसेम्बरिस्ट’ भनेर चिनिन्छ । सर्वहारावादी, श्रमिकवादी भनेर मुठ्ठी कस्दै भाषण गरे पनि नेपालको कम्युनिस्ट आन्दोलनमा साँच्चिकै श्रम गर्ने वर्गबाट उदाएका निर्मल लामा र रूपलाल विश्वकर्माबाहेक मेरो जानकारीमा छैन । श्रम गर्ने हातबाहेक केही नभएको वर्गबाट कोही नेता भएनन् । भारतबाट र उच्च वर्गमार्फत छिरेको वाम विचारमा सुरुदेखि विरोधाभाष छ । अहिलेका कम्युनिस्ट नेता जमिनदार परिवारका नभए पनि गाउँका ठालुकै छोराछोरी छन् । 

भारतमै जन्मिएर नेपालमा हुर्किएको कम्युनिस्ट पार्टी यहाँ मौलायो, फस्टायो । तर, भारतमै त्यति फस्टाएन । भारतमा पश्चिम बंगाल, केरला, त्रिपुरामा सीमित भए । पश्चिम बंगालमा माक्र्सवादी सत्तामा आएकै वेला नक्सलवादी आन्दोलन चर्कियो । त्यतिवेला कांग्रेस र माक्र्सवादीबीच अघोषित सम्झौता भयो- कम्युनिस्टका निश्चित ठेगानामा कांग्रेसले डिस्टर्ब नगर्ने, माक्र्सवादीले केन्द्रमा कांग्रेसलाई सघाउने । जवाहरलाल नेहरू विश्वविद्यालय माक्र्सवादीको अखडा बन्नु त्यही साँठगाँठको परिणाम हो । कांग्रेस- मार्क्सवाद मिलेर नक्सलवादी आन्दोलन सखाप पारे । पश्चिम बंगालमा कांग्रेस-मार्क्सवाद सत्ता साझेदारी गरेका थिए । कांग्रेसका अजय मुखर्जी मुख्यमन्त्री र मार्क्सवादका ज्योति बसु उपमुख्यमन्त्री भए । कांग्रेससँग लम्पसार परिसकेका मार्क्सवादले १९९० को दशकमा कांग्रेसले बेलगाम पुँजीवाद भित्र्याउँदा पनि विरोध गर्न सकेनन् । सम्झौतापरस्त कम्युनिस्टलाई कांग्रेसकै उत्पादन ममता बनर्जीले सिध्याइदिइन् । तै पनि नेपालमा कम्युनिस्ट पार्टीको नाममा भोट पाएका छन् । दुईतिहाइको सरकार बनाएका छन् । राजनीतिमा नारा चल्छ । शोषणबाट मुक्त गरिदिने भाषण गरेका छन् । आदर्शको कुरा छाँटेका छन् । कांग्रेस पनि बिपीको समाजवाद भनेरै भोट माग्छ । जनतालाई त्यो भ्रमबाट मुक्त हुन समय लाग्नै नै देखिन्छ । चुनाव पनि कस्तो भने रघुजी पन्त र युवराज ज्ञवालीले टिकट पाएनन् । स्थानीय सरकारमा जित्ने आधाजति ठेकेदार छन्, आधाजति डोजर धनी । पैसा नभई चुनाव नजितिने परिपाटी आयो । मोहन वैद्यजस्ता कम्युनिस्ट त राजनीतिमा गुमनाम छन् । यसैले यिनले पाएको भोटलाई कम्युनिस्ट भएको कारण आएको ठान्ने कि नठान्ने ?

