
दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ। नेपाल बुद्धिचाल महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलबारबाट सुरु हुने जनाएको हो।
ललितपुरको गोदावरीस्थित भ्यु भृकुटीमा हुने च्याम्पियनसिप असार ४ सम्म सञ्चालन हुनेछ। च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाका खेलाडीको सहभागिता रहनेछ।
राउन्ड रोबिन प्रणालीमा आयोजना हुने प्रतियोगितामा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरवीर लामा, महिला फिडेमास्टर सुजना लोहनी र सुशीला गुरुङले सहभागिता जनाउनेछन्।
प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउनेछन्। महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउनेछन्।
प्रतियोगितामा ग्रान्डमास्टर सायनतन दासको समेत सहभागिता रहने आयोजकले जनाएको छ।