मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
२०८० असार २६ मंगलबार १६:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समाचार प्रभाव : धादिङ अस्पतालमा निःशुल्क औषधि वितरण सुरु

Read Time : > 1 मिनेट
२०८० असार २६ मंगलबार १६:४९:००

निःशुल्क दिनुपर्ने औषधिमा शुल्क लिँदै आएको धादिङ अस्पतालले नियमअनुसार औषधि दिन थालेको छ। नयाँ पत्रिका दैनिकमा निःशुल्क पाइने औषधिमा पैसा असुल्दै सरकारी अस्पताल भन्ने समाचार प्रकाशित भएपछि सरकारले तोकेका ९८ प्रकारका औषधि अस्पतालले निःशुल्क वितरण गर्न थालेको हो।

‘निःशुल्क पाइने औषधिमा पहिले पैसा लिने धादिङ अस्पतालले अहिले पैसा लिन छाडेको छ। खुसी लाग्यो,’ नीलकण्ठ नगरपालिका– ३ का गणेश बुढाथोकीले भने, ‘अहिले फार्मेसीअगाडि निःशुल्क र बिमाको औषधि तथा सशुल्क औषधि वितरण भनेर दुईवटा काउन्टर पनि राखिएको छ।’

अस्पतालमा फेरिएको सेवा प्रवाहसँगै सेवाग्राहीहरू खुसी बनेका छन्। तर, धादिङ अस्पतालसँग सेवाग्राहीको अपेक्षा अझै धेरै छन्। निःशुल्क पाइने ९८ प्रकारका सबै औषधि धादिङ अस्पतालमा उपलब्ध छैन। निःशुल्क पाइने औषधि शुल्क लिएर बिक्री नगरेको जिकिर गर्ने धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारी प्रदेश र केन्द्रबाटै औषधि नआएको बताउँछन्। ‘अहिले आर्थिक वर्षको अन्त्यमा छौँ,’ उनले भने, ‘निःशुल्क पाइने भनिएको ९८ प्रकारका औषधिमध्ये सबैचाहिँ अस्पताल फार्मेसीमा पाइँदैन। केही औषधि केन्द्र र प्रदेशबाट आपूर्ति भएको छैन। आर्थिक वर्षको अन्त्यको प्रभाव पनि हो।’

औषधि किनेपछि बिल पाउनु सेवाग्राहीको अधिकार हो। तर, बिमा गरेका सेवाग्राहीले धादिङ अस्पतालमा औषधि लिँदा अझै बिल पाउँदैनन्। बिल नपाउँदा निःशुल्क, बिमा र पैसा परेका औषधि छुट्याउन नसकेको सेवाग्राहीहरूको गुनासो छ। कर्मचारी अभावको समस्या देखाएर पन्छिरहेको धादिङ अस्पतालले समाचार प्रकाशनपछि भने कमजोरी सुधार्ने प्रतिबद्धता जनाएको छ। बिमा गरेका सेवाग्राहीलाई साउन १ गतेदेखि औषधिसँगै बिल पनि पाउने व्यवस्था गरिने धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताए।

‘बिमाका विषयमा धेरै खालका समस्या र गुनासाहरू छन्,’ उनले भने, ‘हामी सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गर्दै सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने प्रयासमा छौँ। बिमा गरेका बिरामीले औषधि लिँदा साउन १ गतेदेखि बिल पनि पाउनुहुन्छ।’