१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ जेठ ७ सोमबार o६:२६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बालुवाटारको १४३ रोपनी हिनामिना गर्दा कर्मचारीलाई साढे २२ रोपनी घुस

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:२६:oo

सरकारी जग्गा सुवर्णशमशेरको परिवारको नाममा लैजान सहयोग गर्ने १० कर्मचारी र दुई बिचौलियाले बकसका रूपमा लिएका थिए प्रतिव्यक्ति पाँच रोपनीसम्म घुस

ललितानिवास क्याम्पको एक सय ४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी र बिचौलियाले २२ रोपनी १० आना जग्गा घुस लिएको भेटिएको छ । प्रहरीका अनुसार १० कर्मचारी र दुई बिचौलियाले सो जग्गा बकसका रूपमा घुस लिएका हुन् । 

घुसबापत जग्गा लिने कर्मचारीमाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । सरकारको नाममा आइसकेको सो जग्गा नक्कली कागजपत्र बनाएर मालपोत कार्यालय मात्र होइन मन्त्रिपरिषद्लाई समेत प्रभावमा पारी सुवर्णशमशेर राणाका परिवारको नाममा लगिएको थियो । यसरी जग्गा फिर्तामा सहयोग गर्नेलाई राणा परिवारले घुसबापत जग्गा बकस दिएका थिए । सुवर्णशमेशरका परिवारले समेत यसको पुष्टि गरेका छन् । 

गत मंगलबार पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि राणासँग बक्सिसमा जग्गा लिनेमध्ये एक हुन् । उनले पाँच रोपनी दुई पैसा दुई दाम जग्गा श्रीमती उर्मिला शाहको नाममा लिएका थिए, जुन पछि बिक्री गरिसकेका छन् । 

उनीबाहेक मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्य, मालपोत विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङ, राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी, डिल्लीबजार मालपोतका अधिकृत धर्मप्रसाद गौतम, नासु जगत पुडासैनी र डिल्लीबजार मालपोतका प्रमुख रहेका कलाधर देउजाले पनि जग्गा लिएका छन् । त्यस्तै, डिल्लीबजार मालपोतका मालपोत अधिकृत सुरेन्द्रमान कपाली, तत्कालीन नासु युक्तप्रसाद श्रेष्ठ र समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेलले पनि जग्गा बकसका नाममा घुस लिएका छन् । उनीहरूमध्ये मुकुन्द आचार्य तथा युक्तप्रसादको मृत्यु भइसकेको छ । बिचौलियाद्वय रामकल्याण अधिकारी र रामकनाथ घिमिरे पनि यसरी जग्गा लिएका थिए । 

कर्मचारीहरू सबैले आफन्तको नाममा जग्गा लिएका छन् । सिआइबीले जग्गा बकस लिनेहरूको बयान लिइसकेको छ । जसक्रममा धैरेले राणा परिवारसँग जग्गा बकस लिने निकटता नभएपछि परिवारको आग्रहमा आफ्नो नाममा पास भएको बयान दिएका छन् । 

मालपोत विभागका पूर्वमहानिर्देशक मुकुन्दप्रसाद आचार्यले ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीको नाममा एक रोपनी लिएका छन् । प्रेमबहादुर खापुङले श्रीमती खिमादेवी आङबुहाङ तथा सालोकी श्रीमती शशिकला सुब्बाको नाममा तीन रोपनी एक आना दुई पैसा जग्गा लिएका छन् । 

त्यतिवेला अधिकृत रहेका र पछि सहसचिवबाट अवकाश पाएका गेहनाथ भण्डारीले श्रीमती भुवनकुमारी चापागाईं र सासू सोदाकुमारी चापागाईंको नाममा १० आना लिएका छन् । केही जग्गा सुधीर शाहपत्नी उर्मिला र भुवनकुमारीको नाममा संयुक्तसमेत भेटिएको छ । मालपोत अधिृकत धर्मराज गौतमले सालीका छोरा मोहनप्रसाद भट्टराईको नाममा खिमा र शशिकला सुब्बासँग संयुक्त रूपमा लिएको प्रमाण प्रहरीले फेला पारेको छ । 

