१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागलुङमा पर्यटकको आकर्षण बन्दै झोलुंगे पुल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:२o:oo

तल सलल बग्ने कालीगण्डकी नदी । माथि प्रसिद्ध कालिका भगवती मन्दिर, नजिकै अग्लो र लामो झोलुंगे पुल । त्यही झोलुंगे पुल अहिले दिउँसोमा मात्र होइन, साँझ र रातिमा पनि पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुंगे पुल घुम्न आउने पर्यटकको संख्या अहिले ह्वात्तै बढेको छ। पुलमा जडान भएका दुई सयभन्दा बढी बत्ती एकैपटक बल्दा देखिने आकर्षक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लोभ्याएको हो। पुलमा लाइटको प्रकाशसँग टिकटकमा रमाउने र फोटो खिच्ने पर्यटक दैनिक देख्न सकिन्छ। बागलुङ बजार आसपास र पर्वत पाङ क्षेत्रका साथै बाहिरी जिल्लाबाट समेत पुलको झिलिमिली हेर्न बांगेचौर पुग्छन्। कालिका मन्दिरको दर्शनसँगै लामो झोलुंगे पुलमा साँझमा रमाउनकै लागि मुस्ताङ पुगेर फर्कने पर्यटक बागलुङ बजारमा बस्ने गरेका छन्। 

‘चितवनबाट गर्मी छल्नकै लागि मुस्ताङ पुगेर फर्कियो। बागलुङ आएपछि झोलुंगे पुलमा रातमा लाइट बल्छ भनेपछि यो दृश्य हेर्नका लागि यहीँ वास बसेका छौँ,’ चितवन भरतपुरबाट बागलुङ आएका सविन अधिकारीले भने, ‘यहाँ त बहुत मज्जा रहेछ । साँझपखको शीतलता र लाइटको प्रकाशसँग रम्न पाउँदा साथीले अझै एक दिन यतै बसौँ भनेका छन्।’ उनीसँगै अन्य ६ जना बाइक ‘राइडिङ’ गरी घुम्न निस्केका थिए । ‘पारिबाट हेर्दा वारि र वारिबाट हेर्दा पारि, कस्तो सुन्दर दृश्य देखिएको,’ उनले भने, ‘दिनभर वारिपारि गरियो, रातिको फोटो खिच्नकै लागि होटेलमा वास बसेका छौँ।’

एकैपटक बल्छन् दुईभन्दा सय बढी लाइट
कालीगण्डकी नदीमाथि निर्माण गरिएको पाँच सय ६७ मिटर लामो पुलमा जडान भएका दुई सयभन्दा बढी लाइट एकैपटक बल्दा निकै आकर्षक देखिन्छ। ‘यस्तो दृश्य युरोपतिर युटुबमा देखेको थिएँ, अहिले आफ्नै ठाउँमा देख्न पाएँ,’ साँझ फोटो खिच्न पुलमा पुगेकी बागलुङ बजारमा बस्दै आएकी अनुष्का घर्तीले भनिन्। 

बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने यो पुलले यात्रीलाई सहज मात्र बनाएको छैन, आकर्षण पनि थपेको छ। यहाँबाट धौलागिरी हिमाल स्पष्ट देखिन्छ। त्यस्तै मालढुंगादेखि बागलुङ आउने र बेनी जाने सडकका यात्रीले पनि यो पुलको आकर्षण देख्न सक्छन्।

दिउँसोमा चासो नराख्ने यात्री पनि रातको समयमा झिलिमिली देखेर आकर्षित हुने गरेका छन्।  पुल निर्माणसँगै यहाँ आउने पर्यटकले बागलुङको पर्यटन विकासमा थप टेवा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन्। यसअघि डाइरेक्ट विद्युत् जडान जोडिएकोमा यसपटक सेन्सर प्रविधिबाट थ्री फेज लाइनका विद्युत् जडान गरेर पुलको वारिदेखि पारिसम्म  झिलिमिली बनाइएको छ। सेन्सरसहित जडान गरिएको बत्ती कतै विद्युत् सर्ट भए आफैँ बन्द हुने हुँदा अहिले सुरक्षित भएको श्रेष्ठ बताउँछन्।

पुलसँगै व्यायामशाला पनि
पुलको नजिकै बागलुङतर्फ सुन्दर बगैँचासहितको सहिद स्मृति पार्क छ। पार्कमा बच्चादेखि वृद्धसम्म साँझ–बिहान रमाउने गरेका छन् भने पुलको नजिकै खुला व्यायामशाला पनि निर्माण गरिएको छ। बागलुङ नगरपालिकाले निर्माण गरेको व्यायामशालामा अहिले बिहान–बेलुका व्यायाम गर्नेको भिड लाग्ने गरेको छ। 

लामो पुलले बागलुङका होटेल व्यवसायमा पनि राम्रो प्रभाव परेको होटेल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारी बताउँछन्। ‘झोलुंगे पुल, कालिका मन्दिर, शालिग्राम संग्रहालय र पञ्चकोट बागलुङमा पर्यटनको मुख्य आधार बनेको छ। यसलाई अझै विकास गर्न सके यहाँ धेरै सम्भावना छ,’  राजभण्डारीले भने ।

ad
ad