१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २९ सोमबार
  • Sunday, 11 May, 2025
२o८o जेठ २९ सोमबार २o:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री थापा भन्छन्- कांग्रेस एमालेजस्तो बाको, रास्वपाजस्तो भगवानको पार्टी होइन्, विचारको पार्टी हो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २९ सोमबार २o:१o:oo

कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता र सरकारका लागि कांग्रेसले कसैसँग पनि सम्झौता गर्दैन भन्ने अठोट लिनुपर्ने बताएका छन्। उनले सरकारमा जान कांग्रेसले जोसँग पनि गठबन्धन गर्छ भन्ने गलत छवि बनेकाले यस्तो निर्णय गर्नुपर्ने बताएका हुन्। 

कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर दुई र दुई (ख)को आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले भदौमा हुने नीति अधिवेशनबाट कांग्रेसले स्पष्ट विचारको राजनीति अगाडि बढाउनुपर्नेमा जोड दिए। 
उनले पछिल्लो समय कांग्रेस सत्ता र सरकारको लागि जोसँग पनि गठबन्धन गर्छ भन्ने आमबुझाइ रहेकाले त्यसलाई चिर्नुपर्ने बताए।

‘कांग्रेस सत्ता र सरकारका लागि जोसँग पनि गठबन्धन गर्छ भन्ने गलत छवि बनेको छ। त्यसलाई चिर्न आवश्यक छ। भदौमा हुने नीति अधिवेशन त्यसका लागि एउटा अवसर हो। नीति अधिवेशनले कांग्रेस कसैसँग पनि गठबन्धन गर्दैन भन्ने निर्णय गर्नुपर्छ,’ महामन्त्री थापाले भने।

उनले देशको भाग्य र भविष्य बदल्ने क्षमता भएको कांग्रेस पछिल्लो समय आफैँ गलत बाटोमा हिँडेकाले पहिले आफैँ बदलिनुपर्ने बताए। 
‘हामी देश बदल्छाैँ भन्दा पनि पहिला आफैँ बदलिन्छौँ भन्नुपर्ने वेला आएको छ। कांग्रेस आफैँ सही ट्र्याकमा छैन। नेतृत्वले पार्टीलाई पहिले सही बाटोमा हिँडाउन सक्नुपर्छ,’ उनले भने, ‘बदलिएको कांग्रेसले मात्र देश बदल्न सक्छ।’

उनले ०८४ सालको निर्वाचनमा कांग्रेस हार्छ भनेर आजै डराउनु नपर्ने बताए। राम्रो काम गरे कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गर्दै महामन्त्री थापाले कांग्रेसबाट जितेका जनप्रतिनिधिहरूलाई जनताको पक्षमा काम गर्न निर्देशन दिए।

‘जनताको मतबाट जितेपछि उनीहरूको काम गर्नुपर्छ। कांग्रेसका तर्फबाट जितेकाहरूले आज राम्रो काम गरे भोलि कसैले हराउन सक्दैनन्। कांग्रेस एमालेजस्तो बाको पार्टी, रास्वपाजस्तो भगवानको पार्टी होइन्। यो विचारको पार्टी हो, त्यसैले कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले दाबी गरे।

संघीय सभापति लोकबहादुर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभाका सभापति इन्द्रबहादुर बानियाँले पार्टीमा देखिएको गुट उपगुटलाई तल्लो तहदेखि नै मिलाउँदै लानुपर्ने बताए। 
उनले पार्टीलाई थप सुदृढ बनाउन जनता र कार्यकर्ताहरूमा रहेको निराशा र गुनासोको सम्बोधन हुनुपर्नेमा पनि जोड दिए।