१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o६:१o:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राजपरिवारले तालिम गर्ने जहाज र हेलिकोप्टर सर्वसाधारणका लागि खुला 

Read Time : > 5 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:१o:oo

तत्कालीन राजा वीरेन्द्र तथा राजपरिवारका सदस्यले पाइलट तालिम लिने तथा घुम्नका लागि प्रयोग गर्दै आएको हेलिकोप्टर र जहाज सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी दरबार परिसरमा राखिएको हेलिकोप्टर र जहाज बिहीबारदेखि सर्वसाधारणका निम्ति खुला गरिएको हो । जहाज र हेलिकोप्टर राखिएपछि अवलोकनकर्ताको भिड बढेको छ । 

हेलिकोप्टर र जहाज राखिएको ठाउँ राजदरबारको मुख्य भवनको पछाडि हो । त्यस ठाउँमा घोडाको रेस हुन्थ्यो, त्यसबाहेक चेसलगायत विभिन्न खेल प्रतियोगिता हुन्थे । तर, अहिले उक्त चौरमा घाँस छ भने बीच भागमा हेलिकोप्टर र जहाज राखिएका छन् । 

हेलिकोप्टर र जहाज राखिएको चौरलाई वरिपरि तारबार गरिएको छ । जहाज र हेलिकोप्टर राखिएको ठाउँ पिच भए पनि दायाँबायाँ पानी भरिएको छ । सोही कारण सर्वसाधारणले नजिकैबाट जहाज र हेलिकोप्टर नियाल्न पाउँदैनन् । तर, दुई–तीन महिनामै चौरलाई पार्क बनाइने र फूल तथा बोटबिरुवा रोपिने सूचना अधिकारी थापाले बताए ।

उनले पछिल्लो समय जहाज र हेलिकोप्टर पनि अवलोकनका निम्ति खुला गरिएकाले आगन्तुकको संख्या बढ्ने बताए । ‘अहिले जहाज र हेलिकोप्टर अलि परैबाट मात्र हेर्न सकिन्छ, नजिकै जान ठाउँ व्यवस्थित छैन,’ उनले भने, ‘अब यसलाई व्यवस्थित बनाएर नजिकैबाट जहाज र हेलिकोप्टर अवलोकन गर्न सक्ने बनाउँछौँ ।’

नारायणहिटीमा दैनिक दुई हजारदेखि तीन हजारसम्मले अवलोकन गर्छन् । उनीहरूले दरबार क्षेत्रमा रहेका सबैजसो ठाउँ र वस्तु हेर्न पाउँछन् । त्यस्तै, नक्सालपट्टि रहेको गणतन्त्र स्मारक पनि अवलोकनका निम्ति खुला भइसकेको छ । नारायणहिटीकै शुल्क तिरेको टिकट प्रयोग गरी त्यहाँ छिर्न पाइन्छ । 

विगतका वर्षका तुलनामा पछिल्लो समय दरबार अवलोकनका लागि आउनेको संख्या बढेकाले यसलाई थप सजावट र व्यवस्थित बनाउन आवश्यक रहेको सूचना अधिकारी थापा बताउँछन् । उनका अनुसार बजेट सीमित हुँदा दरबार परिसरमा बिरुवा रोप्ने, सजाउने र फूल रोप्ने कार्य गर्न कठिन भइरहेको छ । नारायणहिटीमा प्रवेश गर्दा दुई सय रुपैयाँ शुल्क लिइन्छ । त्यस्तै, विद्यार्थीलाई ५० रुपैयाँ र ज्येष्ठ नागरिकका लागि शुल्क लाग्दैन । त्यस्तै, विदेशी पर्यटकलाई पाँच सय रुपैयाँ लाग्छ । 

