मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १० बिहीबार
  • Thursday, 22 February, 2024
रतुवा नदीमा लगाइएको बाँसको अस्थायी तटबन्ध
२०८० असार २५ सोमबार ०६:१८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पानी पर्‍यो कि मन अमिलो हुन्छ डुब्बाटोलीका बाढीपीडितको

गौरादह नगरपालिका– ५ र ६ का सयभन्दा बढी परिवार बाढीको जोखिममा

Read Time : > 3 मिनेट
२०८० असार २५ सोमबार ०६:१८:००

साढे ७० करोड लागतको ११.८ किलोमिटर तटबन्ध अझै निर्माण हुन सकेन

गत वर्ष असारमा तटबन्ध भत्काउँदै रतुवा नदी बस्तीमा पस्दा झापा गौरादह– ५ डुब्बाटोलीका ताजुदिन मियाँको फुसको घर छियाछिया बनायो । भत्किएको फुसको टाटीको केही भाग जसोतसो टालटुल गरे । तर, मनभित्रको डरलाई अझै हटाउन सकेका छैनन् । किनकि यसपालिको मध्यबर्खासम्म पनि भत्किएको तटबन्ध बन्न सकेको छैन ।

रतुवा नदीले भत्काएको बाँध निर्माण नहुँदा यसपटक बस्तीबाटै विस्थापित हुनुपर्ने चिन्ता छ ताजुदिनलाई । ‘बर्खा लागिसक्यो । अझै बाँध बनाएका छैनन् । अब बाढी आउन थाल्छ,’ उनले भने, ‘पोहोरको बाढीले घर डुबायो । बल्लतल्ल जनमन गरेर टालटुल पारेँ । जनमन गरेर पछिलाई राखेको सबै धान–चामल पनि बगायो ।’ 

बाढीले भत्काएको घरको टाटी देखाउँदै ताजुदिन मियाँ ।
बाढीले भत्काएको घरको टाटी देखाउँदै ताजुदिन मियाँ ।

विगतमा नदी बस्तीमा पस्दैन थियो । तर, गत वर्ष नदी तटबन्ध भत्काउँदै बस्तीतर्फ मोडियो । भत्किएको तटबन्ध बनाउन चासो नदिँदा फेरि बस्तीमा नदी पस्ने हो कि भन्ने चिन्ता छ । गत असारमा आएको बाढीले ताजुदिनको परिवार एक महिना विस्थापित भयो । उनको परिवार चप्रमारीमा तीन हजार भाडा तिरेर बस्यो । ‘एक महिनापछि बल्ल पानी सुक्यो । अनि घर फर्किएका थियौँ । यसपटक त गाउँ नै बगर बनेको छ । सानो बाढी आउँदा पनि सीधै बस्तीमै पस्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यसपटक त बाढीले घर नै बगाएर लैजान्छ । पहिला त एक महिना मात्र खेदाएको थियो । यसपटक त सधैँलाई खेदाउँछ भन्ने डर छ ।’

बाढीले भत्काएको घरको टाटी देखाउँदै ताजुदिन मियाँ ।
बाढीले भत्काएको घरको टाटी देखाउँदै ताजुदिन मियाँ ।

डुब्बाटोलीकै जकरा खातुनका श्रीमान् मोहमद इस्राफिललाई १० वर्षदेखि पक्षघात भएको छ । उनी हिँड्डुल गर्न र बोल्न सक्दैनन् । गत वर्ष बाढी आउँदा पनि गाउँलेले बोकेर चप्रमारीसम्म पुर्‍याएर बचाए । यसपटक त खोला घरनजिकै कुदिरहेको छ । जसले गर्दा बर्खा लागेपछि श्रीमान्लाई छाडेर हिँड्दा उनलाई चिन्ता लाग्छ । ‘श्रीमान्को हालत यस्तो छ । जनमन गरेर छोराछारीलाई पाल्नुपरेको छ । बर्खा लागेपछि जनमन गर्न जाँदा पनि बढी आएर श्रीमान्लाई समस्या पार्छ कि भन्ने डर लाग्छ,’ जकराले भनिन्, ‘पोहोरको बाढीले घर नै भत्कायो । त्यो घर बनाउन सकेको छैन । अर्को सानो घरमा पाँचजनाको परिवार बस्दै आएका छौँ । यसपटक त यही पनि बगाउला कि भन्ने डर छ ।’ 

गत वर्षको बाढीले जकराको एउटा घर भत्कायो । रहेको अर्को सानो छाप्रो पनि छियाछिया बनाएको छ । तर, फुसको बेरा टालटुल गर्नेसम्म उनको सामथ्र्य छैन । ‘चुनावमा नेताहरू तटबन्ध गरिदिन्छौँ । गरिबलाई घर बनाइदिन्छौँ भन्दै आउँछन्,’ उनले भनिन्, ‘चुनाव सकिएपछि बस्तीमा फर्किएर आउँदैनन् । गरिबको कोही नहुने रहेछ ।’

बाढीले भत्काएको जकरा खातुनको घर ।
बाढीले भत्काएको जकरा खातुनको घर ।

आजभोलि पानी पर्दा पनि नदीमा बाढी आउने को कि भन्ने चिन्ता लाग्छ डुब्बाटोलीकी सम्बुला खातुनलाई । रात परेपछि ढुक्कले निदाउन सक्दिनन् उनी । ‘पानी पर्‍यो कि मन अमिलो हुन्छ । बाँध बाँधिदिएदेखि ढुक्कले बस्न हुन्थ्यो । बर्खा लागिसक्यो बाँध बनेन !’ सम्बुलाले भनिन्, ‘दिनभर त जसोतासो कटाइन्छ । रात परेपछि चिन्ताले निद्रा पर्दैन । राति बाढी आयो भने कसरी भाग्ने ?’

