
तलब सुविधा वृद्धिको माग गर्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले बिहीबार काठमाडौंमा प्रदर्शनी गरेका छन् । न्यून तलब सुविधामा काम गर्न बाध्य भएको र बजेटमार्फत पनि कुनै सम्बोधन नभएको भन्दै उनीहरूले भद्रकाली हुँदै माइतीघरसम्म मार्चपास गरेका हुन् ।
देशभरका ३० हजारभन्दा बढी सामुदायिक विद्यालयमा ३४ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । यी कर्मचारीको तलब सुविधा सरकारका अन्य निकायमा सोही तहमा काम गर्नेले भन्दा कममा काम गरिरहेको भनाइ छ ।
विद्यालयको प्रशासन, व्यवस्थापन तथा सहयोगीका रूपमा कार्यरत कार्यालय सहायक, सामान्य प्रशासक र लेखापालले न्यूनतम तलब सुविधामा काम गरिरहेका छन् । कतिपय विद्यालयमा कार्यरत लेखापालले ६–७ हजारमा समेत काम गरिरहेको भनाइ छ ।
ललितपुरको ग्वार्कोस्थित प्रभात माविका शिक्षक पुष्प न्यौपानेका अनुसार ६–७ हजार तलबले कसरी परिवार चल्छ । यसकारण उनीहरूको तलब सुविधा बढ्नुपर्छ । तलब सुविधा वृद्धिको माग गर्दै अहिले देशभरका कर्मचारी काठमाडौं आएका छन् ।