Skip This
बथनाहाका घर–घरमा वेदनारायण आतंक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३ आइतबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजविराज
२o८o असार ३ आइतबार o६:२७:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बथनाहाका घर–घरमा वेदनारायण आतंक

Read Time : > 5 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o असार ३ आइतबार o६:२७:oo

- साहुकार वेदनारायणको ऋणको पासोमा सप्तरी बथनाहाका दर्जनौँ विपन्न परिवार, विजय यादवकै जस्तो हालत बनाइदिने धम्की
- वेदनारायणले गुन्डा परिचालन गरेर सासू र जेठाजुलाई कुटपिट गर्दै बिहीबार घर भत्काइदिएपछि तीन लालाबालासहित विजयकी भाइबुहारी छिमेकीको शरणमा

सप्तरीको महादेवा गाउँपालिका– ३ बथनाहाका विजय यादवको घरगोठ भत्काएर परिवारका सदस्यलाई रूखमा बाँधेर बर्बर यातना दिएका साहुकार वेदनारायण यादवको आतंकबाट अन्य गाउँले पनि सताइएका छन् । बथनाहाका दर्जनौँ विपन्नको बिल्लीबाठ पारेका वेदनारायणले उनीहरूमाथि धाकधम्की दिइरहेका छन् । 

सुकनीदेवी सरदारले श्रीमान् रामकुमारलाई वैदेशिक रोजगारीमा पठाउन र घरपरिवार चलाउन ०७६ मा ६ कट्ठा जग्गा पास र कपाली तमसुक गरेर वेदनारायणसँग चार लाख ऋण लिएकी थिइन् । सुकनीले चार लाखको अहिलेसम्म १५ लाख तिरिसकिन् । तर, ऋण तिरेपछि फिर्ता गर्ने गरी आफ्नो नाममा लगेको घरसहितको ६ कट्ठा जग्गा वेदनारायणले अझै फिर्ता गरेका छैनन् । 

‘ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गरिदिने प्रतिबद्धता साहुकारको थियो । तर, चार लाख ऋणको १५ लाख तिरिसक्दा पनि जग्गा फिर्ता भएको छैन,’ सुकनीदेवीले भनिन्, ‘पाँच वर्षदेखि वैदेशिक रोजगारीमा पति र छोराले कमाएको सबै पैसा साहुलाई तिर्दा सकियो, आफ्नो सम्पत्ति पनि फिर्ता पाइएन ।’ 

वेदनारायणले अझै १० लाख मागेको, नदिए घरजग्गा बेचिदिने धम्की दिइरहेको सुकनीको गुनासो छ । ‘अझै १० लाख मागेको छ । यो पैसा नदिए घरजग्गा बेचिदिने धम्की आइरहेको छ,’ उनले भनिन्, ‘एक हप्ताअघि पनि पैसा मागेका थिए । कतै उजुरबाजुर गरे गुन्डा लगाएर घर भत्काइदिने धम्की दिइरहेका छन् ।’ घरबारविहीन हुँदा पनि न्यायका लागि आवाज उठाउन सक्ने अवस्थामा आफूहरू नभएको सुकनीको गुनासो छ । वैदेशिक रोजगारीबाट उनका श्रीमान् र छोरा फर्किसकेका छन् । तर, सबै पैसा साहुकारलाई तिर्नुपरेपछि उनीहरू आर्थिक संकटमा छन् । 

प्यारालाइसिस भएका छोराको उपचारका लागि बथनाहाकै रजियादेवी सरदारले चार वर्षअघि साहुकार वेदनारायणसँग लिएको दुई लाख ऋणको २२ लाख तिरिसकिन् । तर, साहुकारले अझै १० लाख तिर्न बाँकी छ भनेपछि गम्भीर संकटमा परेकी छिन् । ऋण लिँदा उनले घरसहितको १० कट्ठा जग्गा साहुकारको नाममा पास गरिदिएकी थिइन् । तर, छोरालाई त सन्चो भएन, जग्गा बेचिदिने साहुकारको धम्कीपछि सरदार परिवार नै मानसिक तनावमा छ । 

