१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २७ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका राजस्थान
२o८o असार २७ बुधबार o६:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल दुई हात्तीबीचको बाघ हो : कांग्रेस नेता निधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजस्थान
नयाँ पत्रिका
२o८o असार २७ बुधबार o६:४६:oo

नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिँदै नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताएका छन्। जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलबार आयोजित नेपाल–भारत सम्बन्ध विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन्। उनले नेपाल स्वाभिमानी मुलुक भएको उल्लेख गर्दै इतिहासमा कहिल्यै कसैको उपनिवेशमा नपरेको स्पष्ट पारे।

भारतको स्वतन्त्रता आन्दोलनमा बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामनारायण मिश्रजस्ता नेताहरूले सहयोग गरेको स्मरण गर्दै उनले त्यसको बदलामा भारतले पनि नेपालको लोकतन्त्र पुनर्वहालीमा सहयोग गरेको स्मरण गरे।  

भारतमा लोकतन्त्र सुदृढ भए नेपालको लोकतन्त्रलाई सहयोग पुग्ने र नेपालमा लोकतन्त्र सुदृढ भए भारतको लोकतन्त्रलाई पनि सहयोग पुग्ने निधिको भनाइ थियो। आर्थिक नीतिका सन्दर्भमा पनि दुवै देश एक–अर्कामा निर्भर भएको उनले बताए। छिमेकीका नाताले चीन र भारतसँग नेपालको पुरानो सम्बन्ध भएको उनले चर्चा गरे। निधिले भने, ‘चीनसँग नेपालको मित्रता छ, भारतसँग नाता छ।’ त्रेतायुगमा सीता र रामको विवाह भएको चर्चा गर्दै निधिले नेपाल–भारतबीच बेटी–रोटीको सम्बन्ध रहेको उल्लेख गरे। 

नेपाललाई भारतविरोधी देशका रूपमा नबुझ्न नेता निधिले भारतीयहरूलाई आग्रह गरे। नेपालमा भारतविरोधी कोही पनि नभएको भन्दै उनले नेपालका कम्युनिस्टहरूले समेत भारतमा भूमिगत जीवन बिताएको सन्दर्भ उल्लेख गरे। त्यस अवसरमा जनार्दन राय नागर राजस्थान विद्यापीठका उपकुलपति शिवसिं सारंगदेवले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक सम्बन्धबारे चर्चा गरेका थिए। 

मंगलबार नै नेता निधि भूपाल नोबेल विश्वविद्यालयमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए। त्यस अवसरमा सो विश्वविद्यालयका कुलपति शिवसिं सारंगदेवले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाई भविष्यमा सहयोग आदान–प्रदानका लागि विश्वविद्यालयका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए।