१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ७ सोमबार o८:२४:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार

त्रिवि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा २० दिनदेखि ताला 

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:२४:oo

केही विद्यार्थी नेताका आडमा त्रिविको सात रोपनी जग्गामा सित्तैमा व्यवसाय गर्ने स्थानीय र व्यापारीको दाउ

विद्यार्थी राजनीतिको चंगुलबाट मुक्त हुन खोजेको त्रिभुवन विश्वविद्यालयमा एकपछि अर्को अवरोध थपिएका छन् । पछिल्लो समय प्रशासनिक र शैक्षिक कार्यमा गति लिँदै गर्दा त्रिविमा फेरि जग्गा भाडासम्बन्धी विवाद आइलागेको हो । 

त्रिवि परिसरको जग्गामा अवैध रूपमा टहरा निर्माण गरी व्यापार व्यवसाय गर्दै आएकालाई हटाउन खोज्दा त्रिविमा ताला लगाइएको छ । विद्यार्थी संगठनका नेता र लामो समयदेखि त्रिविको जग्गा हडपेर टहरामा व्यवसाय गर्दै आएका कीर्तिपुरकै स्थानीयले उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूको तालाबन्दीपछि त्रिवि अस्तव्यस्त बनेको छ । प्रशासनिक कामकाजमा समेत असर परेको छ । 

धर्मकान्त बास्कोटा, उपकुलपति, त्रिवि
थिति बसाल्न खोजेको, तर दिएनन् । उनीहरूले आफूलाई विनाटेन्डर जग्गा गरिखान दिनुपर्ने भनेका छन्, तर यो जग्गा विश्वविद्यालयको हो, राज्यको जग्गा उनीहरूलाई दिन सकिँदैन, हामीले त्यसरी टहरा बनाएकालाई हटाउँछौँ । यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग सहयोग 
मागेका छौँ ।

त्रिवि उपकुलपति धर्मकान्त बास्कोटाले लामो समयदेखि त्रिविको जग्गामा अनधिकृत रूपमा व्यापार गर्दै आएकालाई हटाउन खोज्दा यस्तो समस्या आइलागेको बताए । त्रिविको जग्गा सित्तैमा प्रयोग गर्दै आएकाले तालाबन्दी गरेर कामकाजमा अवरोध गरेको उनको भनाइ छ ।

त्रिवि क्षेत्रमा झन्डै १५–२० वटा टहरा निर्माण गरिएका छन् । त्यसमा कतै क्यान्टिन, कतै पुस्तक तथा फलफूल पसल सञ्चालनमा छन् । यी टहरा निर्माणका लागि प्रशासनसँग सम्झौता भएको छैन । विद्यार्थी राजनीतिको आडमा राखिएको अवैध टहरा र पसल हटाउन त्रिविले ७ जेठमा सूचनासमेत जारी गरेको थियो ।

तर, टहरा बनाएर व्यापार गर्दै आएकाले त्यसको भोलिपल्टदेखि नै तालाबन्दी गरे । त्रिविले यसलाई हटाएर टेन्डर प्रक्रियाबाट क्यान्टिनलगायत पुस्तक पसल सञ्चालन गर्ने तयारी गरेको थियो ।

तर, त्यसमा अवरोध भएपछि कामकाज नै ठप्प हुने अवस्था आएकोे बास्कोटाको भनाइ छ । ‘थिति बसाल्न खोजेको, तर दिएनन्,’ उनले भने, ‘उनीहरूले आफूलाई विनाटेन्डर जग्गा गरिखान दिनुपर्ने भनेका छन्, तर यो जग्गा विश्वविद्यालयको हो, राज्यको जग्गा उनीहरूलाई दिन सकिँदैन, हामीले त्यसरी टहरा बनाएकालाई हटाउँछौँ ।’ 

त्रिविले यस क्षेत्रमा रहेका टहरा र पसल हटाउने सूचना पाएलगत्तै स्थानीय र विद्यार्थी नेतालगायतले ताला लगाएका थिए । त्यसयता तालाबन्दी गर्नेहरू क्याम्पस प्रशासनकहाँ पुगेका छैनन् । सात रोपनीभन्दा बढी क्षेत्रफलमा टहरा निर्माण भएका छन् । यसलाई हटाएर व्यवस्थित क्यान्टिन, पार्क र आरामस्थलसमेत बनाउने त्रिविको योजना छ ।

तर, स्थानीय र विद्यार्थी नेताले अवरोध गर्दै आएकाले योजना अनिश्चित बनेको छ । ‘विद्यार्थी नेताहरूको मिलेमतोमा यो ठाउँमा लामो समयदेखि टहरा निर्माण भइरहेका छन्, त्यसलाई भत्काउन खोज्दा हामीमाथि खनिए,’ बास्कोटाले भने, ‘ताला लगाएपछि बाहिरै बसेर काम गरिरहेको छु ।’ विभिन्न विद्यार्थी नेता, टहरामा पसल राख्दै आएका व्यापारी र कीर्तिपुरका स्थानीयले ताला लगाएका हुन् । त्रिवि उपकुलपति कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई यसबारे जानकारी गराइसकेको छ । अवरोधका कारण यसअघि १२ असारमा भएको त्रिवि वार्षिकोत्सव कार्यक्रम स्मृति भवनमा गरिएको थियो । 