विकृत वाम विचारले देशलाई औपनिवेशिक मोडलमा लैजाँदै छ, बुढीगण्डकी, अरुण, माथिल्लो कर्णाली विदेशी कम्पनीसामु सुम्पनुलाई औपनिवेशिक मोडल नै भन्नुपर्छ

कम्युनिस्ट सरकारको अर्थराजनीति 
विरोधाभाषमा जन्मिएको वामविचार झन्–झन् विरोधाष र भ्रम हुँदै विकृत वामविचारमा परिणत भएको छ । राजस्व बढायो भनेर तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईको वाहवाही भयो । तर, अघिल्लो वर्ष तीन लाख किलोलिटर रहेको पेट्रोलियम पदार्थको आयात त्यो वर्ष दोब्बर भएको थियो । पेट्रोलियममा लाग्ने उच्च कर÷भन्सारले गर्दा राजस्व बढेको थियो । विलासी गाडीको आयातले पेट्रोलियम आयात बढाएको थियो । काठमाडौंको बाटो चौडा पार्दा प्रधानमन्त्री बाबुराम भट्टराईको तारिफ हुन्छ । सडक चौडा हुँदा मजस्तो निजी गाडी लिएर हिँड्नेलाई फाइदा हुने हो । समाजवादीले त सार्वजनिक यातायात बलियो बनाउनुपर्ने थियो । पखाला लागेपछि जीवनजल खुवाउनुपर्नेमा घरमै शौचालय थप्ने काम गरियो । यस्तै विरोधाषमा छन्, नेपाली कम्युनिस्ट ।

बाँसबारी छाला जुत्ताले थुप्रैलाई रोजगारी दिएको थियो । छालाको यस्तो माग थियो कि काठमाडौंमा छाला भएको मासु पाउनै गाह्रो भएको थियो । हजारौँमा प्रत्यक्ष रोजगारी सिर्जना गरेको थियो । अप्रत्यक्ष रोजगारी अझ धेरै । तर, अहिले कस्तो कमिसन व्यापार मौलायो भने एउटा अफिस खोल्यो, दुई-चारजना  स्टाफ राख्यो । बाहिरबाट जुत्ता मगायो । कर, भन्सारमा हेराफेरी ग-यो, कुस्त मुनाफा कमायो । यही खालको बेलगाम पँजीवाद आयो । औद्योगीकरणको सुरुवात जुद्धशमशेरको पालामा भयो । बरु राजा महेन्द्रको नीति समाजवादी थियो, समाजवादी भनिनेले बेलगाम पुँजीवाद भित्र्याए । संविधानमा समाजवादउन्मुख राज्य लेखिएको छ । तर, दुईतिहाइको कम्युनिस्ट सरकार लगानी सम्मेलन गर्छ । लगानी सम्मेलन र समाजवाद विरोधाभाषी कुरा हुन् । लगानी सम्मेलन गरी विदेशी लगानी भित्र्याउनु आफैँमा ‘इस्ट इन्डिया कम्पनी मोडल’ हो । विदेशीले लगानी गर्छन, कुस्त मुनाफा गर्छन्, लैजान्छन् । लगानी सम्मेलनलाई सही ठह-याउने हो भने महात्मा गान्धी गलत थिए भन्नुपर्ने हुन्छ, जसले स्वदेशी उत्पादनलाई प्रोत्साहित गरे, इस्ट इन्डिया कम्पनीलाई लेखेटे । तैपनि यो लेनिनवादअनुकूल छ भन्न सकिन्छ । लेनिनले अर्मान्ड हामर (जो पछि अक्सिडेन्टल पेट्रोलियमको मालिक भए-लाई १९२१ तिर रुसमा पेन्सिल उद्योग खोल्न इजाजत दिएका थिए ।
 

