१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
केदारनाथ शर्मा न्यौपाने
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o५:५५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

शिव शिखर सहकारीको ठगी, मुम्बईबाट समातिए नाइके

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o५:५५:oo

शिव शिखर सहकारीबाट १४ अर्ब ठगीका नाइके मुम्बईमा समातिए 

सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् । त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको हो । 

शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ । उक्त हिनामिनाको मुख्य नाइके शर्मा भएको अनुसन्धानमा खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । अन्य जिल्लामा उनीविरुद्ध अनुसन्धान जारी छ । 

सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए । बाँकेको कोलहपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ । 

सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले शर्मालाई पक्राउ गरिएको पुष्टि गरिन् । उनलाई मंगलबार अदालतमा उपस्थित गराइने बज्राचार्यको भनाइ छ । न्यौपनाले भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन् । उनले सहकारीको पैसा नियमविपरीत आफ्ना निजी कम्पनीमा लगानी गरेका थिए । ती कम्पनीको व्यापार खस्किएपछि सहकारी समस्यामा पर्‍यो । जसकारण निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ता पाएका छैनन् । हाल सहकारी बन्द छ । नेपालको सहकारी क्षेत्रमा यो अहिलेसम्मकै ठूलो ठगी हो । सो सहकारीबाट एक लाखभन्दा धेरै पीडित रहेको प्रहरी अधिकारी बताउँछन् । 

सिआइबीले सो सहकारीका सञ्चालकद्वय अमिस भण्डारी र पुष्कर मल्ललाई पक्राउ गरिसकेको छ । न्यौपानेकी श्रीमती गीता शर्मा पनि पक्राउ परेकोमा उनीहरू तीनैजना जेल चलान भइसकेका छन् । भक्तपुरमा प्रहरीले १० जनाविरुद्ध मुद्दा दायर गरेकोमा सातजना फरार थिए । जसमध्ये पूर्वअध्यक्ष न्यौपाने पक्राउ परेका हुन् । काठमाडौंलगायत अन्य जिल्लामा छुट्टै अनुसन्धान भइरहेको छ । 

न्यौपाने अध्यक्ष रहेको विराटनगरको तुलसी सहकारीको ठगी प्रकरणमा पनि मोरङ जिल्ला अदालतमा गत महिना मुद्दा दायर भएको थियो । जसमा उनलाई मुख्य प्रतिवादी बनाइएको छ । उनको कम्पनीको सम्पत्ति रोक्का भइसकेको छ । 

कसरी भयो ठगी ? 
०७० मा स्थापना भएको यो सहकारीले अन्य सहकारीभन्दा धेरै ब्याज दिएर निक्षेप संकलन सुरु गर्‍यो । पैसा संकलनसँगै कृषिसम्बन्धी व्यवसायमा लगानी गर्दै गयो । देशभरि शाखा पनि विस्तार गर्दै गयो । मार्टदेखि जग्गा कारोबारसम्म लगानी गरेको छ । शिखरदीप सहकारीलाई समेत मर्ज गरेपछि संस्था अझै ठूलो भयो । 

जब कोभिड महामारी सुरु भयो, त्यसपछि सहकारीमा समस्या आउन सुरु भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । लगानी गरेको ठाउँबाट ब्याज त आएन नै, साँवा पनि फिर्ता भएन । उता सहकारीमा एकैपटक पैसा निकाल्नेहरू बढ्न थाले । फिर्ता दिने पैसा नभएपछि सहकारीमै ताला लाग्यो । 

सुरुमा सहकारी विभागले सबै पक्षबीच छलफल गरेर समस्या समाधानको प्रयास गरेको थियो । तर, समाधान हुने सम्भावना नदेखेपछि सञ्चालक र ऋण लिएका कम्पनीको सम्पत्ति रोक्का गरी अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्‍यो । 

संस्थाको पैसा आफ्नो नाममा दर्ता भएको शिखर अर्गनाइजेसनमार्फत विभिन्न क्षेत्रमा लगानी गरेका थिए । शिखर अर्गनाइजेसनमार्फत न्यौपानेदम्पतीले आफ्नो नाममा दर्ता गरिएका तीन दर्जन कम्पनी स्थापना गरी सहकारीको पैसा त्यसमा लगानी गरेका थिए । सो अर्गनाइजेसनअन्तर्गत शिव शिखर खाद्य उद्योग, शिखरदीप फुड इन्ड्रस्टिज, गोरखा टी एन्ड कफी, गोरखा बेभरेज, तुलसी मोटरपम्प, त्रिवेणी आयल एन्ड फ्लोर, शिखरदीप एग्रो, शिव शिखर एग्रो, नटराज एग्रो कम्पनी सञ्चालन गरिएको थियो ।

त्यस्तै, गार्डेन मार्ट, टेक्नो डाउन, शिव शिखर एग्रो अनुसन्धान केन्द्र, नेपा शिखर अर्गनाइजेसन, न्यु गोल्डेन, एभरेस्ट, शिखर इलेक्ट्रोनिक्स एन्ड अटोमोबाइल्स, उपकार गार्मेन्ट, शिव शिखर खाद्य उद्योग, आधुनिक शिवशक्ति कृषि अनुसन्धान केन्द्र, डिजिटल शिखर प्रालि, हिमालयन लायन कन्सट्रक्सन एन्ड मल्टिसोलुसन प्रालि, काइन्डल्ली केयर इन्डस्ट्री, शिव शिखर इन्भेस्टमेन्ट, उपकार हाइड्रो एन्ड इनर्जी, उपकार मिडिया, उपकार आयल इन्डस्ट्रिज र तुलसी एग्रो सञ्चालन गरिएको थियो । यीमध्ये केही बन्द भइसकेका छन् भने केही सञ्चालनमा छन् । 

सहकारीको पैसाबाट उनीहरूले निजी सम्पत्तिसमेत जोडेका थिए । केदारनाथकी श्रीमती गीताले साढे दुई करोड रुपैयाँ पर्ने गाडी चढ्दै आएकी थिइन् । सो गाडी बरामद गरी प्रहरीले लिलामी प्रक्रियामा पठाएको छ । 
 

ad
ad