‘छोरा देवलाई प्यारालाइसिस भएपछि उपचारका लागि साहुकारसँग जग्गा र कपाली कागज गरेर चार वर्षअघि दुई लाख ऋण लिएको थिएँ । ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गिरिदिने भनेका थिए । तर, दुई लाख ऋणको २२ लाख तिरिसक्दा पनि अझै १० लाख बाँकी छ भन्छन्,’ रजियादेवीले भनिन् । 

देवको सुरुमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराएकामा सम्भव नभएपछि परिवारले ऋण काढेर भारत लगेका थिए । एक महिनासम्म भारतमा उपचार गर्दा पनि सम्भव नभएपछि घर ल्याएका थिए । श्रीमान्ले विदेशमा कमाएको पैसा ऋण तिर्दैमा सकिएको र छोराको पनि नियमित औषधिमा खर्च गर्नुपर्दा आर्थिक संकटमा गुज्रिएको रजियादेवी बताउँछिन् । 

‘ज्याला मजदुरी गरेर श्रीमान्को कमाइबाट परिवारको दुई छाक जसोतसो चल्दै छ । तर, छोराको नियमित औषधि खर्च कहाँबाट जुटाउने भन्ने समस्या छ,’ उनले भनिन्, ‘भएको जग्गा पनि साहुकै नाममा छ । १० लाख नदिएसम्म जग्गा पाउँदैनौ भनेर धम्की आइरहेको छ । हामीजस्ता विपन्नको समस्या कसले हेरिदिने ?’ 

बथनाहाकै पुनमदेवी सरदारको परिवारले उपचारका लागि तीन वर्षअघि एक लाख ऋण माग्दा साहुकार वेदनारायणले चार लाखको कपाली तमसुक बनाए । ऋण लिएको तीन महिनाभित्रै तीन लाख र केही समयपछि अर्को एक लाख बुझाए पनि साहुकारले भने अझै ६ लाख तिर्न बाँकी भन्दै धम्क्याइरहेको पीडित परिवारको गुनासो छ । 

तीन वर्षअघि पुनमदेवी बिरामी परेपछि परिवारका सदस्यले राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल पु¥याएका थिए । छातीमा समस्या देखिएपछि त्यहाँ उपचार सम्भव नभएको भन्दै चिकित्सकले विराटनगर वा धरानको अस्पताल लैजान सुझाव दिए । तर, पैसा अभाव भएपछि पुनमकी छोरी कमलीदेवी सरदारले साहुकार वेदनारायणसँग चार लाखको कपाली कागज गरेर एक लाख ऋण लिएर आमालाई विराटनगरको न्युरो अस्पताल लगेकी थिइन् । 

१५ दिनसम्म उपचार गरेर आमालाई घर फर्काएको दुई महिना नबित्दै सप्तरीकै हनुमाननगरमा रहेको नेसनल लघुवित्त वित्तीय संस्थाबाट तीन लाख ऋण लिएर साहुकारलाई बुझाइन् । एक लाखको तीन लाख ऋण दिँदा पनि चुक्ता भएन । पछि मजदुरी गरेर जम्मा पारेको एक लाख पनि बुझाइन् । तर, ऋण अझै घटेको छैन, कपाली कागज साहुकारकै कब्जामा छ । रोगले थलिएकी पुनमदेवीले आठ महिनाअघि प्राण त्यागिसकिन्, तर सरदार परिवारलाई भने चार लाख तिरिसक्दा पनि एक लाख ऋणको बोझले छाडेको छैन । 

कमलीदेवीले गुनासो गरिन्, ‘एक लाख ऋण लिँदा चार लाखको कपाली कागज बनाए । आमालाई मृत्युको मुखबाट जोगाउन त्यस्तो कागज स्विकार्न बाध्य भएँ । त्यसरी ऋण लिएको तीन महिनाभित्रै बुबा असोसर र भाइ सिवाले हनुमाननगरमा रहेको नेसनल लघुवित्तबाट तीन लाख ऋण निकालेर साहुकारलाई बुझाएको हो । केही समयपछि मजदुरी गरेर जुटाएको अर्को एक लाख पनि दिएको हो । तर, ऋण घटेको छैन, कपाली कागज साहुकारकै कब्जामा छ । अहिले आमाले छाडेर जानुभयो, एक लाख ऋणको चार लाख तिरिसक्दा पनि साहुले छाडेको छैन । अझै ६ लाख तिर्नुपर्ने, नभए घर कब्जा गर्ने धम्की आइरहेको छ ।’ साहुले पटक–पटक घरमा आएर दिने धम्कीको तनावका कारण पनि आमाको मृत्यु भएको उनको आरोप छ । 