के मार्क्सवाद वैज्ञानिक छ ?
युरोपमा पुँजीवादको चरम दोहनको समयमा माक्र्सको दर्शन जन्मियो । पुँजीवादले समाज तहसनहस थियो । चरम शोषणको अवस्थामा यो सब कसरी भयो, कसरी मुक्ति सम्भव छ भन्ने सन्दर्भमा मार्क्सवादले गरेको चिन्तन मार्क्सवाद हो । औद्योगिक क्रान्तिअघि सामन्त हुन्थे, चर्चमा पादरी हुन्थे । भेडा पाल्ने भेडा पालिरहेको हुन्थ्यो, खेती गर्ने खेतमा व्यस्त हुन्थ्यो । गाउँमा इष्टमित्र हुन्छन् । मनलाग्दा काम ग-यो, नलाग्दा आराम ग-यो । एक खालको जीवनशैली हुन्छ । औद्योगिक क्रान्तिपछि नाफाका लागि उत्पादन हुन थाल्यो । बढी नाफा गर्न धेरै उत्पादन गर्ने कारखाना स्थापना हुन थाले । श्रमिक चाहियो, श्रम गर्न किसानलाई गाउँबाट सहरमा ल्याइयो । किसान जमिनबाट विस्थापित भए । गाउँसँग सामाजिक सम्बन्ध टुट्यो । ऊ श्रमिक मात्र भयो । अहिले श्रम गर्न खाडी पुगेका नेपाली कामदारको जस्तो हाल भयो- बिहान उठेपछि खाने, काममा जाने बेलुका खाने, सुत्ने । अनि समस्या देखिन थाल्यो ।

आइज्याक न्युटनले ब्रह्माण्ड चल्ने नियम खोजेझैँ माक्र्स समाज विकासको नियम खोज्ने प्रयास गर्छन् । उनले श्रमकेन्द्रित विकास खोजे । तर, विकास श्रम मात्र होइन, सूचना, व्यवस्थापन आदि पनि हो । यहाँका कम्युनिस्टले बारम्बार वैज्ञानिक शब्द प्रयोग गर्छन् । माक्र्सवाद वैज्ञानिक हो, अन्तिम सत्य हो भन्ने खाले कुरा गर्छन् । कार्ल पप्पर भन्छन्- विज्ञानमा अन्तिम सत्य हुन्न । वैज्ञानिकले 'अहिलेसम्म गरेको अनुसन्धानले यो सिद्धान्त प्रतिपादन गरेँ, यसलाई गलत साबित नगरेसम्म यही सत्य हो’ भन्छन् । यहाँका कम्युनिस्टले माक्र्सवादलाई धर्मको रूपमा ग्रहण गरे, अन्धभक्ति देखाए । तर, यस्तो धर्मभिरू भए, जो पूजापाठ आदिमा धार्मिक देखिन्छ, तर कर्म धर्मले देखाएको भन्दा उल्टो गर्छ । 

महेन्द्रको नीति समाजवादी थियो, समाजवादी भनिनेले बेलगाम पुँजीवाद भित्र्याए, संविधानमा समाजवादउन्मुख राज्य लेखिएको छ, तर दुईतिहाइको कम्युनिस्ट सरकार लगानी सम्मेलन गर्छ  

माक्र्सले भनेका कतिपय कुरा उहिल्यै गलत साबित भइसकेका थिए । पुँजीवाद विकास भएको ठाउँमा क्रान्ति हुन्छ भनेका थिए । तर, युरोपमा पिछडिएको रुसमा क्रान्ति भयो । पुँजीवादको विकास नभएका चीन, भियतनाम, उत्तर कोरियामा क्रान्ति सफल भयो । माक्र्सवादको कुरा त ऊबेलै हावा खायो । त्यसैले माक्र्सवादले भन्नेबित्तिकै वैज्ञानिक हुँदैन । माक्र्स भन्छन्, पुँजीको चरित्र शोषक हुन्छ, एकले अर्कोलाई खाँदै पुँजी झन् केन्द्रित हुन्छ । खाडल हुँदै गएपछि द्वन्द्वले साम्यवादी क्रान्ति हुन्छ । तर, पुँजीवादको इतिहास हेर्दा केन्द्रित होइन, पुँजी विस्तारित हँुदै गएको छ । धनी झन्–झन् धनी भएका छन्, तर पुँजीकेन्द्रित होइन । धन र पुँजीमा अन्तर छ । परिचालन गरेर थप पुँजी आर्जन गर्नु पुँजी हो । परिचालन नगरिएको धन हो । पञ्चायतकालमा सुनबुढा भनेर चिनिने एकजना राष्ट्रिय पञ्चायत सदस्य थिए- सुन संकलन गर्ने सोख भएका उनको घरमा दाउरा खात लगाएजसरी सुन खात लगाएर राखेको सुनिन्थ्यो । ती सुनबुढाको सुन धन हो, पँजी भएन । मानव सभ्यतामा सन् १५०० तिर बल्ल पुँजी परिचालन गरी पुँजी बढाउने सोच आएको हो । त्योभन्दा अघि ब्याज लिन पाइँदैनथ्यो । चर्चले ब्याज लिनुलाई पाप मान्थ्यो, प्रतिबन्धित थियो । इस्लाममा अहिले पनि ब्याज बर्जित छ । यसैले पुँजीवाद आउनुमा चर्चको भूमिका पनि छ भन्ने गरिन्छ ।

