१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० असार २४ आइतबार ०७:११:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आगलागीपीडित २७ मुक्तकमैया परिवारलाई नयाँ घर

Read Time : > 1 मिनेट
२०८० असार २४ आइतबार ०७:११:००

पाँचजनाको परिवारसहित कच्ची झुप्रोमा बसिरहेका कैलारी गाउँपालिका– ७, विपतपुरका राजकुमार चौधरी नयाँ पक्की घर पाएपछि दंग छन् । आगलागीले घर जलेर नष्ट भएपछि एक वर्षदेखि उनको परिवार झुपडीमा बस्दै आएको थियो । उनको परिवार अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा सरेको छ ।

गत वर्ष ११ वैशाखमा बस्तीमा भएको आगलागीले उनको घर जलेर नष्ट भयो । दुई महिनासम्म उनी खेतमा त्रिपाल टाँगेर बसे । बर्खामा त्रिपालमै बस्न सम्भव थिएन, तर उनीसँग नयाँ घर बनाउने पैसा थिएन । नयाँ घर बनाउन नसकेपछि उनले आगलागीले जलेको टिनले छाएर पुरानै घरको छेउमा झुप्रो बनाएका थिए । एक वर्षदेखि त्यही छाप्रोमा बस्दै आएका उनी अहिले पक्की घरमा सर्न पाउँदा खुसी छन् । नयाँ घरमा बस्न थालेपछि निकै सहज भएको चौधरीले बताए । ‘झुप्रोमा बर्खामा सर्प–किराको डर थियो । नयाँ पक्की घर पाएपछि सजिलो भएको छ,’ उनले भने । 

सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर बनाइदिएका हुन् । आगलागीबाट मुक्तकमैया बस्तीका २७ घर जलेर नष्ट भएका थिए । नजिकै खेतमा गहुँको नलमा लगाएको आगो दिउँसोे बस्तीमा सल्केको थियो । 

‘दिउँसो हावा चलेका वेला बस्तीमा आगो सल्कियो । लुगाकपडा र बालबालिकाका कापी–किताबसमेत जोगाउन पाएनौँ,’ आगलागीपीडित तेजराम चौधरीले भने, ‘घर जलेर खरानी भएपछि दुई महिना खेतमा टेन्ट लगाएर बस्यौँ । बर्खामा डुबान हुने भएकाले खेतमा बस्न सम्भव थिएन । जलेकै घरमाथि छाप्रा बनाएर बसेका थियौँ, अहिले सरकारले पक्की घर बनाइदिएको छ ।’ मुक्तकमैया बस्तीमा सबै काठका घर थिए । 

पक्की घर निर्माणको काम हालै सम्पन्न भएपछि केही परिवार नयाँ घरमा सरिसकेका उनले बताए । मुक्तकमैया बस्तीमा आगलागीपीडितका लागि दुईवटा कोठा र एउटा भान्सा भएको र टिनले छाएका २७ वटा पक्की घर निर्माण गरिएका छन् । अग्निपीडित बेलमती चौधरीले पक्की घर पाएपछि झुपडीका सास्ती हटे पनि ठूलो परिवार भएकाका लागि दुईकोठे घर साँघुरो हुने बताइन् । सर्प–किराको डर र चुहिने समस्याबाट पनि मुक्ति मिलेको उनको भनाइ छ ।

एक करोड ८२ लाख १२ हजार लागतमा घर निर्माण गरिएका हुन् । यसमध्ये सुदूरपश्चिम प्रदेश सरकारले ९० लाख र ह्याबिटेट फर ह्युमानिटी नेपाल नामक गैरसरकारी संस्थाले ५४ लाख लगानी गरेको कैलारी गाउँपालिकाले जनाएको छ । घर निर्माणमा लाभग्राही परिवारले ३८ लाख १२ हजारबराबरको श्रमदान गरेका आगलागीपीडित मुक्तकमैयाको सुरक्षित घर निर्माण समितिका अध्यक्ष हरिप्रसाद चौधरीले जानकारी दिए । सबै घरको निर्माण कार्य सकिएको र केही दिनमै घर हस्तान्तरण गरिने अध्यक्ष चौधरीले बताए । 

‘हामी निकै समस्यामा थियौँ । घर बनेपछि बस्न सजिलो भयो,’ अग्निपीडितसमेत रहेका उनले भने । आगलागीबाट करोडौँको क्षति भए पनि दिउँसोको समयमा भएकाले मानवीय क्षति भने हुन पाएन । 

आगलागीलगत्तै तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले आगलागी भएको बस्तीमा पुगेर पीडितलाई नयाँ बनाइदिने प्रतिबद्धता जनाएका थिए । ‘त्यतिवेला म बस्तीमा पुग्दा पीडितको अवस्था निकै दयनीय देखेपछि घर निर्माण गरिदिने निर्णय गरेका थियौँ । मुख्यमन्त्री सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत आवश्यक बजेट विनियोजन गरिएको थियो,’ भट्टले भने, ‘अहिले पीडितले नयाँ घर पाउँदा खुसी लागेको छ ।’ 

स्थानीय चुनावका वेला पीडितको बस्तीमा गएर आश्वासन दिएको भन्दै त्यसवेला मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको थियो । विपन्न र पीडितका लागि घर बनाइदिन ल्याइएको मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमलाई अहिलेको सरकारले निरन्तरता नदिएकोमा पूर्वमुख्यमन्त्री भट्टको असन्तुष्टि छ । उनका अनुसार कार्यक्रमअन्तर्गत प्रदेशको एकल र स्थानीय तहसँग साझेदारी गरी एक सय ४३ घर बनाइएका थिए ।