
ट्याटुले शरीरलाई सुन्दर देखाउने काम गर्छ । मानिसहरू आफ्नो शरीरमा आफूलाई मन पर्ने जनावर, भगवान्, मन पर्ने व्यक्तिलगायतका चित्र वा नाम खोपाउन रुचाउँछन् । तर, सबैले ट्याटु खोप्न मिल्दैन । ट्याटु खोप्नुअघि आफ्नो स्वास्थ्य जाँच गर्न आवश्यक छ ।
शारीरिक रूपमा अशक्त तथा सुगर, ब्लडप्रेसरजस्ता समस्या भएको अवस्थामा ट्याटु खोप्नु उचित हुँदैन । सुगर भएका व्यक्तिले ट्याटु खोपाउँदा निको नहुने खतरा हुन्छ । त्यसैले तपाईंको शरीरमा सुगर ब्यालेन्समा छ भने मात्रै खोप्दा हुन्छ । ब्लडप्रेसरको समस्या भएका व्यक्ति फेन्ट हुन सक्ने खतरा हुन्छ । त्यसैले यस्तो समस्या भएका व्यक्तिले ट्याटु नखोप्दा हुन्छ ।
जहाँ ट्याटु खोप्दै हुनुहुन्छ, त्यहाँका आर्टिस्टले काम गर्ने तरिका, औजारको सरसफाइलगायत विषयमा पहिल्यै विचार पुर्याउनुपर्छ । उसले प्रयोग गर्ने औजार कस्तो छ, त्यसको निर्मलीकरण कसरी गरिएको छ भन्नेबारे बुझ्नुपर्छ । यस्ता विषयमा ख्याल गरिएन भने शरीरमा विभिन्न संक्रमण हुन सक्छ । ट्याटु खोप्ने मेसिनलगायतका औजार सेनिटाइज गर्नुपर्छ ।
ट्याटु खोपेको ७–१० दिनसम्म घाउ आलै हुन्छ । यो अवधिमा एकदमै सचेत हुनुपर्छ । यस अवस्थामा लापर्बाही गर्दा विभिन्न संक्रमण हुन सक्छ । ट्याटुको घाउ ओभानो नराख्दा तथा भिज्दा ब्याक्टेरियाले संक्रमण गर्न सक्छ । घाउमा पसिना पनि जम्न दिनुहुँदैन ।