१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Sunday, 11 May, 2025
नवीन गुरुङ संखुवासभा
२o८o असार १० आइतबार o८:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीले बेपत्ता १६ जनाको खोजी गर्न तालिमप्राप्त कुकुर ल्याइयो 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o असार १० आइतबार o८:१४:oo

हेवाखोलामा बाढीले बेपत्ता भएकाको खोजी गर्न तालिमप्राप्त कुकुरको प्रयोग सुरु गरिएको छ । शनिबारदेखि हेवाखोलामा बेपत्ता रहेका १६ जनाको तालिमप्राप्त कुकुरद्वारा खोजीकार्य सुरु गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार एक सातासम्म लगातार रूपमा नेपाली सेना, सशस्त्र, प्रहरी र स्थानीय परिचालन गरी खोजतलास गर्दा पनि पत्ता लगाउन नसकेपछि तालिमप्राप्त कुकुर प्रयोग गरिएको हो ।

‘हेवाखोलामा माथिबाट आएको बाढीले लेदो माटो र बालुवा थुपारेको छ । खोला किनारमा अत्यधिक बालुवा गेग्रान थुपारेको र खोलाको सतह पनि माथि उठेको छ । खोलामा गेग्रेन, ढुंगा पनि धेरै माथिसम्म आएकाले उत्खनन गरेर खोज्न सकिने अवस्था छैन । एक्साभेटरले खनेर खोजी गरे पनि केही पत्ता लगाउन सकिएको छैन, निरन्तर रूपमा प्रयास जारी छ,’ कार्कीले भने । बेपत्ताहरूको एक सातासम्म खोजी जारी राखे पनि नभेटिएपछि नेपाल प्रहरीले सुनसरीको धरानबाट तालिमप्राप्त कुकुर ल्याई सभाखोलाबाट खोजीकार्य सुरु गरिएको उनको भनाइ छ ।

गत ३ असारमा अविरल वर्षापछि आएको बाढीले जिल्लाको पाँचखपन र चैनपुर नगरपालिकाबीचमा रहेको हेवाखोलामा आएको बाढीले सुपरहेवा हाइड्रोपावरमा कार्यरत कर्मचारी र कामदार गरी १७ जना बेपत्ता छन् । स्थानीय पाँचखपनको सन्तोष राईको शव फेला परिसकेको छ । अर्का एकजनाको कम्मरमुनिको भाग मात्रै भेटिएकाले पहिचान भई सनाखत हुन नसकेको संखुवासभाको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । उनका अनुसार गत शनिबार राति आएको बाढी र पहिरोमा परी हेवाखोलामा १७, चैनपुरको नुनढाकीमा एक र सभापोखरीमा दुई गरी २० जना बेपत्ता छन् ।

बाढीपहिरोमा परी संखुवासभामा अहिलेसम्म दुईजना मृत्यु भइसकेको छ । जिल्लाका विभिन्न स्थानमा २१ घर विस्थापित भएका छन् भने १२ घरमा पूर्ण क्षति पुर्‍याएको छ । खोला–किनारमा रहेका जमिनमा लगाएको लाखाैँ रुपैयाँबराबरको अन्नबाली बगाई नष्ट गरेको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावर, अपरहेवा हाइड्रोपावर र मेन्छेयाम हाइड्रोपावरलगायत हेवा र पिलुवामा रहेका हाइड्रोपावरमा करोडौँ रुपैयाँबराबरको क्षति पुर्‍याएको छ ।

हेवा र पिलुवा खोलामा रहेको झोलुंगे पुललगायत दुईवटा पक्की पुलसमेत बगाएको छ । हेवाखोलामा निर्माणाधीन एउटा पक्की पुलमा क्षति पुर्‍याएको छ । जिल्लाभरमा बाढीपहिरोले पुर्‍याएको क्षतिबारे विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले बताए ।