साहुकार वेदनारायणको ज्यादतीबाट एक–दुई परिवार मात्रै होइन, बथनाहाका धेरै गरिब पीडित बनेका छन् । स्थानीय बलदेव सरदार, गोविन्द सरदार, महावतीदेवी सरदार पनि पीडित बनेका छन् । उनले दर्जनौँ सर्वसाधारणलाई थोरै ऋण दिएर मिटरब्याज उठाउने मात्रै नभई जग्गासमेत हडपेका छन् । ‘सात वर्षअघि घर बनाउन २१ कट्ठा जग्गा पास गरेर वेदनारायणबाट तीन लाख ऋण लिएको थिएँ, त्यसको २२ लाख बुझाइसकेको छु, अझै बाँकी छ भनेर माग्दै छ,’ पीडित बलदेवले भने, ‘यसबाहेक १० कट्ठा जग्गा त उसले हडपेको छ ।’

वेदनारायणले गुन्डा परिचालन गरेर बथनाहाका विजय यादवको घरगोठ भत्काएको, परिवारका सदस्यलाई रूखमा बाँधेर बर्बर यातना दिएको र घरमा भएका लत्ताकपडा–अन्नपात इनारमा फालिदिएको समाचार शनिबार नयाँ पत्रिकाले प्रकाशित गरेको थियो । गुन्डाहरूको कुटपिटबाट विजय, उनकी ६२ वर्षीया आमा जागोदेवी, पत्नी पुष्पा, भाइबुहारी रञ्जनकुमारी र १२ वर्षीया छोरी लक्ष्मी घाइते भएका छन् । गम्भीर अवस्थामा रहेकी जागोदेवीलाई राजविराजस्थित अस्पतालले थप उपचारका लागि धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । 

साहुकारले घर भत्काइदिएपछि तीन बच्चासहित विजयकी भाइबुहारी छिमेकीको शरणमा


साहुकार वेदनारायण यादवले बिहीबार गुन्डा लगाएर भत्काएको विजय यादवको घर

साहुकार वेदनारायणले बिहीबार गुन्डा परिचालन गरेर महादेवा गाउँपालिका– ३ बथनाहाका विजय यादवको घरगोठ भत्काउने, परिवारका सदस्यलाई रूखमा बाँधेर बर्बर यातना दिने र घरमा भएका लत्ताकपडा–अन्नपात इनारमा फालिदिने अपराध गरेका थिए । गुन्डाहरूको कुटपिटबाट विजय, उनकी ६२ वर्षीया आमा जागोदेवी, पत्नी पुष्पा, भाइबुहारी रञ्जनकुमारी र १२ वर्षीया छोरी लक्ष्मी घाइते भएका छन् । गम्भीर अवस्थामा रहेकी जागोदेवीको राजविराजस्थित अस्पतालमा उपचार सम्भव नभएपछि धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । 

विजयकी भाइबुहारी रञ्जनकुमारी र तीन बच्चाबाहेक परिवारका सबै सदस्य धरानमा छन् । घर पूरै ध्वस्त भएकाले रञ्जनकुमारी र तीन बच्चालाई छिमेकीले खाने–बस्ने आश्रय दिएका छन् । साहुकारका गुन्डाले भत्काइदिएका विजयको घरमा जोगिएका केही लत्ताकपडा र सुत्ने खाटको रेखदेख पनि स्थानीयले गरिदिएका छन् । 

‘विजयसहित सबै धरानमा उपचार गराउँदै छन् । विजयकी भाइबुहारी रञ्जनादेवी र उनका तीन बच्चालाई टोलवासीबाट खाने र सुत्ने व्यवस्था गरिएको छ । उनीहरूलाई आवश्यक लगाउने लुगा पनि दिएका छौँ,’ स्थानीय योगेन्द्र यादवले भने, ‘यो परिवारलाई सरकारले तत्काल राहत दिनुपर्छ ।’ स्थानीय सुखीलाल सरदारले लत्ताकपडा, गहुँ, चामलसहितको अन्नपात गुन्डाहरूले इनारमा फालिदिएको बताए । ‘सुत्ने खाट र केही लत्ताकपडा जोगिएको छ, हामीले त्यसको रेखदेख गरिरहेका छौैँ,’ उनले भने । गुन्डागर्दी गर्ने र गराउनेमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको माग छ । 

