१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १९ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o असार १९ मंगलबार o५:५८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२५ सयमा आवाससहित चारवर्षे स्नातक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार १९ मंगलबार o५:५८:oo

चन्दा संकलन गरेर स्थापना गरिएको परमानन्द बहुमुखी क्याम्पसमा गुल्मी, अर्घाखाँची र रुपन्देहीका २९९ जना विद्यार्थी अध्ययनरत 

धुर्कोट गाउँपालिका– ५ बस्तुमा सञ्चालित परमानन्द बहुमुखी क्याम्पस । २५ सयमा आवाससहित चारवर्षे स्नातक पढाइरहेको क्याम्पसले निःशुल्क पाठ्यपुस्तक, कम्प्युटरसहित शिक्षक सेवा, लोकसेवालगायत कक्षा सञ्चालन गरिरहेको छ । विभिन्न अक्षयकोष, आजीवन तथा विशिष्ट सदस्य शुल्क र सहयोगबाट संकलन भएको दुई करोड सात लाख क्याम्पसको मुद्दती खातामा छ, वार्षिक प्राप्त हुने करिब १५–१७ लाख ब्याजबाट क्याम्पस सञ्चालन भइरहेको क्याम्पस प्रमुख ऋषिराम पाण्डेयले जनाए । 

गुल्मीको मालिका गाउँपालिका– ३ ह्वाङदीका २३ वर्षीय विष्णुप्रसाद घिमिरेले अर्खबाङ माविबाट प्लस टु उत्तीर्ण गरेपछि चिन्ता थपियो– अब स्नातक कसरी पढ्ने ? घरको आर्थिक अवस्था कमजोर भएकाले उनी स्नातक पढ्न सकिँदैन भन्ने सोचमा पुगेका थिए । 

तर, दुई हजार पाँच सयमा चारवर्षे स्नातक पढ्न पाउने धुर्कोट गाउँपालिका– ५ बस्तुस्थित परमानन्द बहुमुखी क्याम्पसको विज्ञापन सुने । घर सल्लाह गरेर मानविकी संकाय स्नातक पहिलो वर्षमा भर्ना भए । उनी अहिले तेस्रो वर्षमा अध्ययनरत छन् । 

नजिकैका सामुदायिक क्याम्पसमा मासिक शुल्क आठ सयदेखि १२ सयसम्म छ । तर, परमानन्दमा स्नातक पहिलो वर्षमा भर्नाबापत दुई हजार पाँच सय र रजिस्टे«सन फर्मको शुल्कबाहेक कुनै शुल्क तिर्न नपरेको उनले सुनाए । ‘प्लस टुपछि वैदेशिक रोजगारीमा जान्थेँ होला । तर, परमानन्दमा निःशुल्कजस्तै पढ्न पाएको छु,’ घिमिरेले भने । उनी क्याम्पसको होस्टेलमै बस्छन् । मासिक शुल्क, होस्टेल र लाइब्रेरीको पैसा तिर्नुपर्दैन । क्याम्पसका आफूसहित आठजना होस्टेलमा बस्दै आएको घिमिरेले बताए । 

इस्मा गाउँपालिका–५ की २० वर्षीया विष्णु थापा पनि परमानन्द क्याम्पसमा भर्ना भएर होस्टेलमा बस्दै आएकी छिन् । उनले सदरमुकाममा रहेको रेसुंगा बहुमुखी क्याम्पसबाट प्लस टु उत्तीर्ण गरेकी हुन् । तर, सहुलियतमा अध्ययन गर्न पाउने भएपछि गाउँ फर्किएर परमानन्दमा भर्ना भएको थापाले बताइन् । ‘कोठा भाडा, क्याम्पसको मासिक शुल्क र पाठ्यपुस्तकको खर्च जोगिएको छ,’ उनले भनिन् । मुसिकोट नगरपालिका– ३ की २० वर्षीया रिता रिजाल पनि परमानन्दमा मूल विषय अंग्रेजी लिएर स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । 

चन्दा संकलन गरेर स्थापना गरिएको परमानन्द क्याम्पसमा गुल्मी, अर्घाखाँची र रुपन्देहीका दुई सय ९९ जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पसको शिक्षा र मानविकी संकायमा पहिलो वर्षमा ७६, दोस्रो वर्ष नयाँ ५६, दोस्रो पुरानो ८६, तेस्रो वर्ष ६९ र चौथो वर्ष १२ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये आठजना होस्टेलमा बस्छन् । 

क्याम्पस प्रमुख ऋषिराम पाण्डेयका अनुसार पहिलो वर्ष भर्ना हुँदा २५ सय तिरेपछि मासिक वा अन्य कुनै शुल्क चार वर्षसम्म तिर्नुपर्दैन । ‘पढाइको २५ सय शुल्क लाग्छ, तर होस्टेलमा बसेको शुल्क तिर्नुपर्दैन । टाढाबाट आउने सबैलाई होस्टेलमा बस्ने सुविधा उपलब्ध छ,’ उनले भने ।

