
कप्तान क्रिग इर्भाइन र सेन विलियम्सले शतकीय इनिङ खेलेपछि जिम्बावेले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटको पहिलो खेलमा नेपाललाई आठ विकेटले पराजित गरेको छ।
समूह ‘ए’अन्तर्गतको पहिलो खेलमा नेपाल र जिम्बावे भिडेका थिए। जितका लागि पाएको दुई सय ९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
इर्भाइनले एक सय २८ बलमा १५ चौका र १ छक्काको मद्दतमा एक सय २१ रन बनाए। सेन विलियम्सले ७० बलमा १३ चौका र १ छक्काको मद्दतमा एक सय दुई रन बनाए। दुवै अविजित रहे। तेस्रो विकेटका लागि दुवैबीच एक सय २५ बलमा एक सय ६४ रनको साझेदारी बनेपछि जिम्बावेको जित सुनिश्चित बनेको हो।
जिम्बावेका ब्याट्सम्यानका अगाडि नेपाली बलरहरू निरीह साबित भ। सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिए। नेपालको सबैभन्दा सफल बलर सन्दीप लामिछानेले १० ओभरमा ७७ रन खर्चिए। तर, विकेट लिन सकेनन्।
त्यसअघि हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो।
नेपालले पहिलो विकेटका लागि एक सय ७१ रनको साझेदारी गरेको थियो। ओपनर कुशल भुर्तेल र आसिफ सेखको उत्कृष्ट प्रदर्शनमा नेपालले ब्याटिङमा सुदृढ आधार खडा गरेको थियो।
नेपालले ३२ ओभरमा एक सय ७१ रनको अवस्थामा पहिलो विकेट गुमाएको थियो। एक रनले शतक बनाउन चुकेका कुशलले दुई छक्का र १३ चौकाको सहयोगमा ९५ बलमा ९९ रन बनाए। उनी मसाकाड्जाको बलमा बोल्ड भए। उनी एकदिवसीयमा दोस्रो शतक बनाउन चुके।
यस्तै, सय बल खेलेका आसिफले ६६ रनको योगदान दिए। कुशलको विकेट गुमेपछि नेपालले तीन रन थपेलगत्तै आसिफलाई गुमाएको थियो। उनी ठूलो सट खेल्ने प्रयास गर्दा मसाकाड्जाबाटै समातिए। ३५ ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो।
त्यसपछि कप्तान रोहितकुमार पौडेल र अलराउन्डर कुशल मल्लले आक्रामक सटहरू खेल्दै रनरेट थप उकासे। यस क्रममा नेपालले ४४ ओभरमा दुई सय ५५ रन बनाउँदा चौथो विकेट गुमायो।
४४ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै कुशल मल्लले नेपालको स्कोर दुई सय ५५ रन पुर्याए। तर, लगत्तैको बलमा कुशल सहज रूपमा क्याचआउट भए। ४२ बल खेलेका कुशलले तीन छक्का र दुई चौका प्रहार गरे।
त्यसअघि रोहितकुमार पौडेल २९ बलमा ३१ रन बनाई आउट भए। उनले पाँच चौका प्रहार गरे। आसिफले ११ बलमा १० तथा गुल्सन झा ११ बलमा १३ रन बनाई आउट भए।
सातौँ विकेट गुमेपछि क्रिजमा पठाइएका भीम सार्की पहिलो बलमै विकेटपछाडि समातिए। दीपेन्द्रले सात बलमा ६ रन बनाए। करन केसीले दुई बलमा दुई रन बनाई नटआउट रहे।
जिम्बावेका एनगाराभाले नौ ओभरमा ४३ रन दिई चार विकेट लिए। उनले लगातार दुई बलमा आरिफ र भीमको विकेट लिएका थिए।