पुराना संरचना मर्मत गर्नसमेत कठिन भइरहेको छ । तर, यसपटक सरकारले नीति तथा कार्यक्रममा दरबार परिसरमा रहेका पुराना संरचना पुनर्निर्माणलाई पनि समेटेकाले पुराना भवन पुनर्निर्माण हुने सूचना अधिकारी थापाको भनाइ छ । ‘दरबार परिसरमा रहेका केही पुराना संरचना पुनर्निर्माणका लागि सरकारले यसपटक कार्यक्रममा समेटेको छ,’ उनले भने, ‘पुरानै शैलीमा दरबार क्षेत्रमा रहेका संरचनाको संरक्षण गर्छौँ ।’ 

सन् १९८१ मा बनेको हेलिकोप्टर : विपतमा प्रयोगदेखि राजापरिवारका सदस्यले तालिमसमेत लिए 
दरबारमा राखिएको हेलिकोप्टर नेपाली सेनाको हो । यो हेलिकोप्टर १९८१ मा एरोसपटाइल कम्पनीले फ्रान्समा निर्माण गरेको थियो । यसले १३ जुन १९८२ देखि नाइन एन–आरएएफका रूपमा भिभिआइपी उडान गर्ने गरेको थियो । यो हेलिकोप्टर १ जुलाई १९९१ मा नेपाली सेनाको ११ नम्बर बाहिनी अड्डालाई हस्तान्तरण गरिएको थियो । नेपाली सेनाले यसलाई विशेष प्रयोजनमा प्रयोग गर्दै आइरह्यो । 

सेनाको गनसिप, तोराबोराका साथै अन्य हवाई मिसनमा यो हेलिकोप्टर प्रयोग गरियो । यसबाहेक नेपालमा हुने विपत्जन्य घटनामा पनि प्रयोग भयो । नेपाली सेनाले विपत् व्यवस्थापन, खोज, उद्धार, राहत वितरण र राजपरिवारमा हुने महत्वपूर्ण महोत्सव तथा समारोहमा प्रयोग गरेको थियो । यसबाहेक राजपरिवारका सदस्य घुम्न जाने साधन पनि यही थियो । महोत्सव तथा समारोहमा ब्यानर डिस्प्ले फ्लाइटका रूपमा यही हेलिकोप्टर प्रयोग गरिन्थ्यो ।

यो हेलिकोप्टरबाट नेपाली सेनाले नेपालमा हुने आधारभूत पाइलट तालिम लिन्थ्यो भने राजपरिवारका सदस्यले पाइलट सीप र तालिम लिने गरेका थिए । यसले १९ फेब्रुअरी २०१५ मा अन्तिम उडान गरेको थियो । यो हेलिकोप्टरले सञ्चालन अवधिभर नौ हजार सात घन्टा उडान भरेको छ । 

त्रिभुवन विमानस्थलमा ग्राउन्डेड गरेर राखिएको यो हेलिकोप्टर ०७६ देखि नारायणहिटी दरबार परिसरमा संग्रहका रूपमा राखिएको छ । राज परिवारले प्रयोग गरेको र विपत्जन्य घटनामा प्रयोग भएकाले यो हेलिकोप्टरलाई संग्रहालयमा राखिएको तथा यसलाई खिया लाग्न र थप बिग्रनबाट बचाइने नारायणहिटी दरबार संग्रहालय विकास समिति सूचना अधिकारी थापाको भनाइ छ । 

राजपरिवार यो हेलिकोप्टर लिएर हिमाली र पहाडी जिल्लामा समेत पुगेको थियो । काठमाडौं आसपासका नागार्जुन, शिवपुरीलगायत ऐतिहासिक ठाउँमा जाँदा यही हेलिकोप्टर प्रयोग हुन्थ्यो । ‘यो हेलिकोप्टर राजपरिवारका सदस्यले पाइलट तालिम लिन पनि प्रयोग गर्नुभयो,’ नारायणहिटी दरबार संग्रहालय विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले भने, ‘निजी घुमघाम तथा अवलोकनमा जाँदा राजपरिवारका सदस्य यही जहाज र हेलिकोप्टर प्रयोग गर्नुहुन्थ्यो ।’

