
ललितपुर महानगरपालिकाले सडकको धुलो पखाल्न दुईवटा ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोगमा ल्याएको छ । पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्छ ।
सडकको किनारामा रोपिएका विरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत यसको प्रयोग गरिने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।
उनले भने, ‘यो एउटा साधनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवा पखाल्ने काम गर्छ ।’ महानगरप्रमुख महर्जनले सफा र हरियाली स्मार्ट सडकको अवयव भएको बताउँदै सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि यो साधन खरिद गरेको बताए ।
ललितपुर महानगरले एक करोड २२ लाख ८५ हजारमा ‘रोड वासर कम स्प्रिङकलर खरिद गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले रोड वासर कम स्प्रिङकलरले सहरलाई सफा बनाउन र सुन्दर बनाउन सहयोग गर्ने बताए । उनले भने, ‘महानगरपालिकाभित्र आवश्यकताअनुसार समय तालिका बनाएर प्रयोगमा ल्याउँछौँ ।’
प्राविधिकहरूका अनुसार यसले आगलागीको वेला आगो निभाउन सहयोग गर्नेछ । ललितपुर महानगरले यसअघि अव्यवस्थित ढंगबाट टाँगिएका तार काट्ने अग्लो मेसिनसमेत प्रयोगमा ल्याइसकेको छ ।