भक्तपुर क्याम्पस प्रमुखको कुर्सी र नेम प्लेट २२ जेठदेखि रूखमा

क्याम्पस प्रमुख नियुक्तिको विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पसमा २२ जेठदेखि उत्पन्न भएको विवाद अझै समाधान भएको छैन । विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखको कुर्सी र नेम प्लेट रूखमै झुन्ड्याएका छन् । निमित्त क्याम्पस प्रमुख सहप्राध्यापक सुदर्शना शाक्य र क्याम्पस प्रमुखका रूपमा नवनियुक्त सहप्राध्यापक कविता लुइँटेलबीचको विवादले २२ जेठयता क्याम्पसमा तनाव भएको छ । 

तत्कालीन क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले ३० चैतमा अनिवार्य अवकाश पाएपछि त्रिविले वरिष्ठताका आधारमा ३ वैशाखमा सहायक क्याम्पस प्रमुख शाक्यलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएको थियो । स्थायी रूपमा क्याम्पस प्रमुख नतोक्दासम्म शाक्यलाई क्याम्पस चलाउने जिम्मेवारी थियो । १६ जेठमा त्रिविको कार्यकारी परिषद्ले सोही क्याम्पसकै सहप्राध्यापक लुइँटेललाई क्याम्पस प्रमुखका रूपमा नियुक्ति गरेको थियो । २१ जेठदेखि लुइँटेल कार्यभार सम्हालन पुगिन् । खास विवाद त्यसपछि भएको हो । 

परिषद्ले नियुक्तिपछि लुइँटेल कार्यभार सम्हाल पुगेकै दिनदेखि विद्यार्थी संगठनहरूले विरोध गर्न थाले । लुइँटेल नियुक्त भएको झन्डै डेढ महिनाअघि निमित्तको जिम्मेवारी पाएकी शाक्यले क्याम्पसका कागजात प्रशासनमा बुझाएकी थिइन् । आफूलाई जानकारी नै नदिई क्याम्पस प्रमुख आएको भन्दै उनले विरोध जनाएकी थिइन् ।

नियुक्ति पाएर क्याम्पस प्रमुखको हैसियतमा पुगेकी सहप्राध्यापक लुँइटेल कार्यालयका कागजात निमित्त प्रमुख शाक्यले जिम्मा नलगाएको भन्दै आक्रोशित बनिन् । लुइँटेल एमालेनिकट हुन् भने निमित्त क्याम्पस प्रमुखका रूपमा डेढ महिना जिम्मेवारी पाएकी शाक्य कांग्रेसनिकट मानिन्छिन् । निमित्त प्रमुख शाक्य र प्रमुखको जिम्मेवारी पाएकी लुइँटेलबीचको विवाद विद्यार्थी संगठनसम्म पुग्यो ।

विद्यार्थी संगठनहरू पार्टीगत रूपमा विभाजित भएर विवादमा उत्रन थाले । नेपाल विद्यार्थी संघका विद्यार्थीले २२ जेठमा क्याम्पस प्रमुख बस्ने कुर्सी, नेम प्लेट रूखमा टाँगिदिए । त्यसपछि लुइँटेलको कार्यकक्षमा ताला नै लगाइदिए । निमित्त क्याम्पस प्रमुखलाई काम गर्न निकै छोटो समय दिएको, विनम्रपूर्वक बिदाइ नगरेको र आफूभन्दा जुरियरलाई नियुक्ति गरिएको भन्दै शाक्य पक्षले विरोध गरिरहेका छन् ।

नियमअनुसार स्थायी रूपमा नियुक्ति भएर आइसकेपछि निमित्त प्रमुखको जिम्मेवारी सकिन्छ र ऊ पुरानै जिम्मेवारी रहनुपर्छ । तर, नवनियुक्त क्याम्पस प्रमुख लुइँटेलले आफूले नियुक्तिपत्र लिएर कार्यकक्षमा आउँदा सहज वातावरण नभएको र दुव्र्यवहार भएको बताइन् । ‘कानुनी रूपमा नियुक्तिपत्र लिएर गएकी थिएँ, तर २१ जेठमा क्याम्पस पुग्दा निमित्त प्रमुखले फाइलहरू प्रशासनमा बुझाएर निस्किनुभयो,’ उनले भनिन्, ‘त्यसपछि मलाई प्रशासन प्रमुखले पदस्थापन गराउनुभयो, उहाँले फाइल मलाई हस्तान्तरण गरेर जानुपर्ने थियो, तर उहाँले अपमान गर्नुपर्‍यो ।’ 

लुइँटेल २१ जेठको २ बजेसम्म प्रमुखको कुर्सीमा बसेका वेला शाक्यले विद्यार्थी संगठनसहित आएर धम्क्याउँदै तालाबन्दी गर्ने बताएकी थिइन् । त्यसपछि नेविसंघका नेता–कार्यकर्ताले कुर्सी रूखमा झुन्ड्याएर राखेका थिए । ‘नियुक्त पाएपछि काम गर्न पाएकी छैन, कानुनी रूपमा आइसकेपछि निमित्त प्रमुखले सहज रूपमा ठाउँ छाड्नुपर्ने थियो, तर त्यो हुन सकेन,’ लुइँटेलले भनिन्, ‘यो ममाथिको अपमान हो ।’ सामान्य विषयमा विवाद भएपछि क्याम्पस सञ्चालनमा समेत अवरोध भएको छ । हाल क्याम्पस प्रशासनसमेत बन्द छ । 

ad
ad