श्री ५ सरकारले किनेको दुई अर्ब ६७ करोडको जहाज चल्दाचल्दै ग्राउन्डेड 
हाल दरबार संग्रहालयमा राखिएको नेपाली सेनाको विमान पनि राजपरिवारले प्रयोग गर्दै आइरहेको थियो । यो जहाज ०७७ मा नारायणहिटीमा लगेर ग्राउन्डेड गरी राखिएको हो । यो जहाजमा अन्य यात्रुवाहक जहाजमा जसरी सिट राखिएको छैन । राजपरिवारले यसका सिट मोडिफाई गरी जहाजभित्र सुरक्षाकर्मी र आफूहरू बस्ने सोफा तथा कम्फर्टेबल सिट राखेका थियो ।

०३१ मा तत्कालीन श्री ५ सरकारद्वारा दुई अर्ब ६७ करोड पाँच लाख ५४५ मा बेलायतबाट यो जहाज खरिद गरी नेपाल भित्र्याइएको थियो । नाइन एन–आरएसी रजिस्ट्रेसन नम्बर रहेको यो जहाज नितान्त भिभिआइपी उडानको निम्ति खरिद गरिएको थियो । १ वैशाख ०३८ मा तत्कालीन शाही नेपाली सेनालाई जहाज हस्तान्तरण भएको थियो । यो जहाजमा तत्कालीन राजपरिवार र अन्तर्राष्ट्रिय प्रमुखलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने गरिएको थियो । 

नेपाली सेनाले राजपरिवारको आवश्यकता र निर्देशनअनुसार यो जहाज सञ्चालन गर्दै आएको थियो । राजतन्त्रपछि पनि यो जहाजलाई सेनाले महत्वपूर्ण उडानमा प्रयोग गर्दै आइरहेको थियो । त्यसपछि २००१ मा भारत तथा २०१५ मा पाकिस्तानमा भूकम्प जाँदा यस जहाजले नेपालका तर्फबाट राहत सामग्री पुर्‍याएको थियो । नेपालमा ०७२ मा गएको भूकम्पका वेला यो जहाजले अन्तिम उडान भरेको थियो । यो जहाजले हालसम्म नौ हजार ८१२ उडान भरेको छ । 

सरकारले राजपरिवारको इतिहाससँग जोडिएको यो विमानलाई संरक्षणका लागि नारायणहिटी दरबार परिसरमा लगेको थियो । तर, उड्ने अवस्थामै रहेको जहाजलाई थन्क्याएको भन्दै कतिपयले विरोधसमेत गरेका थिए । दरबार क्षेत्रमा राखिएको जहाज अब सर्वसाधारणले अवलोकन गर्न सक्नेछन् । 

राजपरिवारसँग जोडिएको जहाज भएकाले यसलाई चल्दाचल्दैको अवस्थामा संरक्षण गरिएको नारायणहिटी दरबार संग्रहालय विकास समितिका सूचना अधिकारी थापाको भनाइ छ । तर, नेपाली सेनाका सहायक रथी सूचना अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार जहाज र हेलिकोप्टर चालू अवस्थाका होइनन् । 

सो जहाज नेपाली सेनाको सैनिक हवाई निर्देशनालयमा कार्यरत पाइलटले उडान भर्दै आइरहेका थिए । जहाज पाइलट तेजेन्द्रजंग थापालगायतको टोलीले उडान भर्दै आइरहेको थियो । यी दुवै मर्मतसम्भार गर्नुपर्ने अवस्थाका हुन् । तर, संग्रहालयमा राखिने भएपछि मर्मत गरिएन । ‘जहाज र हेलिकोप्टर चालू अवस्थाका होइनन्, सो जहाज नेपाली सेनाको सैैनिक हवाई निर्देशनालयमा कार्यरत पाइलटले उडान भर्दै आउनुभएको थियो,’ उनले भने । 

