Skip This
निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय लाभान्वित, शिविरमै पाँचजनाको प्लास्टिक सर्जरी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format ११:५o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय लाभान्वित, शिविरमै पाँचजनाको प्लास्टिक सर्जरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५o:oo

काभ्रेका दुई स्थानमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ३१ जना विभिन्न रोगका बिरामीहरू लाभान्वित भएका छन्। चार दिनसम्म चलेको शिविरमा पाँचजनाको सामान्य शल्यक्रिया पनि गरिएको हो।

जिल्लाको भुम्लु गाउँपालिकाको दोलालघाट र रोसी गाउँपालिकाको मंगलटारमा सिंगापुर रेडक्रसको र प्रारम्भ नेपालको प्राविधिक सहयोगमा तथा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको समन्वयमा शिविर सञ्चालन भएको थियो।

मंगलबार र बुधबार जिल्लाको भुम्लु गाउँपालिकास्थित स्वास्थ्य चौकी र बिहीबार र शुक्रबार जिल्लाको रोसी गाउँपालिका– ९ मंगलटारमा शिविर सञ्चालन भएको प्रारम्भ नेपालका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले जानकारी दिइन्। 

उक्त शिविरमा भुम्लु र रोसीमा भएको चारदिने शिविरमा एक हजार पाँच सय ३१ जनाले सेवा लिएको क्षेत्रीले बताइन्। भुम्लुमा भएको शिविरमा सात सय ५३ जना र रोसीमा सात सय ७८ जनाले सेवा लिएको क्षत्रीले जानकारी दिइन्।

स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, अकुपंचर, प्लास्टिक सर्जरी, जनरल फिजिसियन एवं मुटुरोग विशेषज्ञद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो।

हाडजोर्नीका बिरामी बढी

उक्त चार दिनसम्म चलेको शिविरमा सबैभन्दा बढी हाडजोर्नीको उपचार भएको बुझिएको छ । भुम्लुमा भएको शिविरमा हाडजोर्नीका बिरामी दुई सय ४७ जना आएका थिए भने रोसीमा भएको शिविरमा हाडजोर्नीसम्बन्धी दुई सय ५७ जना आएका थिए। 

कुल एक हजार पाँच सय ३१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा पाँच सय चारजना त हाडजोर्नीको बिरामी आएका थिए।

त्यसैगरी भुम्लुमा भएको शिविरमा स्त्रीरोग एक सय ३० जना, सामान्य चिकित्सा एक सय ९० जना, मुटुरोग ४१ जना र अकुपंचर एक सय ४५ गरी कुल सात सय ५३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो  भने रोसी गाउँपालिको मंगलटारमा भएको शिविरमा मुटु रोगका ५७ जना, स्त्रीरोगका ९९ जना, अकुपंचर एक सय ६७ जना र पाँचजनाको सामान्य शल्यक्रिया गरी कुल ७सातसय ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

पाँचजनाको प्लास्टिक सर्जरी

रोसी गाउँपालिकामा भएको शिविरमा पाँचजनाको सामान्य शल्यक्रिया गरेको क्षेत्रीले जानकारी दिइन् । वर्षौँदेखि आगोले पोलेर शरीर बिग्रेका र कान छिनेका, नाकको प्वाल बिग्रेकाहरूको प्लास्टिक सर्जरी गरेको उनले बताइन्।
 
किस्ट अस्पताल बर्नस प्लास्टिक माइक्रो सर्जरी विभागका सहप्राध्यापक डाक्टर सुरेन्द्रजंग बस्नेतको नेतृत्वमा शल्यक्रिया गरेको गरिएकाे थियाे। 
स्त्रीरोग विशेषज्ञ डा. रविना प्रधानांगले आङ खस्ने रोगको समस्या विकराल देखिएको बताएकी छिन् । उनले आङ खस्ने समस्याका कारण रिङ राखेको वर्षौँ भइसकेको, तर नफेरेको पाइएको जानकारी दिइन्। 

बिरामीलाई स्वास्थ्यकर्मीले रिङ फेर्नुपर्छ भनेर जानकारी पनि नदेको पाइएको डा. प्रधानांगले जानकारी दिइन्। ‘ग्रामीण भेगका महिलामा आङ खस्ने रोगको समस्या विकराल देखियो। हामीलाई त एकपटक राखेपछि पुग्छ भनेको छ भन्ने खालको बिरामी धेरै पायौँ,’ स्त्रिरोग विशेषज्ञ डा. प्रधानांगले भनिन्, ‘पाठेघर समस्या भएको बुढापाकादेखि युवतीहरूमा समेत संक्रमण भएको पाएका छौँ, सरसफाइको कमीले गर्दा त्यस्तो भएको हो।’

सिंगापुरका डाक्टरद्वय बर्नड र डा. सोफियाले स्वास्थ्य क्षेत्रमा सिंगापुर र नेपालमा धेरै फरक पाएको बताएका छन्।  ‘नेपालको स्वास्थ्य संस्थामा नर्स भेट्नै गाह्रो रै’छ भने डाक्टरको त कुरै छाडौँ,’ सोफियाले भनिन्, ‘सिंगापुरमा त्यस्तो हुँदैन।’

रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जनताको पहुँचमा स्वास्थ्य सुविधा हुनुपर्छ भन्ने रोसी सरकारको उद्देश्य रहेको बताए। त्यसका लागि गाउँपालिका आफैँले पनि स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालन गर्दै आएको र त्यसको अलवा संघसंस्थाहरूसँग समन्वय गरेर अगाडि बढेका लामाले बताए। 

‘यस्तो शिविर टोलटोलमा लान सके मात्र प्रभावकारी हुने भएर आगामी दिनहरूमा टोलटोलमा लाने तयारी छ,’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘जनतासँग आर्थिक समस्या र जनचेतनाको कमीका कारण नागरिकहरूले रोग लुकाएर बसेका छन् । समाजमा जनचेतना फैलाएर आफ्नो जस्तोसुकै रोग पनि निर्धक्क भन्न र उपचार गर्न सक्ने बनाउनुपर्छ।’ 

 

शिविरमा सिंगापुरका आठजना र पाँचजना विशेषज्ञ डाक्टरहरूसहित २२ जना स्वास्थ्यकर्मीको टोली संलग्न थियो।