१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २८ बिहीबार १४:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रिजालको स्वास्थ्य र सुरक्षाबारे भुटानी राजबन्दी रिहाइ अभियानको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार १४:३७:oo

भुटानका राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानले नेपालीहरूलाई नक्कली भुटानी बनाएर अमेरिका लैजाने मुद्दामा हाल थुनामा रहेका भुटानी नेता टेकनाथ रिजालको सुरक्षा र स्वास्थ्यप्रति चासो व्यक्त गरेको छ। 

नेदरल्यान्डको हेगबाट अभियानका संयोजक राम कार्कीले बिहीबार विज्ञप्ति जारी गरी नेता रिजाललाई बयान फेर्न उच्च प्रोफाइलका बन्दीहरूले दबाब दिएको दाबी गर्दै चिन्ता जनाएका छन्। रिजालले यो प्रकरणमा मुख्य अपराधीका रूपमा नाम लिएका थुनुवा इन्द्रजित राईसँगै राखिएका कारण रिजालमा निरन्तर मनोवैज्ञानिक तनाव र असुरक्षा बढेको पनि अभियानले विज्ञप्तिमा जनाएको छ।

‘हाम्रो स्रोतले यो पनि उल्लेख गरेको छ कि रिजाल कमजोर र फिक्का देखिनुभएको छ र उहाँले बस्ने, राम्रो ओड्ने–ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा कारागार प्रशासनले बेवास्ता गरेको छ। जसको अभावमा उहाँ बारम्बार चिसोका कारण अस्वस्थ हुनुभएको छ,’ अभियानले भनेको छ, ‘सन् १९८९ मा तत्कालीन नेपाल सरकारले भुटानलाई जबर्जस्ती सुम्पिएपछि रिजाल १० वर्ष राजनीतिक बन्दी बन्नुभएको थियो। एमनेस्टी इन्टरनेसनलको प्रतिवेदनअनुसार १० वर्ष राजनीतिक बन्दी हुँदा रिजाललाई भुटानको जेलमा अमानवीय यातना दिइयो। त्यसयता उहाँ मधुमेह, रक्तचाप र बुढेसकालसँग सम्बन्धित अन्य विभिन्न गम्भीर रोगबाट पीडित हुनुहुन्छ।’

अभियानले अदालती बयानमा नाम लिएका कुनै पनि बन्दीहरूबाट टाढा तथा चिसो नभएको बेग्लै कोठामा रिजाललाई राख्न माग गरेको छ। रिजालसँग अनुमति लिएर मात्रै अपरिचित आगन्तुकहरूलाई भेट्ने व्यवस्था मिलाउन, रिजाललाई आवधिक रूपमा चिकित्सा जाँचको सुविधा दिन पनि माग गरेको छ।

अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरू, नागरिक समाजका नेताहरूलाई कारागारमा रिजाललाई भेट्न र समय–समयमा उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरिदिन पनि आह्वान गरेको छ।