मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १५ शुक्रबार
  • Wednesday, 15 January, 2025
२o८o असार १५ शुक्रबार १६:५८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दैलेखमा सहुलियतको खाद्यान्न अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १५ शुक्रबार १६:५८:oo

दैलेखमा पछिल्लो एक महिनादेखि सहुलियतमा बिक्री गर्ने खाद्यान्न अभाव भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेठ ८ देखि सहुलियतको खाद्यान्न बिक्री बन्द गरेको छ।

खाद्यको दैलेख शाखामा अहिले तीन सय ३५ क्विन्टल खाद्यान्न मात्र मौज्दात छ। यो खाद्यान्न आपतकालीन अवस्थाका लागि र कारागारका लागि मात्र रहेको दैलेख शाखाका निमित्त शाखा प्रमुख रविनकुमार रेग्मीले बताए।

दैलेखका लागि असारमा एक हजार पाँच सयदेखि दुई हजार क्विन्टलसम्म खाद्यान्न मौज्दात आवश्यक पर्ने हो। असारमा केही मात्रामा बिक्री गर्नुपर्ने र अहिले स्टक राखिएको चामल अर्को आर्थिक वर्षका लागि दसैँसम्म कुर्नुपर्ने भएकाले अहिले नै चामल आवश्यक रहेको रेग्मीको भनाइ छ।

नौमूले, ठाँटीकाँध, चामुण्डा र बेस्तडा बिक्री केन्द्रमा समेत खाद्यान्न पुग्न सकेको छैन। दैलेखबाट बिक्री केन्द्रमा पुर्‍याउँदा लाग्ने ढुवानी रकम कम भएको भन्दै ठेकेदारहरूले चामल नपुर्‍याएका कारण बिक्री केन्द्रहरूमा समेत कोटा सकिएको हो। थप कोटाका लागि परिपत्र गरिएको रेग्मीले बताए।

उनका अनुसार पहिलेको कोटाअनुसार आएको चामल सबै बिक्री भइसकेको र थप गरिएको कोटाका लागि सुर्खेतबाट नाै सय ६० क्विन्टल चामल आउन बाँकी छ। नेपालगन्ज र राजापुरबाट आउनुपर्ने थप कोटाको चामलसमेत नआएका कारण दैलेखमा खाद्यान्न अभाव देखिएको हो।

खाद्य व्यवस्था तथा व्यापार लिमिटेडमार्फत बिक्री गरिने सहुलियत चामल निजी व्यापारीसँग भन्दा प्रतिक्विन्टल सात सय रुपैयाँसम्म सस्तो हुन्छ। सामान्य चामलमा पनि प्रतिक्विन्टल पाँच सय रुपैयाँसम्म फरक पर्ने भएपछि अधिकांश उपभोक्ताले यहीँबाट चामल किन्ने गरेका छन्। 

आर्थिक मन्दी बढ्दै गएका वेलामा खाद्य संस्थानबाट बिक्री हुने सहुलियतको चामल सरकारले उपलब्ध गराउनुपर्ने स्थानीय उपभोक्ताको माग छ ।