मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असार ३ आइतबार १४:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद डाँगीको प्रश्न– नागरिकतामा सच्चिने थर शैक्षिक प्रमाणपत्रमा नसच्चिने किन ?  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार ३ आइतबार १४:०८:००

रास्वपा सांसद निशा डाँगीले शैक्षिक प्रमाणपत्रमा थरको त्रुटि सच्याउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डाँगीले नागरिकतामा थर सच्याउन मिल्ने, तर शैक्षिक प्रमाणपत्रमा सच्याउन नपाइरहेको भन्दै शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन्।

‘जातीय विभेदमा पिल्सिएका नागरिकका लागि नागरिकतामा थर परिवर्तन गर्ने प्रावधान सरकारले ल्यायो । र, धेरै व्यक्तिले आफ्नो थर परिवर्तन गरे । परिवर्तित थरको नागरिकता बोकेर शैक्षिक प्रमाणपत्रमा थर सच्याउन परीक्षा नियन्त्रण कार्यालय सानोठिमी पुग्दा उनीहरूको प्रमाणपत्रमा थर सच्चिँदैन,’ उनले भनिन्, ‘नागरिकतामा सच्चिने थर शैक्षिक प्रमाणपत्रमा नसच्चिने ? यो कस्तो विरोधाभास नियम हो ?’ 

सानोठिमीमा दैनिक आफ्नो प्रमाणपत्रमा थरलगायतको त्रुटि सच्याउने लाइन लागिरहेको, तर सुनुवाइ नहुँदा सास्ती भोग्नुपरेको उनको भनाइ थियो । ‘सम्बन्धविच्छेदपछि  महिलाले जन्मघरतर्फको थर राखेर नागरिकता लिन पाउँछिन्। तर, शैक्षिक प्रमाणपत्रमा श्रीमानको थर हटाउन मिल्दैन, किन ?’ उनले सोधिन्।

सडक बालबालिका, बालसुधारगृहमा हुर्किएका र ट्रान्स जेन्डरहरूले पनि आफ्नो नाम, थर परिवर्तन गर्न नसकेको र उमेर, नाम र जात सच्याउने नियम, २०१७ संशोधन नहुँदा यस्ता कैयौँ नागरिक पीडित  भइरहेकाले अविलम्ब समस्याको समाधान गर्न गृह र शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन्।