हामीकहाँ गरिब थिए र छन्, तर श्रम गर्ने हातबाहेक केही नभएका सर्वहारा सायद थिएनन् । सहरमा श्रम गर्नेको पनि गाउँमा झुपडी नै सही घर-जग्गा गाई-भैँसी, कुखुरा, बाख्रा हुन्छ । एउटा कार्यालय सहयोगीले पनि सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेको हुन्छ, गाली ग-यो भने काम छाडेर हिँड्दिन्छन् । गाउँ फर्के पनि भातै खानचाहिँ समस्या हुँदैन । बरु माक्र्सकालीन युरोपका श्रमिकजस्तो वर्ग बितेको दुई दशकमा तयार भएको छ– खाडीमा नेपाली कामदार । जिडिपीमा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगिसक्यो । रेमिट्यान्स आप्रवाहको वृद्धिदर २० प्रतिशत छ । अर्थतन्त्र धानिएको छ । तर, तिनको मुद्दा अर्बपति नेपाली माक्र्सवादीले सम्बोधन गर्नेवाला छैनन् ।

मार्क्सवाद कि लेनिनवादमा समस्या 
लर्ड मेघनाद देसाई माक्र्स होइन, लेनिन समस्या हुन् भन्छन् । जंगबहादुर बेलायत भ्रमणमा हुँदा माक्र्स लन्डनको लाइब्रेरीमा बसेर लेख्दै थिए । दास क्यापिटलको पहिलो भाग लेखेपछि माक्र्स स्वयं अलमलमा थिए भनेर देसाईले लेखेका छन् । माक्र्सले पुँजीवाद संकटग्रस्त छ, धराशायी हुन थाल्यो भनेर त लेखे । तर, पँुजीवाद झन् बलवान् हुँदै गयो । यसैले माक्र्सले आफ्नो जीवनकालमा दास क्यापिटलको अरू भाग छापेनन् । मार्क्सको निधनपछि एंगेल्सले छापेका थिए । पुँजीवाद आफैँभित्रको अन्तरविरोधले अन्त्य हुने विश्लेषण माक्र्सको थियो । तर, पुँजीवादले चरित्र फे-यो र बलवान् हुँदै गयो । मार्क्सले प्रयोग गरेको शोषण शब्दमै पनि विरोधाभाष देखिन थाल्यो । पुँजीले श्रमको शोषण गर्छ भन्थे उनी । श्रमले पनि पुँजीको शोषण गर्दो रहेछ भन्ने उहाहरण नेपालमै छ ।

