१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २२:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिव शिखर सहकारी रहेको बुटवलको भवन खाली गराइयो, सामान सिल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २२:२४:oo

बुटवल उपमहानगरपालिका– १० स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरको सामान सिल गरिएको छ । 

सहकारी रहेको भवन खाली गराउन घरधनीले दिएको निवेदनका आधारमा बुटवल उपमहानगरपालिकासहित सरोकारवाला निकायका प्रतिनिधिसहितको उपस्थितिमा शुक्रबार भवन खाली गराइएको हो । 

भवनमा रहेका सहकारीका सबै कागजातसहित सामान सिल गरेर सोही भवनको अन्डरग्राउन्डमा रहेका संरचनामा राखिएको छ । बुटवल– १० सिद्धार्थ राजमार्गको किनारमा रहेको भवनमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा  गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर १७ साउन ०७८ देखि सञ्चालनमा रहेको थियो । 

गत ६ फागुनमा सहकारी बन्द भएपछि घरधनीले ८ चैतमा घर खाली गराउन भनी वडा कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा वडाले सुरुमा ३५ दिने सूचना जारी गरेको थियो । 

सो अवधिमा सहकारीका व्यक्तिहरू सम्पर्कमा नआएपछि सातदिने तथा तीनदिने सूचना जारी गरेको थियो । ती सबै प्रक्रिया पूरा गरेपछि भवन खाली गराइएको वडाध्यक्ष अध्यक्ष बलबहादुर पुनले बताए । 

बुटवल उपमहानगरपालिकासहित विभिन्न १८–१९ वटा निकायका प्रतिनिधिको उपस्थितिमा भवन खाली गराइएको पुनले बताए । सहकारीको बुटवल शाखामा बचतकर्ताको करिब १० करोड रहेको अनुमान छ । यहाँको शाखामा दुई हजार दुई सयजनाको बचत रहेको अनुमान गरिएको हो । 

सहकारी संकटमा परेदेखि बचतकर्ताले रकम फिर्ताको माग गर्दै आए पनि फिर्ता पाउन नसकेका अवस्थामा शुक्रबार सहकारी रहेको भवन खाली गराउन लाग्दा केही पीडित आएका थिए । वडाध्यक्ष पुनका अनुसार ती पीडितले आफूहरूको रकम पाउनुपर्ने बताएका थिए । 

वडाध्यक्ष पुनसहितको टोलीले सहकारी सामान सिफ्ट गरेर सुरक्षित राखिदिने बताएपछि पीडितहरू त्यहाँबाट फर्केका थिए । सहकारीपीडित कति छन् भन्ने यकिन तथ्यांक नगरपालिकामा छैन । 

यता, घरधनी ईश्वर मल्लले सहकारीले घरभाडाबापतको सात महिनाको भाडा तिर्न बाँकी रहेको बताए । भाडा २८ लाख, पानी–बिजुलीको करिब सात लाख सहकारीले तिर्न बाँकी छ । घरधनीले सहकारीमा आफ्नो फिक्स डिपोजिट ३७ लाखसमेत रहेको बताए । 

भाडा र डिपोजिटसहित ७० लाख रुपैयाँ लिनुपर्ने अवस्था रहेको उनले बताए । सहकारीको बुटवल शाखा गत फागुनदेखि बन्द रहेको छ । शाखाले केही महिनाअघि तयार पारेको तथ्यांकमा साढे १४ करोड बचत रहेको देखिएको थियो । 

ad
ad