रतुवा नदीले धार परिवर्तन गरेर बस्तीमा पसेपछि तत्काललाई बचाउन गौरादह नगरपालिका र जनताको तटबन्ध कार्यक्रमले बाँस लगाएर अस्थायी बाँध बनाएको थियो । करिब तीन सय मिटरमा बनाइएको अस्थायी बाँध यसपटक काम नलाग्ने अवस्थामा पुगेको छ । यसपटक सामान्य बाढीमै बस्तीमा रतुवा नदी पस्ने निश्चित छ । ‘बाँसको बाँध त अब काम लाग्दैन । बाँस सबै मक्कियो ।

सानो बाढी आयो भने नै खोला हाम्रो घरमै पस्छ,’ सम्बुलाले भनिन्, ‘पोहोर असारमा बाढी आउँदा गाडीका गाडी नेता, सिडियो, पुलिस आए । त्यसपछि त फर्किएर पनि आएनन् । हामीलाई केही दिनुपर्दैन । यो बाँध मात्र बाँधिदिए हामी आफैँ जनमन गरेर खाने थियौँ ।’ चुनाव सकिएपछि जनप्रतिनिधि बस्तीमा नपसेको स्थानीयको आरोप छ । बस्ती डुबान हुँदा गाडी लिएर आउनेले बाढीबाट जोगाउने काम नगरेको स्थानीय चन्द्रा राजवंशीले बताइन् ।

निर्माण कम्पनीको काममा ढिलाइ 
एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा झन्डै दुई वर्षअघि झापा–मोरङ सीमाको रतुवा र मावा नदीको विभिन्न १९ ठाउँमा तटबन्धनका लागि ठेक्का लागेको थियो । चिनियाँ कम्पनी एचजेडएमसी र नेपाली कम्पनीहरू मैनाचुली, रोशन निर्माण कम्पनीले संयुक्त रूपमा आयोजनाको ठेक्का लिएका थिए । एक अर्बको यो तटबन्ध निर्माण योजना निर्माणका लागि यी कम्पनीले ७० करोड ४६ लाख पाँच हजार तीन सय २० मा ठेक्का लिएका थिए । ११ जेठ ०७८ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले रतुवा र मावाको १९ ठाउँमा ११.८ किलोमिटर तटबन्धन निर्माण गर्नुपर्ने सम्झौता छ ।

उनीहरूले सम्झौताको तीन वर्षमा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, निर्माण कम्पनीले ढिलाइ गर्दा तटबन्धन निर्माण सुरु भएको दुई वर्षमा २५ प्रतिशत मात्र काम सकेको जनताको तटबन्धन झापाका प्रमुख यादव बरालले जानकारी दिए । ‘तीन आर्थिक वर्षमा सक्ने गरी ठेक्का लागेको हो । पहिलो वर्षमा उहाँहरूले सुरु मात्र गर्नुभयो । अहिलेसम्म २५ प्रतिशत मात्र काम गर्नुभएको छ । काममा ढिलाइ भएको हो,’ बरालले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूले सुरुमा चालू आर्थिक वर्षमा ६० प्रतिशत र आउने वर्षमा ४० प्रतिशत काम गर्छौँ भन्नुभएको थियो । अहिले आउने आर्थिक वर्षमा ५० प्रतिशत काम गर्छौँ भन्नुभएको छ ।’

 अहिलेलाई २०० मिटर तटबन्ध बनाइदिए कम्तीमा बस्ती जोगिने थियो :  मेयर सुवेदी
डुब्बाटोलीको करिब तीन सय मिटर तटबन्ध यस वर्ष बनाउन नसक्दा सामान्य बाढीमै नदी बस्तीमा सीधै पस्ने खतरा रहेको गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले बताए । यो तटबन्ध निर्माण नहुँदा गौरादह ५ र ६ का सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा रहेको सुवेदीले बताए ।

यो ठाउँमा एसियाली विकास बैंकको ऋण सहायतामा तटबन्ध निर्माणका लागि ठेक्का लागे पनि निर्माण कम्पनीले ढिलाइ गर्दा समस्या निम्तिएको सुवेदीको भनाइ छ । ‘ठेक्का लागिसकेको स्थानमा हामीले काम गर्न मिल्दैन । यस वर्ष पनि बन्न सकेन हामीले के गर्ने ? नेपाल सरकारले गर्ने कुरा हो । हामीले त सक्ने बाँस लगाइदिएकै थियौँ । यस वर्ष बाँसले थाम्दैन,’ उनले भने, ‘ठेकेदारले ढिला गरिरहेको छ । हामीले जनताको तटबन्ध र ठेकेदारलाई पनि दबाब दिइरहेका छौँ । काम गर्छौँ भन्नुहुन्छ । तर, अहिलेलाई दुई सय मिटर बनाइदिए कम्तीमा बस्ती जोगिने थियो ।’