रानी ऐश्वर्यका निजी बगैँचा पनि खुला 
नारायणहिटी दरबार परिसरमा रहेको रानी ऐश्वर्यको निजी बगैँचा पनि बिहीबारदेखि खुला गरिएको हो । यो बगैँचा रानी ऐश्वर्यले ०४७–०५१ को बीचमा निर्माण गरेकी थिइन् । तर, राजतन्त्रको अन्त्यसँगै उक्त बगैँचा झाडीमा परिणत भएको थियो । नारायणहिटी दरबार संग्रहालय हेरचाह समितिले सो बगैँचालाई दुई वर्षयता सजावट गरेर पुरानै अवस्थामा पुर्‍याएको हो । 

समितिका सूचना अधिकारी थापाका अनुसार यो बगैँचा रानी ऐश्वर्यकै चाहनाअनुसार बनेको थियो । बगैँचाको डिजाइन र सजावट पनि उनको इच्छाअनुसारकै हो । ‘आफ्नै निजी बगैँचा बनाउने र त्यसमा काम गर्ने उहाँका सोख थियो, सोहीअनुसार बगैँचा बनेको थियो,’ थापाले भने, ‘समय मिलेका वेला उहाँले बगैँचामा गोलमेल र सरसफाइ पनि गर्नुहुन्थ्यो ।’ 

बगैँचाभित्र गोला ढुंगाको झरना छ । रानीले बगैँचामा विश्वमा शान्ति फैलियोस् भन्ने सन्देश दिन स्तम्भ पनि बनाइकी थिइन् । यसबाहेक यो बगैँचाको आकर्षण पञ्चपल्लव रूखले बनेको आरामस्थल हो । दरबार क्षेत्र घुम्ने पर्यटकले अब यस बगैँचामा प्रवेश गर्न पाउनेछन् । तर, यहाँ फोटो खिच्न निषेध गरिएको छ । 

नारायणहिटी दरबार परिसरको बदामेचौरमा राखिएको जहाज र हेलिकोप्टरका आ–आफ्नै कथा 

सरकारले राजपरिवारको इतिहाससँग जोडिएको यो विमानलाई संरक्षणका लागि ०७७ मा नारायणहिटी दरबार परिसरमा लगेको थियो । यो जहाजमा अन्य यात्रुवाहक जहाजमा जसरी सिट राखिएको छैन । राजपरिवारले यसका सिट मोडिफाई गरी जहाजभित्र सुरक्षाकर्मी र आफूहरू बस्ने सोफा तथा कम्फर्टेबल सिट राखेका थियो । ०३१ मा तत्कालीन श्री ५ सरकारद्वारा दुई अर्ब ६७ करोड पाँच लाख ५४५ रुपैयाँमा बेलायतबाट यो जहाज खरिद गरी नेपाल भित्र्याइएको थियो । नाइन एन–आरएसी रजिस्ट्रेसन नम्बर रहेको जहाज भिभिआइपी उडानका निम्ति खरिद गरिएको थियो । यो जहाजमा तत्कालीन राजपरिवार र अन्तर्राष्ट्रिय प्रमुखलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने गरिएको थियो । 

यो हेलिकोप्टर ०७६ देखि नारायणहिटी दरबार परिसरमा संग्रहका रूपमा राखिएको छ, जसलाई फ्रान्सको एरोसपटाइल कम्पनीले १९८१ मा निर्माण गरेको थियो । यसले १३ जुन १९८२ देखि नाइन एन–आरएएफका रूपमा भिभिआइपी उडान गर्ने गरेको थियो । पछि १ जुलाई १९९१ मा नेपाली सेनाको ११ नम्बर बाहिनी अड्डालाई हस्तान्तरण गरिएको थियो । सेनाले विपत् व्यवस्थापन, खोज, उद्धार, राहत वितरण र राजपरिवारमा हुने महत्वपूर्ण समारोहमा प्रयोग गरेको थियो । राजपरिवारका सदस्य घुम्न जाने साधन पनि यही थियो । यसले १९ फेब्रुअरी २०१५ मा अन्तिम उडान गरेको थियो । हेलिकोप्टरले सञ्चालन अवधिभर नौ हजार सात घन्टा उडान भरेको छ । 


 

ad
ad