१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o६:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्थिर बन्यो बैंकहरूको कर्जा विस्तार

दुई महिनामा निक्षेप संकलन ५२ अर्बले बढेको छ भने कर्जा प्रवाह ३६ अर्बले घटेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:२४:oo

निक्षेपमा उल्लेख्य सुधार हुँदै गए पनि वाणिज्य बैंकहरूको कर्जा विस्तार स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारसम्ममा (जेठ २९ गतेसम्म) ४२ खर्ब ९८ अर्ब कर्जा प्रवाह भएको छ । गत वैशाख मसान्तसम्ममा कर्जा प्रवाह ४३ खर्ब थियो । एक महिनाको अन्तरमा दुई अर्बले कर्जा प्रवाह घटेको छ ।

आर्थिक वर्षको अन्तिम महिनाहरूमा विगतमा जस्तो चहलपहल नभएकाले कर्जा विस्तार हुने सम्भावना कमजोर बन्दै गइरहेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । उनले भने, ‘असार लाग्ने वेलामा सरकारी खर्चमा पनि वृद्धि हुने र निर्माण क्षेत्र चलायमान हुने भएकाले कर्जाको माग बढ्नुपर्ने हो । तर, पहिलेजस्तो बाटो खन्ने, कालोपत्रे छर्ने किसिमका गतिविधि भएको पाइन्न । वस्तु तथा सेवाको बिक्रीसमेत बढ्नुपर्‍यो । अहिले कर्जा असुलीको काम मात्रै भइरहेको देखिन्छ । नयाँ कर्जाको माग भएको छैन ।’

केन्द्रीय बैंकका अनुसार जेठ २९ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५५ खर्ब ३७ अर्ब पुगेको छ । चैत मसान्तसम्म यो ५४ खर्ब ८५ अर्ब थियो । दुई महिनामा निक्षेप संकलन ५२ अर्बले बढेको देखिन्छ । कर्जा प्रवाह भने दुई महिनामा ३६ अर्बले घटेको छ । 

असारमा कर्जा प्रवाह बढ्ने संकेत न्यून
विगतका वर्षहरूमा जेठ लागेयता कर्जा प्रवाह बिस्तारै बढेर असारमा ह्वात्तै वृद्धि हुने देखिन्छ । भूकम्प र भारतीय नाकाबन्दीको मार खेपेको आर्थिक वर्ष ०७२/७३ को वैशाख र जेठमा कर्जा प्रवाह ठप्प देखिए पनि वाणिज्य बैंकहरूले असारमा एकैपटक एक खर्ब ३१ अर्बको कर्जा विस्तार गरेका थिए । त्यसपछिको आर्थिक वर्ष ०७३/७४ मा वैशाखमा नौ अर्ब र जेठमा एक अर्बले मात्रै कर्जा बढाएका बैंकहरूले असारमा ६९ अर्बको कर्जा प्रवाह गरेका थिए । 

आर्थिक वर्ष ०७४/७५ मा पुग्दा जेठमा ४० अर्ब र असारमा ४८ अर्बको कर्जा वृद्धि भएको देखिन्छ । तर, त्यसपछिका आर्थिक वर्षमा भने कोभिड–१९ को असर कर्जा विस्तारमा पर्दै गएको देखिन्छ । यद्यपि, तुलनात्मक रूपमा असार महिना लागेपछि कर्जाको वृद्धि बढेको तथ्यांकले देखाउँछ । 

कोभिडको असर कम हुँदै गएको र विश्वव्यापी महँगीको प्रभावस्वरूप आयातमा भएको वृद्धिले आर्थिक वर्ष ०७७/७८ वैशाख, जेठ र असार तीनवटै महिनामा मासिक ३० अर्बभन्दा बढीले कर्जा वृद्धि भएको थियो । त्यस आर्थिक वर्षको असारमा त ७५ अर्बले कर्जा वृद्धि भएको थियो । तर, गत आर्थिक वर्षयता भने कर्जा प्रवाह सुस्त बन्दै गइरहेको छ । गत आर्थिक वर्षको अन्तिम तीन महिनामा कर्जा प्रवाह घट्दै गएको देखिएको थियो । चालू आर्थिक वर्षको वैशाखमा बैंकहरूको कर्जा प्रवाह १० अर्बले घटेको छ । चैतयता बैंकहरूको कर्जा प्रवाह दुई अर्बले घटेको देखिन्छ । त्यस्तै, सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको कर्जा ३६ अर्बले घटेको छ । 

असारमा ब्याजदर यथावत् 
नेपाल बैंकर्स संघले असारलाई निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । संघको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिएका हुन् । वैशाखमा १ प्रतिशत विन्दुका दरले ब्याजदर घटाउने निर्णय गरेको संघले जेठमा पनि ब्याजदरलाई यथावत् नै राखेको थियो ।

वैशाखमै घटाइएको ब्याजदरले प्रभाव परिरहेको सन्दर्भमा पटक–पटक चलाइरहनु उचित नहुने निष्कर्षमा पुगेको उनको भनाइ छ । उनले भने, ‘हामीले वैशाखमै ब्याजदर घटायौँ । त्यसको प्रभाव पनि हुँदै गएको छ । त्यो अवस्थामा पटक–पटक यसलाई घटाउनु वा परिवर्तन गर्नु राम्रो हुँदैन ।’ 

असार मसान्तसम्म स्प्रेड दरलाई ४ प्रतिशतमा झार्नुपर्ने दबाबका कारण कर्जाको ब्याजदर भने सस्तिने देखिएको उनले बताए । उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका आधारमा निर्णय लिँदै जाने बताए । वैशाखयता व्यक्तिगत मुद्दतीमा ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा ७.९९ प्रतिशत कायम छ । त्यस्तै, बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम छ ।

असारमा पनि कर्जा प्रवाह बढ्ने संकेत छैन
 सुदेश खालिङ, प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक

असार महिना लाग्ने वेला भएपछि कर्जाको माग बढ्नुपर्ने हो । विगतमा यही समयमा सरकारी खर्च पनि बढ्ने र निर्माण कार्यले समेत तीव्रता पाउने समय हो । तर, पहिलेजस्तो बाटो खन्ने, कालोपत्रे छर्ने किसिमका गतिविधि भएको पाइन्न । उत्पादन भएर मात्रै भएन, बिक्रीसमेत बढ्नुपर्‍यो । कर्जाको माग नभएको अवस्था छ । कर्जा चुक्ता गर्ने काम भइरहेको छ । नयाँ कर्जाको माग भएको छैन । 

ad
ad