१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ५ मंगलबार २o:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अमेरिकामाथि नेपालको सानदार जित, नायक बने करण र भीम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार २o:१५:oo

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले अमेरिकामाथि रवाफिलो जित निकालेको छ । 

दुई सय आठ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जितसँगै नेपालले आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा महत्वपूर्ण दुई अंक आर्जन गरेको छ । 

नेपालको जितमा बलिङमा करन केसी र ब्याटिङमा भीम सार्की नायक रहे । पाँचौँ ओभरमा २५ रनमै पहिलो विकेट गुमाएको नेपालका लागि धैर्यपूर्वक ब्याटिङ गर्दै भीम अन्तिमसम्म क्रिजमा रहे । 

११४ बल खेलका भीमले एक छक्का र सात चौकाको मद्दतमा ७७ रन बनाए । उनले अर्धशतक पूरा गर्न ९७ बल खेलेका थिए । १३औँ एकदिवसीय म्याचमा खेलिरहेका भीमको यो तेस्रो अर्धशतक हो । 

उनले ओपनर कुशल भुर्तेल, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीसँग महत्वपूर्ण साझेदारी गरे । 

३२ बलमा ३९ रन बनाएका दीपेन्द्रले विजयी सटका रूपमा चौका प्रहार गरे । एक समय नेपाल ब्याटिङमा दबाबमा परेको थियो । पाँचौँ ओभरमा २५ रन बनाउँदा ओपनर ब्याटर आसिफ सेख आउट भएपछि भीम क्रिजमा आएका थिए । त्यसपछि उनले कुशल भुर्तेलसँग ४९, कप्तान रोहितकुमार पौडेलसँग ३७ र कुशल मल्लसँग २५ रनको साझेदारी गरे ।

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपाल र अमेरिका भिडेका थिए । जिम्बावेको हरारेमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि अमेरिका ब्याटिङ गर्न आएको थियो । 

४९ ओभरमा अलआउट हुँदै अमेरिकाले दुई सय सात रन बनायो । आफ्नो अन्तिम ओभरमा गुल्सन झाले दुई विकेट लिएपछि अमेरिका निर्धारित ५० ओभरको खेलमा एक ओभरअगाडि नै अलआउट भएको थियो । 

अमेरिकाका लागि सायन जहाँगिरले नटआउट रहँदै एक सय रन बनाए । ध्वस्त भएको अमेरिकी इनिङ सम्हाल्ने क्रममा उनले जम्मा ७९ बलमा तीन छक्का र १० चौकाको मद्दतले एक सय रन बनाएका हुन् । 

नेपालका लागि करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने लगादार दुई म्याचमा विकेटविहीन भए। लगातार ३३ म्याचमा विकेट लिएर विश्व रेकर्ड बनाएका सन्दीप आज पनि निराश भए । 

अमेरिकाले ९.२ ओभरमा १८ रन मात्र बनाउँदा चार विकेट गुमाइसकेको थियो। त्यसपछि पाँचौँ विकेटका लागि ४७ रनको साझेदारी गर्दै अमेरिका खेलमा सम्हालिएको हो। 

थप २९ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि ३४ रनमा अर्को विकेट गुमायो। एक इन्डबाट जहाँगिरले विकेट रोकेपछि भने अमेरिकाले स्कोरबोर्डमा रन थपिरह्यो । 

सुरुमा केही सम्हालिएर खेलेका जहाँगिरले अन्ततः विस्फोटक ब्याटिङ गर्दै ७९ बलमै आफ्नो पहिलो एकदिवसीय शतक पूरा गरे। साथै, अमेरिकालाई पनि फाइटिङ टोटलसम्म पुर्याए । तर, नेपालको ब्याटिङलाई रोक्न नसक्दा अमेरिका महत्वपूर्ण खेलमा अंक गुमाउन पुग्यो भने नेपालले बलिङसँगै ब्याटिङमा पनि सुधारिएको खेल प्रदर्शन गर्दै महत्वपूर्ण जित दर्ता गरायो ।