
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान थालेको छ । जिल्ला–जिल्लामा वृक्षरोपण गर्दै सोमबार अभियान सुरु गरिएको नेतृ मानुषी यमी भट्टराईले बताइन् । अध्यक्ष भट्टराईले गोरखामा वृक्षरोपण गरेर अभियानको सुरुवात गरेका हुन् । उनका अनुसार अभियान ६ महिनासम्म चल्नेछ ।
अभियानको नेतृत्व कोसी प्रदेशमा हिसिला यमी, मधेसमा महिन्द्रराय यादव, बागमतीमा गंगा श्रेष्ठ, गण्डकीमा भट्टराई, लुम्बिनीमा गोविन्द चौधरी, कर्णालीमा भक्तबहादुर शाह र सुदूरपश्चिममा दुर्गा सोबले गर्नेछन् ।
प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमसमेत हुने भट्टराईले बताइन् । कोसीमा १५ साउन, मधेसमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ साउनमा प्रशिक्षण हुनेछ ।