माक्र्सवादआधारित क्रान्ति २०औँ शताब्दीको आधाउधीसम्म सफल भयो र बाँकी आधामा असफल भयो भन्ने विश्लेषण छ । माक्र्सवादको प्रयोगकर्ताले काँचो माक्र्सलाई प्रयोग गरे पाको माक्र्स प्रयोग गरेनन् भन्ने ठम्याइ लर्ड देसाईको छ । माक्र्सवाद र लेनिनवादलाई जोडेर हेरिन्छ । तर, माक्र्सवाद दर्शन हो, लेनिनवाद संगठन चलाउने तरिका मात्र । प्रथम विश्वयुद्धमा जुन चरम समस्या आयो, सोसल डेमोक्र्याटले जारलाई पाखा लगाइसकेका थिए । रुसमा क्रान्ति फेब्रुअरीमै भएको थियो । यसलाई लेनिनले बुर्जुवा क्रान्ति भनिदिए । अक्टोबरमा गएर पेसेवर क्रान्तिकारीले संगठित भई अस्थिरता ल्याएर सत्ता कब्जा गरेका थिए । भन्नलाई सर्वहाराको अधिनायकत्व भनिए पनि पोलिटब्युरोको अधिनायकत्व थियो । अझ पोलिटब्युरोमा महासचिवको अधिनायकत्व थियो । स्टालिनको पालामा आइपुग्दा उनको बोली नै कानुन भइसकको थियो । क्रमशः लेनिनले देखाएको बाटोअनुसारै क्रान्ति भयो । पेसेवेर क्रान्तिकारीले सत्ता कब्जा गरे, जंगबहादुरको स्टाइलमा । जंगबहादुरले भाइलाई संगठित गरी विरोधीलाई काटेर सत्ता कब्जा गरेका थिए । लेनिनवादमा मार्क्सवादको अंश कमै भेटिन्छ । यसैले त देसाई भन्छन्– बर्लिन पर्खाल ढल्नु भनेको माक्र्सले लेनिनसँग लिएको बदला हो । कब्जा गरिएको सत्ता टिकाउन एउटा वादको जामा पहि-याउन जरुरी थियो, यसैले माक्र्सवाद भनियो । मार्क्सवाद लेनिनवाद भन्नु नै गलत हो । लेनिनवादको माक्र्सवादसँग टाढाको साइनो मात्रै छ ।

यहाँका कम्युनिस्टले मार्क्सवादलाई धर्मको रूपमा ग्रहण गरे, अन्धभक्ति देखाए, तर त्यस्तो धर्मभिरू भए, जो पूजापाठ आदिमा धार्मिक देखिन्छ, तर कर्म धर्मले देखाएको भन्दा उल्टो गर्छ

पहिलो विश्वयुद्धको खरानीमा कम्युनिस्टले रुस र पूर्वी युरोप कब्जा गरे । दोस्रो विश्वयुद्धमा माओ, होची मिन्ह, किम इल सुङको नेतृत्वमा चीन, भियतनाम, उत्तर कोरियामा सत्ता कब्जा भयो । क्युबाको अवस्था फरक हो । बातिस्तालाई सिध्याएर स्पेनिस प्रभाव पाखा लगाउन अमेरिकाले पनि सहयोग गरेको थियो । लेनिनको शैलीमा सत्ता कब्जा गरी सत्ता कायम राख्न अनुशासित पेसेवेर क्रान्तिकारी संगठन चाहिन्छ । कमान्डरप्रति अगाध विश्वास चाहिन्छ । भियतनाममा होची मिन्ह राष्ट्रपति भएपछि राष्ट्रपति निवासमा बस्न थाले । तर, जंगलमा गुरिल्ला युद्ध गर्दै हिँडेका उनलाई आलिसान राष्ट्रपति निवासको भव्य पलङमा निद्रा लागेन । उनले निवासनजिकै बाँसको छाप्रो बनाउन लगाए, सामान्य खटियामा सुत्न थाले । यसरी कमान्डरप्रति विश्वास कायम रहने हो । सत्तामा पुग्नासाथ लाखौँको पलङ र उपचार गर्न अमेरिका पुग्न थालेका कमान्डरलाई त फौजले हामीलाई सिटामोल छैन, तिमीचाहिँ उपचार गर्न अमेरिका ? भनेर प्रश्न गर्छ । 