साहुकार वेदनारायणसहित पाँचविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
विजय यादवको घर भत्काउने र परिवारका सदस्यमाथि कुटपिट गर्ने साहुकारसहित पाँचजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । साहुकार वेदनारायण यादव, सञ्जयकुमार यादव, विकेशकुमार मण्डल, धर्मदेव मण्डल र धीरजकुमार यादवविरुद्ध शनिबार साँझ इलाका प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध विजयकी भाइबुहारी रञ्जनदेवीले प्रहरीमा जाहेरी दिएकी थिइन् । 

‘ज्यान मार्ने उद्योगमा पाँचजनाविरुद्ध मुद्दाको जाहेरी आएको छ, दर्ता पनि भयो,’ सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीले भने, ‘कानुनअनुसार कारबाही अघि बढ्छ ।’ उनीहरू सबै घटनाकै दिन पक्राउ परेका थिए । 

उता, जाहेरी दर्ता नगर्न प्रहरीमाथि जनप्रतिनिधिले नै दबाब दिएको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार साहुकार वेदनारायणका चार आफन्तसहित महादेवा गाउँपालिका– ३ का वडाध्यक्ष रामकुमार यादवले शनिबार इलाका प्रहरी कार्यालय कञ्चनपुर पुगेर मुद्दा दर्ता नगर्न दबाब दिएका हुन् । ‘वडाध्यक्षसहितको टोली आएर मुद्दा दर्ता नगर्नु, हाम्रो कुरा मिलिसक्यो भनेर दबाब दिए,’ एक प्रहरी अधिकारीले भने । वडाध्यक्ष रामकुमार यादवसँग यसबारे बुझ्नखोज्दा सम्पर्क हुन सकेन ।

‘चार वर्षअघि लिएको दुई लाख ऋणको २२ लाख तिरिसकेँ, अझै१० लाख मागेको छ’
घरसहितको १० कट्ठा जग्गा साहुकार वेदनारायणकै कब्जामा

प्यारालाइसिस भएका छोराको उपचारका लागि बथनाहाकी रजियादेवी सरदारले चार वर्षअघि साहुकार वेदनारायण यादवसँग लिएको दुई लाख ऋणको २२ लाख तिरिसकिन् । तर, साहुकारले अझै १० लाख तिर्न बाँकी छ भनेपछि गम्भीर संकटमा परेकी छिन् । श्रीमान्ले विदेशमा मजदुरी गरेर पठाएको सबै पैसा उनले साहुलाई नै बुझाइन् । ऋण लिँदा उनले घरसहितको १० कट्ठा जग्गा साहुकारको नाममा पास गरिदिएकी थिइन् ।

तर, त्यो अझैफिर्ता पाएकी छैनन् । जग्गा बेचिदिने साहुकारको धम्कीपछि सरदार परिवार मानसिक तनावमा छ । ‘छोराको उपचारका लागि साहुकारसँग जग्गा र कपाली कागज गरेर चार वर्षअघि दुई लाख ऋण लिएकी थिएँ । ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गिरिदिने भनेका थिए ।

तर, २२ लाख तिरिसक्दा पनि अझै १० लाख बाँकी छ भन्छन्,’ रजियादेवीले भनिन् । देवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार सम्भव नभएपछि परिवारले ऋण काढेर भारत लगेका थिए । एक महिनासम्म भारतमा उपचार गर्दा पनि सम्भव नभएपछि घर ल्याएका थिए ।

‘ज्याला मजदुरी गरेर श्रीमान्को कमाइबाट परिवारको दुई छाक जसोतसो चल्दै छ । तर, छोराको नियमित औषधि खर्च कहाँबाट जुटाउने भन्ने समस्या छ,’ उनले भनिन्, ‘भएको जग्गा पनि साहुकै नाममा छ । १० लाख नदिएसम्म जग्गा पाउँदैनौ भनेर धम्की आइरहेको छ ।’