
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गिरिजाप्रसाद कोइराला जस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वमहामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सवै नेतामा नहुने बताए ।
उनले‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन् । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो ।’ गिरिजाप्रसाद कोइराला कै कारण दोश्रो जनआन्दोलन सफल भएको बताउँदै नेता शशांकले भने,‘दोश्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो ।’
कोइरालाले रक्तदान जस्तो सामाजिक काम सबैले गर्नुपर्ने बताए । उनले २०४६ सालको आन्दोलन चरमोत्कर्षमा पुगेका बेलामा रगत अभाव भएपछि आफूले त्रिवि शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको स्मरण पनि गरे । रक्तदान भनेको जीवन दान भएको बताउँदै यस्ता सामाजिक काममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पारे । कार्यक्रममा केन्द्रीय सदस्यहरू सञ्जय गौतम, उर्मिला थपलिया, प्रतिनिधिसभा सदस्य दीपक खड्का र सिता मिजारको सहभागिता रहेको थियो ।