क्याम्पसमा दुई सय ९९ विद्यार्थी भए पनि अधिकांश नियमित कक्षा लिँदैनन्, परीक्षा दिन मात्रै आउँछन् । धुर्कोटसहित इस्मा, मालिका, मदाने, रेसुंगा नगरपालिका तथा अर्घाखाँची, रुपन्देही र कपिलवस्तुका विद्यार्थीले क्याम्पसमा अध्ययन गर्दै आएको क्याम्पस प्रमुख पाण्डेयले बताए ।

यसबाहेक क्याम्पसले निःशुल्क पाठ्यपुस्तक, कम्प्युटरसहित शिक्षक सेवा, लोकसेवालगायत कक्षा सञ्चालन गरिरहेको छ । नियमित क्याम्पस आउने विद्यार्थी कुक तालिम लिएर सीपयुक्त भएका छन् । 

कसरी चलिरहेको छ क्याम्पस ?
क्याम्पसको मुख्य आयस्रोत भनेको विभिन्न अक्षयकोष, आजीवन तथा विशिष्ट सदस्य शुल्क र सहयोगबाट संकलन भएको दुई करोड सात लाख हो । यो रकम क्याम्पसको मुद्दती खातामा छ, वार्षिक प्राप्त हुने करिब १५–१७ लाख ब्याजबाट क्याम्पस व्यवस्थापन र सञ्चालन भइरहेको क्याम्पस प्रमुख पाण्डेयले जनाए । 

स्थानीय परमानन्द भण्डारीले धुर्कोट बहुमुखी क्याम्पस सञ्चालन गर्न ०६६ मा १० लाख सहयोग गरेका थिए । क्याम्पस ०६५ मा स्थापना भएको हो । २३ असार ०६६ मा उनको निधन भएपछि छोरा कृष्णप्रसाद भण्डारीले २४ वैशाख ०६८ मा ५१ लाख प्रदान गरेर क्याम्पसकै नाम धुर्कोट परमानन्द बहुमुखी क्याम्पस नामकरण गराए । 

क्याम्पसको ११औँ वार्षिकोत्सवका अवसरमा संस्थापक अध्यक्ष परमानन्द भण्डारीकी पत्नी पार्वतीदेवी भण्डारीले पनि चौरासीपूजाको दान र खर्च कटाएर क्याम्पसलाई ०७६ मा १५ लाख प्रदान गरिन् । त्यसबाहेक स्वर्गीय रुद्रमणि शर्मा भण्डारी, टोमलाल पाण्डेय तथा पूर्वसांसद टंक पोख्रेल, पूर्वक्याम्पस प्रमुख डा. नातिमैया शर्मा भण्डारीले आर्थिक एवं नैतिक रूपमा ठूलो योगदान दिएको क्याम्पस सञ्चालक समिति उपाध्यक्ष युवराज भण्डारीले बताए । 

भवन निर्माणका लागि स्थानीय प्रेमनारायण भण्डारीले ६–६–२–०, झविन्द्र भण्डारीले ४–४–१–०, ढुण्डीराज शर्मा भण्डारीले १–७–२–०, युवराज पाण्डेले १–९–१–३, मुक्तिराम भण्डारीले १–५–०–०, देवकुमारी भण्डारीले ०–९–२–० क्षेत्रफल जग्गा निःशुल्क उपलब्ध गराएका छन् । क्याम्पसका लागि कतिपय उपप्राध्यापकले निःशुल्क पढाए । त्यस्तै, विश्वविद्यालय अनुदान आयोग, तीनवटै सरकार, युके समाज, वस्तु कोरिया सम्पर्क समाजले पनि क्याम्पसलाई सहयोग गरेका छन् । 

हाल क्याम्पसमा १७ विषयगत उपप्राध्यापक र दुई कर्मचारी छन् । क्याम्पसमा बिए तथा नेपाली, अंग्रेजी, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र र गणित विषयमा अध्यापन भइरहेको छ भने बिएडतर्फ नेपाली, अंग्रेजी, अर्थशास्त्र र गणित विषय अध्ययन भइरहेको छ । पहिलो वर्ष शिक्षा संकायमार्फत २७ विद्यार्थी भर्ना भएका थिए । ०६६ बाट मानविकी संकाय सञ्चालन भएपछि १३ जना भर्ना भए । अहिलेसम्म एक हजार पाँच सय विद्यार्थीले क्याम्पसमा अध्ययन गरेको क्याम्पस प्रशासनले जनाएको छ । 

झविन्द्र भण्डारीले परमानन्द बहुमुखी क्याम्पसबाट स्नातक गरेका हुन् । उनी अहिले सोही क्याम्पसमा उपप्राध्यापक छन् । पूर्वविद्यार्थी बाबुराम पोख्रेलले परमानन्द बहुमुखी क्याम्पस नभएको भए आफ्नो उच्च शिक्षाको सपना पूरा नहुने बताए ।