१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ७ आइतबार
  • Sunday, 11 May, 2025
तेजराज भट्ट काठमाडाैं
२o८o श्रावण ७ आइतबार o७:o७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चुरेसँग जोडिएको सामुदायिक वनमा व्यापक फँडानी

Read Time : > 1 मिनेट
तेजराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ७ आइतबार o७:o७:oo

तस्कर समूहले सालका १६ रूख काटेको भेटियो, दुईजना पक्राउ

कैलालीको गोदावरी नगरपालिका– १२, स्थित रातोपानी सामुदायिक वनमा व्यापक फँडानी भएको छ । चुरेसँग जोडिएको सामुदायिक वनमा तस्कर समूहले करिब दुई दर्जन रूख कटान गरेर काठ तस्करी गरेको स्थानीयले बताएका छन् । सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा केही सातायता वन फँडानी भएको उपभोक्ताको दाबी छ ।

वन फँडानी भएपछि स्थानीय उपभोक्ताको टोलीले वन क्षेत्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सालका २२ वटा रूख कटान भएको आफूहरूले भेटेको उपभोक्ता बम मिजारले बताए । ‘रूख काटेर वनमै काठ चिरान गरेको देखियो । हामीले २२ वटा रूख काटेको फेला पा¥यौँ,’ उनले भने, ‘वनभित्र अन्यत्र पनि रूख काटिएका होलान् ।’

रूख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समूहको कार्यसमितिका दुईजना सदस्य पक्राउ परेका छन् । उपभोक्ता समितिका सदस्य टेकराज ओझा र कर्णबहादुर विकलाई पक्राउ गरेर वन मुद्दा चलाइएको सबवन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ ।

स्थानीय उपभोक्ताले सामुदायिक वनका अध्यक्षसहित पदाधिकारीको मिलेमतोमा वन फँडानी भएको आरोप लगाएका छन् । सामुदायिक वनका पदाधिकारीको संलग्नताविना ठूलो संख्यामा रूख कटान सम्भव नभएको उपभोक्ता मिजारले बताए । ढलापडा रूखको केही क्युफिट काठ कटानको अनुमति लिएर वनका पदाधिकारीले फँडानी गरेको उनले बताए । ‘कार्यसमितिकै पदाधिकारीको संलग्नता देखिएको छ । यसबारे छानबिन हुनुपर्छ,’ अर्का उपभोक्ता भीमबहादुर विकले भने, ‘वन कार्यालयले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याओस् ।’ वनका कर्मचारीको समेत मिलेमतो रहेको उनले दाबी गरे । सामुदायिक वनबाट काठ तस्करीका घटना पटकपटक हुने गरेका विकले बताए ।

वन फँडानी भएको खबरपछि गएको टोलीले दुईजनालाई पक्राउ गर्नुका साथै दुई सय थान चिरान कडी र ५० वटा फ्रेमसमेत बरामद गरेको सबवन डिभिजन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले जानकारी दिए । उनले वन फँडानीमा सामुदायिक वनका पदाधिकारीसमेत संलग्न रहेको देखिएको बताएका छन् । ‘कार्यसमितिका दुई सदस्य पक्राउ परेका छन् । केही पदाधिकारीको पनि संलग्नता देखिएको छ । मुद्दा चलाउने तयारीमा छौँ,’ उनले भने । अनुगमनका क्रममा १६ वटा रूख काटेको भेटिएको कडालले बताए । यसबारे बुझ्न खोज्दा अध्यक्ष कैलाश विकसँग सम्पर्क हुन सकेन ।

मन्त्रालयद्वारा छानबिन समिति गठन
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रातोपानी सामुदायिक वनमा भएको वन फँडानीबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सचिव वेदकुमार ढकालले मन्त्रालयका उपसचिव भरतप्रसाद भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए । 

सामुदायिक वनका उपभोक्ताको लिखित उजुरी आएपछि मन्त्रालय आफैँले छानबिन थालेको उनले बताए । ‘सामान्यतया वन निर्देशनालयलाई छानबिन गर्न भन्थ्यौँ । तर, उपभोक्ताको पत्र हेर्दा गम्भीर लागेर मन्त्रालय आफैँले छानबिन अगाडि बढाएको हो,’ सचिव ढकालले भने, ‘निर्देशनालयबाट पनि समितिमा त्यो क्षेत्र नहेर्न व्यक्ति राख्न भनेका छौँ ।’

उपभोक्ताको गुनासोपछि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सचिव ढकालको टोलीले यसअघि रातोपानी सामुदायिक वनमा रूख कटान भएको क्षेत्रको निरीक्षणसमेत गरेको थियो । निरीक्षणका क्रममा मन्त्री धामीले छानबिन गरेर वन फँडानीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताए । उनले वन फँडानी भएको देखिएको भन्दै फँडानी गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको रातोपानी सामुदायिक वन चुरेसँग जोडिएको महत्वपूर्ण भावर क्षेत्र हो ।