समाजको वास्तविकता र साम्यवादी दर्शन
नेपालमा पहिचानको बहस धेरै चल्यो । तर, जातीय पहिचानको बहस भयो । जबकि परम्परागत रीतिरिवाज, संस्कृति आदिका पहिचान महत्वपूर्ण छन् । यसमा पनि वामपन्थी विरोधाभाषमै छन् । तिनले जातीय पहिचान, जातीय आरक्षण आदिको वकालत गर्छन् । बरु कमल थापा नेतृत्वको राप्रपा र क्षेत्री समाजले वर्गको आधारमा गरिबलाई आरक्षणको माग गरे । सारमा भन्दा भौतिकवादले होइन, आदर्शले निर्देशित गरेको समाज छ, हाम्रो । एउटा अध्ययनअनुसार सन् २०१० सम्म हिन्दू राष्ट्र चाहिन्छ भन्ने ६० प्रतिशतजति थिए । अहिले ७४ प्रतिशत छन् । मान्छेको विचार कब्जा गर्ने त अरू नै चिज रहेछ । संस्कृति, परम्परा आदि । परम्परा, संस्कृतिमा हठात् हस्तक्षेप गरी क्रान्तिकारी भइने भ्रम छ । भारतमै सबरीमाला मन्दिरमा हस्तक्षेप गर्दा ठूलो प्रतिक्रिया भयो । महिलाको प्रवेश निषेधित भयो भन्दैमा हस्तक्षेप गरिहाल्नुहुँदैन । त्यसो त कहीँ-कहीँका मन्दिरमा विवाहित पुरुषलाई पनि प्रवेश निषेधित छ । अर्को कुरा, परिवर्तनको अभियानमा भित्रिया नै हुनुपर्छ, बाहिरियाको प्रेरणा देखिए प्रतिकार हुन्छ । योगमायाको विद्रोहले सतीप्रथा अन्त्य गर्ने अभियान सफल हुनुको कारण त्यो अर्गानिक थियो, बाहिरियाको प्रेरणा थिएन । अहिलेजस्तो कुनै डोनरको सहयोगमा भएको भए त्यति प्रभावकारी हुन्थेन । हाम्रा सामाजिक आन्दोलनमा अहिले यही समस्या छ ।

नेपाली अर्थराजनीतिको वास्तविकता 
रेमिट्यान्सको योगदान जिडिपीमा ३० प्रतिशत छ । अहिले श्रम बेचेर चल्ने राजनीति, मोज गर्ने जनप्रतिनिधि भएको छ । उद्योग पुँजीबाट चलेको छैन । म्यानपावरले पठाएका श्रमिकको कमाइबाट चलेको छ । नवदास युगको आभाष हुन्छ  । नेपालमा जलस्रोतलाई समस्या बनाउँदै गरिबी बेचेर खाने काम भयो । औद्योगीकरण गर्ने हो भने विद्युत् र पानी रणनीतिक स्रोत हो, व्यापारिक उत्पादन होइन । यहाँ उत्पादन हुने बिजुली बाहिर बेचेर बाहिर उद्योग खुल्छन् कि नेपालमा ? सरकारले लगानी गर्नुपर्ने जलाशययुक्त योजना गेजुवा, जिएमआरलाई टक्र्यादिइएको छ । बाहिर बेच्ने सम्झौता गरिएको छ । अनि शतप्रतिशत निजी लगानी भइरहेको ठाउँमा सरकारले लगानी गर्ने, प्रधानमन्त्रीले सेयर किन्ने भइरहेको छ । विकृत वामविचारले देशलाई औपनिवेशिक मोडलमा लैजाँदै छ । बुढीगण्डकी, अरुण, माथिल्लो कर्णाली विदेशी कम्पनीलाई सुम्पनुलाई औपनिवेशिक मोडल नै भन्नुपर्छ । र, नेपालमा चलेको वामपन्थ होइन, हामपन्थ हो । हामपन्थको बाटो लागेर नेपालीले खान पाउने होइन, विदेशीले हाम पार्ने हुन् ।