१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o८:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप भलिबल लिग सुरु, विभागीय तीनै टोलीको जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:५१:oo

सातौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग शनिबारबाट सुरु भएको छ । नेपाल भलिबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेलमा नै विभागीय टोलीको वर्चस्व रहेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले महिला तथा पुरुष दुवैतर्फ जित निकालेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मीले आ–आफ्नो खेलमा नतिजा अनुकूल निकालेका छन् । महिलातर्फको एक मात्र खेलमा पुलिसले गण्डकी प्रदेशमाथि ३–० को सहज जित निकालेको थियो । राष्ट्रिय टोलीकी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ सम्मिलित पुलिसले २५–१०, २५–१० र २५–११ को जित निकाल्यो । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गण्डकीको नेतृत्व लिए पनि जित निकाल्न पर्याप्त भएन । यो जितसँगै राउन्ड रोबिन लिगमा पुलिसले महत्वपूर्ण तीन अंक जोडेको छ ।

 पुरुषतर्फको खेलमा पुलिसले जित निकाले पनि गण्डकीसँग अंक बाँडेको छ । पुलिसले गण्डकीलाई ३–२ को सेटमा हरायो । पुलिसले दुई अंक प्राप्त गर्दा गण्डकीले संघर्षपूर्ण एक अंक जोडेको छ । पुलिसविरुद्ध गण्डकीले विदेशी खेलाडी उतारेको थियो । पहिलो सेट २५–२१ र दोस्रो सेट २५–१६ ले जित निकाल्दै पुलिस जिततर्फ अग्रसर भएको थियो । तर, तेस्रो सेट गण्डकीले २५–१३ ले जित्यो । सहज जितपछि चोथो सेटमा हौसिएको गण्डकीले २६–२४ को नतिजा निकालेको हो । ६ अंकको अग्रता लिएपछि पुलिस सहज जितबाट टाढा रह्यो । निर्णायक सेटमा कमब्याक गर्दै पुलिस १५–१० को जित निकाल्न सफल भयो । 

अर्काे खेलमा आर्मीले सैलुङ बाघढुंगा स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराएको छ । राष्ट्रिय टोलीका आधा दर्जन खेलाडी सम्मिलित आर्मीले सैलुङलाई २५–८, २५–१३ र २५–१७ ले पराजित गरेको हो । हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, हरि अधिकारी, शरण शामरी क्षेत्री, दुर्गा खड्कालगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मीले तीन अंक प्राप्त गरेको थियो । एपिएफ क्लबले दावाँली मिलन क्लबलाई ३–० कै सेटमा पराजित गरेको हो । एपिएफले सहज जित निकाल्ने क्रममा २५–२२, २५–१३ र २५–२३ ले जित निकाल्दै तीन अंक जोडेको छ । 

खेलकुदले शिर उच्च बनाएको छ : गृहमन्त्री श्रेष्ठ 
भलिबल लिगको उद्घाटन गरेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खेलकुद क्षेत्रले राज्यको शिर उच्च बनाएको बताएका छन् । ‘पछिल्लो समय खेलकुद क्षेत्रले राज्यको शिर उच्च पार्ने कार्य गरेको छ,’ श्रेष्ठले उद्घाटन सत्रमा भनेका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भलिबलको विकास र विस्तारका लागि एनभिएले गरेको कार्य प्रशंसनीय रहेको बताए । उनले कभर्डहल विस्तारका लागि सरकारले साथ दिने घोषणा गरे । ‘नेपाल सरकारले भलिबल खेलको विकास र विस्तारका साथै अन्तर्राष्ट्रिय कभर्डहल तथा सातै प्रदेशमा प्रादेशिक कभर्डहल निर्माणमा सहयोग गर्नेछ,’ उनले भने । 

ad
ad