जगत पुडासैनीले दिदी मिठुदेवी चापागाईंका नाममा चार रोपनी दुई आना लिएका थिए । कलाधर देउजाले साढुभाइ इन्द्रबहादुर थापाको नाममा लिएका थिए । उनले मिठुदेवी चापागाईंसँगको संयुक्त नाममा पास गरेका विवरण छ । सुरेन्द्रमान कपालीले पनि भतिजा बुहारी शान्तिदेवी प्रधानांगको नाममा मिठुदेवीसँगै संयुक्त रूपमा जग्गा लिएका थिए । युक्तप्रसाद श्रेष्ठले बहिनीको नाममा एक रोपनी १३ आना तथा श्रीमती सरस्वतीको नाममा मिठुदेवीसँग संयुक्त रूपमा लिएका थिए । समरजंग कम्पनीका सहलेखापाल विनोद पौडेलले श्रीमती विद्या पौडेल गौतमको नाममा १४ आना बकस पाएका थिए । बिचौलिया रामल्याण अधिकारीले दुई रोपनी १२ आना तथा रामनाथ घिमिरेले तीन रोपनी चार आना लिएका थिए । उनीहरूमध्ये घिमिरेको भूमाफिया तथा कर्मचारीसँगको सम्बन्ध प्रहरीले पत्ता लगाउन सकेको छैन । उनी फरार छन् । उनीहरू मालपोतका साक्षीसमेत बसेको खुलेको छ । 

यसरी घुसबापत जग्गा लिनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धानको दायरामा ल्याएपछि मुद्दा भने नचलाउने निर्णय गरेको थियो । तर, प्रहरीले भने सम्बन्धित कर्मचारी तथा आफन्तलाई समेत मुद्दा चलाउने तयारी गरेको छ । 

सामाजिक समितिको निर्णयमाथि छानबिन होला ? 
०६९ मा पशुपति टिकिन्छा गुठीको नाममा तीन रोपनी १२ आना जग्गा लगेर हिनामिना भएको थियो । बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यतिवेला मन्त्रिपरिषद्को सामाजिक समितिमा फाइल पठाई समितिको निर्णयलाई सदर गरेको थियो । यदि मन्त्रिपरिषद्को सामाजिक समितिसम्मको निर्णयलाई अनुसन्धानमा तान्न सके यसमा अरू तत्कालीन मन्त्री र सचिव पनि तानिने सम्भावना छ । तर, त्यसतर्फ भने विस्तृत अनुसन्धान हुन नसकेको प्रहरी स्रोत बताउँछ ।

सञ्जय ‘टक्ला’ पनि छानबिनमा 

जनकपुर बम विस्फोटलगायत अपराधमा जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’माथि पनि प्रहरीले ललितानिवास जग्गा हिनामिनामा छानबिन थालेको छ । भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुँदा जग्गा हिनामिनासम्बन्धी फाइलमा उनको पनि हस्ताक्षर फेला परेपछि प्रहरीले छानबिन थालेको हो । 

०६६ मा बालुवाटारस्थित विशिष्ट व्यक्तिको परिसर विस्तारका नाममा विभिन्न निर्णय भएका थिए । त्यससम्बन्धी फाइल उनले पनि सदर गरी निर्यणका लागि अघि बाएका थिए । तर, फाइलमा कुनै राय भने नदिएका आधारमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । विभागीय मन्त्री विजयकुमार गच्छदारविरुद्ध भने आयोगले मुद्दा चलाएको थियो । मुख्य निर्णयमा सञ्जयको संलग्नता नदेखिएको र पछि सहायक प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदा भने उनले पनि राय लेखेका थिए ।

जस आधारमा उनी पनि यस प्रकरणमा छानबिनमा रहेको सिआइबी स्रोत बताउँछ । सोही आधारमा पूर्वगृहसचिव नारायणगोपाल मलेगो पनि छानबिनमा छन् । मलेगो त्यतिवेला भौतिक मन्त्रालयका सहसचिव थिए । यो मुद्दामा गच्छदारसहित पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीसमेत छानबिनमा छन् । 

अख्तियारबाट जोगिएकाहरूमाथि सिआइबीको अनुसन्धान

ललितानिवास जग्गा हिनामिनामा घुसबापत जग्गा लिने कर्मचारी र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धानको दायरामा ल्याए पनि मुद्दा भने नचलाउने निर्णय गरेको थियो । तर, प्रहरीले सम्बन्धित कर्मचारी तथा आफन्तलाई समेत मुद्दा चलाउने तयारी साथ अनुसन्धान गरिरहेको छ । जग्गा हिनामिनामा संलग्न सबै पक्षमाथि विस्तृत अनुसन्धान भइरहेको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्य बताउँछिन् ।

सो प्रकरणमा सिआइबीले व्यवसायी मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोतका कर्मचारीद्वय धर्मप्रसाद गौतम तथा गोपाल कार्कीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । हाल किर्ते मुद्दामा अनुसन्धान भइरहेकोमा संगठित अपराध कसुर पनि जोड्ने प्रहरी तयारी छ । उच्च तहका नेता तथा कर्मचारी मुछिएको यो प्रकरणमा अनुसन्धान प्रभावित पार्न विभिन्न निकायबाट प्रहरीमाथि दबाब परिसकेको स्रोत बताउँछ । 

ad
ad