मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण ६ शनिबार
  • Monday, 31 August, 2026
२o८o श्रावण ६ शनिबार १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लहान प्रादेशिक अस्पतालमा एन्टिरेबिज खोपको चरम अभाव

महँगोमा किनेर खाेप लगाउन बाध्य बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ६ शनिबार १७:२३:oo

सिराहाको लहानस्थित प्रादेशिक अस्पतालमा कुकुर, बिरालो, स्याल, बाँदरजस्ता पशुले टोक्दा निःशुल्क रूपमा लगाइने एन्टिरेबिज खोपको चरम अभाव भएको छ। 

अस्पतालमा पछिल्लो एक हप्तादेखि खोप अभाव भएपछि दैनिक करिब डेढ दर्जन बिरामीहरूलाई त्यतिकै फर्काउन बाध्य भएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील कुशवाहाले अस्पतालमा एन्टिरेबिज खोपको मौज्दात नहुँदा समस्या भएको बताए। ‘मधेस प्रदेशको राजधानी जनकपुरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग दिनहुँजसो मागिरहेका छौं, तर आपूर्ति भएको छैन भन्ने जवाफ मात्र पाउने गरेका छौँ।’

सरकारी अस्पतालमा निःशुल्क रूपमा पाइने खोप नहुँदा कतिपय बिरामीका आफन्तले मुस्किलले ६ सय रुपैयाँ पर्ने एक डोज खोप एक हजारदेखि दुई हजार रुपैयाँसम्म किनेर लगाउने गरेको आफूले पनि सुनेको उनले बताए। अस्पतालबाहिरका फार्मेसीहरूले सरकारी खोप नआएको मौका छोपेर महँगो मूल्यमा खोप बेचिरहेकाे बिरामीका आफन्तहरू बताउँछन्।

सिराहा प्रादेशिक अस्पतालका मेसुसमेत रहेका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. नागेन्द्र यादवले भने लहान प्रादेशिक अस्पताललाई तत्काल ५० भाइल खोप लैजान भने पनि बढी माग गरी नलगेको बताए। ‘लहानका मेसुलाई म स्वयंले फोन गरेर तत्काल ५० भाइल लगेर काम चलाउँदै गर्नुहोला, आपूर्ति भएपछि आवश्यकताअनुसार पठाउँछौँ भने पनि शुक्रबारसम्म लग्नुभएको छैन,’ उनले भने, ‘५० भाइल खोपले करिब अढाइ सय बिरामीका लागि एक हप्तासम्म धान्न सकिन्छ।’

संघीय सरकारको स्वास्थ्य सेवा विभागले खोप खरिदका लागि टेन्डर आह्वान गरिसकेको भए पनि आपूर्ति केन्द्रमा इमर्जेन्सीका लागि साढे चार सय भाइल खोप मौज्दात रहेको र प्रदेशअन्तर्गतका आठवटा अस्पताललाई तत्काल ५० भाइलका दरले दिइने उनले बताए। त्यहीअनुरूप मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० भाइल खोप दिएर पठाइएको छ।